एउटा म्यानपावरको कार्यालयभित्र अर्कै म्यानपावरको काम

-


     सुचनाको हक     
     श्रावण २७ गते २०७९ मा प्रकाशित


वैदेशिक रोजगार विभागले बिहीबार सिनामंगलस्थित ह्वाइट हर्स रिक्रुटमेन्टमा छापा मारेको छ। 

विभागले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा छापा मारेको हो। 

छापा मार्ने क्रममा विभागले केही कागजात र ८७ थान पासपोर्ट जफत गरेको छ।

एउटा म्यानपावरको कार्यालयभित्र अर्कै म्यानपावरमार्फत वैदेशिक रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएपछि विभागको अनुसन्धान अधिकृत हेमराज अर्यालसहितको टोलीले जफत गरेको हो। 

उक्त म्यानपावरमा किङ फिस नामक म्यानपावरमार्फत मलेसिया रोजगारीको प्रकृया अगाडि बढाइएका पासपोर्ट भेटिएका थिए। 

ह्वाइट हर्स म्यानपावरले विज्ञापन प्रकाशन बिना नै मलेसिया रोजगारीमा जाने युवाहरूको अन्तर्वार्ता लिइरहेको भन्ने सूचनाका आधारमा विभागको टोली त्यहाँ पुगेको थियो। म्यानपावरले तोकिएकोभन्दा बढी शुल्कसमेत लिएको हुन सक्ने आशंका विभागले गरेको थियो। 

विभागमा टोली पुग्दा नौ जनाभन्दा बढी युवाहरू भेटिएका थिए। उनीहरू भोलिको उडानमा मलेसिया जाने म्यानपावरका कर्मचारीहरूले बताए। 

‘तपाईहरूले मलेसिया जान म्यानपवारलाई कति शुल्क बुझाउनु भयो?,’ अनुसन्धान अधिकृत अर्यालले त्यहाँ भेटिएका युवाहरूसँग सोधे। 

उनीहरूले म्यानपावरलाई कुनै पनि शुल्क नबुझाएको जिकिर गरे। 

तपाईहरूले धेरै पैसा बुझाउनु भएको छ भने हामी त्यो फिर्ता दिलाउँछौं। भोलि मलेसिया पनि उड्न पाउनु हुन्छ नढाँटी भन्नुस्, अर्यालले फेरि पनि सोधे। 

तर ति युवाहरूले कुनै पनि शुल्क नतिरेको बताएका छन्। म्यानपावरका कर्मचारीहरूले पनि उक्त म्यानपावरले फ्रि भिसा फ्रि टिकटमै मलेसिया पठाइरहेको दाबी गरे। 

यस बारेमा विभागले थप अध्ययन गर्ने र तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताएको छ। 

एउटा म्यानपावरको कागजात अर्को म्यानपावरमा भएको सम्बन्धमा समेत थप अध्ययन गरिने अर्यालले बताए।