नेपालले विभिन्न वस्तुकाे आयातमा वार्षिक बजेटभन्दा २ खर्ब ८८ अर्ब बढी खर्च गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ मा सरकारले वर्षभरि गर्ने आम्दानी र खर्चको विवरण (बजेट) जम्मा १६ खर्ब ३२ अर्ब रुपैयाँको तय गरेको थियो थियो । सोही आवमा भएको आयात भने १९ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार गत वर्षको बजेट भन्दा ८८ अर्ब रुपैयाँ बढीको व्यापार घाटा भएको छ । उक्त आवमा भएको व्यापार घाटा १७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ ।
नेपालले यो अवधिमा गरेको कुल २१ खर्ब २० अर्ब रुपैयाँको वैदेशिक व्यापारमा निर्यातको हिस्सा जम्मा ९.४३ प्रतिशत अर्थात २ खर्ब रुपैयाँको मात्रै छ ।
आयात बढेको तुलनामा निर्यात नबढेका कारण नेपालको व्यापार घाटा बढेको देखिएको छ ।
गत वर्ष नेपाल भित्रिएका वस्तुमा सबैभन्दा धेरै रकम इन्धन खरिदबापत बाहिरिएको छ । सरकारले पेट्रोलियम पदार्थको खरिदमा गरेको यस्तो खर्च एक वर्षमै ३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।
नेपाल कृषिप्रदान देश भनिए पनि यो अवधिमा ३६ अर्ब रुपैयाँको तरकारी मात्रै आयात भएको छ । यो अवधिमा १ खर्ब ६१ अर्ब रुपैयाँको आइरन एण्ड स्टिल नै आयात भएको देखिएको छ ।
सरकारले पछिल्लो समय आयात निरुत्साहन गर्ने नीति लिएको भए पनि आयात भने बढिरहेको छ । तुलनात्मक रूपमा आयात नघटेको र निर्यातको हिस्सा पनि आयातको तुलनामा १० प्रतिशत भन्दा कम हुँदा वर्षेनी व्यापार घाटा बढिरहेको छ ।