जिल्ला मुगु, छायाँनाथ रारा नगरपालिका वडा नं. १, स्थित परेप सिंचाई कुलो निर्माण योजनामा कर्णाली प्रदेश, पूर्वाधार विकास मन्त्रालय अन्तर्गत खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय मुगुबाट क्रमागत निर्माणका लागि बजेट विनियोजित भएको साथै सोही योजनामा आ.व. २०७६।०७७ मा संघीय सरकारबाट र कृषि विकास कार्यालय मुगुबाट पुनः बजेट विनियोजन भएकोमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुख, उपभोक्ता समितिका अध्यक्षसमेतको मिलेमतोमा काम नै नगरी दोहोरो भुक्तानी लिई रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कृषि विकास कार्यालय, मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख (अधिकृत छैठौं) पंचलाल बुढाले छायाँनाथ रारा नगरपालिका वडा नं. १ मा अवस्थित परेप सिंचाई कुलो निर्माण निर्माणस्थलमा भएको यथार्थ कार्यभन्दा बढी काम भएको भनी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानीसमेत दिई सरकारी रकम रु.८,०९,३५९।२० हिनामिना गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) र (छ) को कसूरमा ऐ.ऐ. दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगो रु.८,०९,३५९।२० (आठ लाख नौ हजार तीन सय उनान्साठी रुपैयाँ बीस पैसा) बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई बदनियतपूर्वक गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको देखिएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेत मागदाबी लिइएको छ ।
जिल्ला मुगु कृषि विकास कार्यालयका तत्कालीन सब-इन्जिनियर राजेन्द्र शाहीले निर्माणस्थलमा भएको यथार्थ कार्यभन्दा बढी काम भएको भनी नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन तयार गरी तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासमक्ष पेस गरी सरकारी रकम रु.८,०९,३५९।२० हिनामिना गरेको देखिँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ङ) र (छ) को कसूरमा ऐ.ऐ. दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र बिगो रु.८,०९,३५९।२० (आठ लाख नौ हजार तीन सय उनान्साठी रुपैयाँ बीस पैसा) बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन साथै भए गरेको कार्यभन्दा बढी नभए नगरेको कुरा देखाई बदनियतपूर्वक गलत नापी किताब, अन्तिम बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गर्ने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरसमेत गरेको देखिएकोले निजलाई सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम सजाय हुन समेत मागदाबी लिइएको छ ।
साथै, जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका वडा नं. १ परेप सिंचाई कुलो निर्माण उपभोक्ता समितिका अध्यक्ष जय बहादुर मल्ल, कोषाध्यक्ष चेतना शाही, सचिव शान्ती शाही (मल्ल), सदस्य तप बहादुर मल्लले निर्माण आयोजनामा काम नै नभएको कार्यमा योजना स्थलमा कम काम भएकोमा बढी काम भएको भनी बदनियतपूर्वक नभए नगरेका कुरा देखाई कागजात पेस गरी गैरकानुनी लाभहानी पुर्याउने बदनियतले वास्तविक रुपमा भएको कामभन्दा बढी मूल्याङ्कन गरी/गराई बढी भुक्तानी माग गरी लिएको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएको देखिँदा निज प्रतिवादीहरुलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम रु.८,०९,३५९।२० (आठ लाख नौ हजार तीन सय उनान्साठी रुपैयाँ बीस पैसा) विगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम कैद र जरिवाना गरी सो विगोसमेत जफत हुन समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।