आर्याको औषधी गुणस्तरहीन, बिक्रीवितरणमा रोक

-


     सुचनाको हक     
     जेठ २४ गते २०८० मा प्रकाशित


नेपाली औषधी उत्पादक कम्पनी बाराको आर्या फर्माल्याब प्राइभेट लिमिटेडले उत्पादन गरेको औषधी गुणस्तरहीन फेला परेको छ । 

औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा उक्त कम्पनीले उत्पादन गरेको अर्मेट्रो सस्पेन्सन (मेट्रोनिडाजोल बेन्जोयट ओरल सस्पेन्सन आईपी) नामक औषधी न्यून गुणस्तर रहेको भेटिएको हो ।

‘बजारिकृत औषधीहरुको गुणस्तर परीक्षण कार्यक्रम’ अन्तर्गत औषधीहरुको नमुना संकलन गरी राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्ने क्रममा उक्त औषधी मापदण्डविपरीत उत्पादन गरिएको भेटिएको विभागले जनाएको छ ।

औषधीमा मानव स्वास्थ्य प्रतिकूल तत्व भेटिएपछि विभागले तत्काल ती औषधी प्रयोगमा रोक लगाउन निर्देशन दिएको छ । साथै, उक्त औषधीलाई बजारबाट तुरुन्त फिर्ता ल्याउन विभागले भनेको छ । 

‘अर्मेट्रो सस्पेन्सन औषधी न्यून गुणस्तर पाइएकोले, औषधी ऐन, २०३५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’, जारी सूचनामा उल्लेख छ । 

त्यस्तै, विभागले उक्त औषधीको सिफारिस, बिक्रीवितरण तथा प्रयोगसमेत नगर्न र नगराउन सबैलाई सुसूचित गराएको छ ।