उपाध्यक्ष द्वारा कार्यकारीमाथि हातपात

-


     सुचनाको हक     
     कार्तिक २१ गते २०८० मा प्रकाशित


रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली कार्यकक्षमै कुटिएका छन् । उनले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दिएको जाहेरीपछि उक्त तथ्य खुलेको हो ।

उनले हिजो प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । पालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) ले गत बिहीबार ज्ञवालीको कार्यकक्षमै पुगेर हातपात गरेको जाहेरीमा उल्लेख छ । गाडीको विषयलाई लिएर उपाध्यक्षले ज्ञवालीलाई कुटपिट गरेको बताइएको छ । 

उपाध्यक्ष कुर्मीे कार्यालयको सिसी क्यामरा बन्द गरेर प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको कार्यकक्षमा छिरेको प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि टाउकोमा दुई मुक्का प्रहार गरेको ज्ञवालीको भनाई छ । 

घटनापछि पालिका अध्यक्ष कमलेशशरण चौधरीले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै उपाध्यक्षलाई पक्राउ गरेर आवश्यक कारवाही गर्न माग गरेका थिए । अध्यक्ष चौधरी र अधिकृत ज्ञवालीलगायत कर्मचारीले प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यलाई भेटेर ज्ञापनपत्र समेत बुझाइसकेका छन् ।