कतै नलेखिएको कौशिकी र कौमदको त्यो अमर प्रेमकथा

-


     केशव दाहाल     
     माघ १५ गते २०७८ मा प्रकाशित


प्रिय कौशिकी,

उत्पत्तिको करोडौँ करोड वर्षपछि, एक दिन हाम्रो भेट भयो 

हाम्रो प्रेम भयो, जुन प्रेमको साक्षी थिए आकाशका ताराहरू

वन, लता, कुसुम र कुमकुम लहराहरू

त्यसयता अनेकौँ वर्षहरू बिते ।

वर्षहरू बित्नु मात्र अंकको खेल हो प्रिय,

तर प्रेम सतरञ्ज होइन, हाततिज गन्नलाई

यो त मनको निर्मल उपासना हो ।

Islington
ISMT

प्रिय कौशिकी, म हाम्रो प्रेमको उपासनामा छु

निरन्तर, निरन्तर, निरन्तर

र, अरु करोडौँं करोड वर्ष म तिमीलाई प्रेम गरिरहनेछु ।

यो कथा सप्तकोसी नदीसँगको प्रेमकथा हो । कुनै बेला जसको नाम थियो कौशिकी । र, माथिको कविता हो– उसको प्रेमी कौमदले गाएको प्रेमआराधनाको मन्त्र ।

प्रिय पाठक ! तपाईं सप्तकोसी नदीको गड्तिरैगड्तिर माथि कतै आकाश छुने यात्रा गर्दै हुनुहुन्छ भने कृपया एउटा काम गर्न नभुल्नुहोला । सप्तकोसी नदीमा जब सूर्योदयको पहिलो किरण खस्छ, नदीको पानी आफ्नो अञ्जुलीमा उठाउनुहोला । त्यसलाई एकछिन स्थिर राख्नुहोला । मनको ढोका खोल्नुहोला । सुस्तरीसुस्तरी अञ्जुलीको पानीमा आफ्नो प्रेमलाई प्रतिस्थापन गर्नुहोला । र, अञ्जुलीमा नियालेर हेर्नुहोला । तपाईं असल प्रेमी हो भने, त्यहाँ तपाईंले एउटा आकृति देख्नुहुनेछ । चमचम जगमग चम्कँदै गरेको अनमोल मोतिजस्तो आकृति । त्यो आकृति हो, तपाईंको प्रेमको । त्यो आकृति हो, कौशिकी र कौमदको प्रेमको ।

यदि तपाईंले त्यो आकृति देख्नुभयो भने ईश्वरलाई धन्यवाद दिनुहोस् । तपाईंको प्रेम अम्मर भयो ।

अब कथा सुरु गरौँ ।

यो कथा किंवदन्तीजस्तो छ, तर होइन । यो कतै लेखिएको ऐतिहासिक आख्यान पनि होइन । न यो कथा पुराणमा उल्लेख छ, न वेद र उपनिषद्‌मा । र, यो हो विज्ञान, तथ्य र तर्कहरू आविष्कार हुनुभन्दा धेरै अगाडिको कथा ।

हाम्रा बाजेबजूहरू भन्थे, ‘कुनै बेला धर्तीमा रुख, बिरुवा, पहाड, हिमाल, ढुंगा, झरना, खोला र नदी सबका सब मन्छेजस्तै सजीव हुन्थे । उनीहरू पनि बोल्थे, गाउँथे, नाच्थे र रमाउँथे । उनीहरूको पनि प्रेम हुन्थ्यो, विवाह हुन्थ्यो, बालबच्चाहरू हुन्थे, मिलन हुन्थ्यो र विछोड हुन्थ्यो । उनीहरू पनि धर्म, कर्म, पाप र पुण्यको चक्करमा हुन्थे । उनीहरूमाथि पनि श्राप पर्थ्यो र उनीहरू पनि सन्तापमा हुन्थे ।

अर्थात्, सत्ययुगदेखि नै हाम्रा पुर्खाहरूको विश्वब्रह्माण्ड यही विश्वासमा गतिशील थियो ।   

भनिन्छ, सत्ययुगको त्यो अलौकिक र अपार शक्ति धेरै पछिसम्म पनि कायम थियो । तर, जब धर्तीमा पाप र पुण्यको, स्वर्ग र नर्कको, आर्य र अनार्यको, मान्छे र ईश्वरको, चेतना र विज्ञानको सृष्टि भयो, बिस्तारै त्यो शक्ति क्षीण हुँदै गयो । त्यसैले सत्ययुगको जस्तो चमत्कार द्वापर र त्रेतायुगमा रहेन । अर्थात्, त्यो शक्ति निरन्तर कमजोर हुँदै गयो । जब पहिलो देवासुर संग्राम सकियो र स्वयम् मान्छेहरू देवता, राक्षस, आर्य, अनार्य, असुर, यम, नाग र वानर समाजमा विभाजित भए, त्यो अलौकिक शक्तिको सहज गुण हराउँदै गयो । अनि सुरु भयो शक्ति आराधना र उपासनाको युग ।

जब पौलस्त्य वैश्रवण रावण र अयोध्या कुमार रामको घनघोर युद्ध भयो, त्यसले धर्तीमा राजधर्म, लोकधर्म, पुरुषधर्म, स्त्रीधर्म, सामाजिक मर्यादा र मूल्यको नयाँ भाष्य सिर्जना गर्‍यो । रावणले सुरु गरेको रक्षम् संस्कृतिको नामोनिशान हरायो । रामले गर्भावस्थाकी पत्नी सीताको अग्निपरीक्षा लिए । र, त्यसैको प्रभावमा हिमवत् खण्डमा समेत पाप र पुण्यको नयाँ परम्पराले प्रवेश पायो ।   

क्रमश: मान्छेले पैसाको आविष्कार गर्‍यो । निजी सम्पत्तिको जोडघटाउ सुरु भयो । प्रेममा यौन मिसियो । घर, जमिन, पत्नी सबै कुरा निजी हुँदै गयो । त्यसपछि प्रकृति रिसाइन् र सृष्टिको त्यो अलौकिक शक्ति हरायो । अनि के भयो ? रुखहरू जब्बर बनेर एकैठाँउमा अडिए । ढुंगामा जीवन सकियो । नदीले कन्याको रूप धारण गर्न छोडिन् र अबिरल बग्न मात्र थालिन् । आकाश, धर्ती, हिमाल, पहाड, सबैसबै जडबत भए । 

तर, धर्तीको एउटा कुनामा भने त्यो शक्ति धेरै पछिसम्म पनि जीवित थियो । अर्थात् हाम्रो हिमालयक्षेत्र, जसलाई यो कथामा हिमवत् राज्य भनिएको छ, जहाँ कलियुगमा पनि धेरै पछिसम्म रुख, बिरुवा, पहाड, हिमाल, ढुंगा, खोला, नदी सबका सब मान्छेजस्तै सजीव हुने गर्थे, उनीहरू पनि बोल्थे, गाउँथे र नाच्थे । उनीहरूको पनि प्रेम हुन्थ्यो, विवाह हुन्थ्यो, बालबच्चाहरू हुन्थे, मिलन हुन्थ्यो र विछोड हुन्थ्यो । उनीहरू पनि धर्म, कर्म, पाप र पुण्यको चक्करमा हुन्थे । उनीहरूमाथि पनि श्राप पर्थ्यो र उनीहरू पनि सन्तापमा हुन्थे ।

यो कथा त्यही हिमवत् राज्यको एक अनुपम प्रेमको कथा हो ।

हिमवत् राज्य निकै सुन्दर र सुरम्य थियो । जहाँ आकाश छुने अग्ला हिमालहरू थिए । पत्रपत्र बसेका ऋषिजस्ता अनेकौँ पर्वत शृंखलाहरू थिए र थिए कञ्चन, चञ्चल र चलायमान नदीहरू । हिमवत् राज्यका राजा थिए, पर्वतराज सुनन्दन । उनका तीन भाइ छोराहरू थिए– सगरमाथा, मकालु र कुम्भकर्ण । यी तीन भाइलाई कथामा शिरस्यम्, केशरम् र माण्डवम् भनिएको छ । राजा सुनन्दनको विश्वासपात्र थिए एक जना ज्ञानी र ध्यानी मन्त्री । उनको नाम थियो– कौशिक । तिनै मन्त्री कौशिककी पुत्री थिई कौशिकी ।

कौशिकीलाई आजकल मान्छेहरू कोसी वा सप्तकोसी नदी पनि भन्दछन् ।

कौशिकी सुन्दर युवती थिई । भर्खर फक्रँदै गरेकी । निकै चञ्चल, सुकोमल र तेजमय । ऊ कुनै बेला झरना बन्थी र डाँडापाखाहरूमा झरझर झर्थी । कुनै बेला नदी बन्थी र बेँसीतिर नागबेली लयमा बहन्थी । ऊ कुनै बेला सुन्दर कन्याको रूपमा वनफूलहरूसँग खेल्थी र बादलसँग छमछम नाच्थी । उसको सुन्दरता र चञ्चलतामा मख्ख थियो हिमवत् संसार ।

कौशिकपुत्री कौशिकीसँग सबैभन्दा धेरै मोहित थिए राजकुमारहरू शिरस्यम्, केशवम् र माण्डवम् । जो युवा थिए र थिए ओज, गरिमा र तेजले धपधप बलेका कामदेवजस्ता योग्य पुरुषहरू ।

अन्ततः कौशिकी अगाडि बढी । कौमद उसलाई रोक्न चाहन्थ्यो । हिँड्ने र रोक्ने खेल सुरु भयो । यस्तो भयो कि न त कौमद छुट्टिन सक्यो, न त कौशिकी रोकिन सक्थी । यसरी नै उनीहरूले बहारपुरलाई तिन फन्को लगाए । र, अन्ततः आफ्नो प्रेमीलाई अन्तिम पटक चुम्बन गरेर कौशिकी अगाडि बढी ।

शिरस्यम्, केशवम्, माण्डवम् र कौशिकी सँगसँगै हुर्किका थिए । समकालीन । कुनै बेला उनीहरू सँगसँगै खेलकुद गर्थे । सँगै गाई वस्तु चराउन जान्थे । सँगै डाँडापाखामा रमाउँथे र भुइँ कुहिरोसँग लुकामारी गर्थे । उनीहरू हिमवत् खण्डमा हुने अनेक यज्ञ, तप, ध्यान, ज्ञानसाधना र उत्सवमा सँगै सहभागी हुन्थे । यो केटाकेटीको कुरा थियो । तर, जसै उमेर चढ्दै गयो र कौशिकीको जीवन वसन्तझैँ फक्रिन थाल्यो, तब राजकुमारहरू शिरस्यम्, केशवम् र माण्डवम्‌हरू बिस्तारै कौशिकीप्रति आकर्षित हुँदै गए ।

यसरी समयसँगै कुरा फेरिँदै गयो ।  र, तीनै जना दाजुभाइ कौशिकीसँगको रतिकामनाले व्याकुल हुँदै गए ।

यस्तो हुन्थ्यो कि कौशिकीलाई प्रेमप्रस्ताव राख्न दाजुको आँखा छलेर भाइ अगाडि सर्थ्यो, भाइको आँखा छलेर दाजु । दाजुभाइ नै एउटी कन्याप्रति प्रेमातुर हुनु आश्चर्य थियो । क्रमश: यस्तो हुँदै गयो कि कौशिकीको प्रेममा युवा राजकुमारहरू पागल बन्दै गए । उनीहरूबीच बिस्तारै चिसो गहिरिँदै गयो, प्रतिस्पर्धा बढ्दै गयो । तर, कौशिकी थिई निर्मोही । ऊ आफ्नो चपलता र चञ्चलताले सबैलाई मक्ख पार्थी र कर्के आँखा लडाउँदै लुकामारी खेल्थी ।

उसलाई धेरै कुरा थाहा थियो तर ऊ थाहा नपाएजस्तो गरिदिन्थी ।

समय बित्दै गयो । बिस्तारै कौशिकीको प्रेमका लागि शिरस्यम्, केशवम् र माण्डवम्‌बीच प्रतिस्पर्धा तीव्र हुन थाल्यो र त्यो क्रमश: गहिरो शत्रुतामा फेरिँदै थियो । कौशिकीकै कारण तीन भाइबीच बोलचाल बन्द भयो । साथसाथ सिकार र खेलकुद पनि बन्द भयो । एउटै कन्याप्रति तीन राजकुमारहरू आशक्त भएकोमा हिमवत्‌का मान्छेहरू पनि हाँस्न र भित्रभित्र राजकुमारहरूमाथि व्यंग्य गर्न थाले । यसरी दरबारको मान प्रतिष्ठामै प्रश्नहरू उठ्न सुरु भयो ।

परिस्थितिको गाम्भीर्यबाट चिन्तित थिए राजा सुनन्दन ।

त्यसैताका अर्को एउटा घटना भयो ।

हिमवत् राज्यको काखमा विशाल जंगल थियो, जसलाई अरण्यक वन भनिन्थ्यो । त्यो वनको बीचबाट हजारौँ कोष लामो एउटा बाटो पूर्व–पश्चिम जान्थ्यो । केही दिनअगाडि पश्चिम दक्षिणबाट त्यो बाटोहुँदै एउटा ठूलो कविला समूह अरण्यक वनमा आइपुग्यो । त्यो समूहमा पाँच हजारभन्दा धेरै नरनारीहरू थिए । तत्कालीन गान्धारबाट हिँड्दैहिँड्दै सात वर्ष लगाएर त्यो समूह अरण्यक वनमा आइपुगेको थियो । उनीहरू केही दिन त्यहाँ विश्राम गरेर पश्चिम उत्तरको कौलाशकुट पर्वततिर जान चाहन्थे । त्यो कविला समूहले नाग र गरुडको पूजा गर्दथ्यो र कैलाशकुट पर्वतलाई आफ्नो आराध्यदेव मान्दथ्यो ।

पूर्वतिरबाट वनझाडी फाँड्दै, फलफूल र कन्दमूल खाँदै, पशुहरू डोर्‍याउँदै, गीत गाउँदै, जंगलमा रमाउँदै पश्चिम दिशातिर हानिएको त्यो कविला समूहको सरदार थियो यम्बर । यम्बरको पुत्र थियो कौमद ।

कौमद सुन्दर कविताहरू गुनगुनाउँथ्यो र बाँसुरी बजाउँथ्यो । कविलाहरूको आगमनपछि सारा अरण्यक क्षेत्र थप गुल्जार भयो । खेलकुद, होहल्ला, गाना बजाना । युवायुवतीहरूको हाँसो र वृद्धवृद्धाहरूको गम्भीर वार्तालाप ।

अरण्यक वनको मध्यभागमा थियो एउटा तलाउ । जो आकाशजस्तै कञ्चन र नीलो थियो । तलाउमा हिमवत् राज्यका दरबारिया कन्याहरू जलविहारका लागि आउँथे । तलाउको केही माथि थियो सुन्दर देउराली । छेउमा थियो बुकिफूलको प्राकृतिक बगैँचा । बुकिफूलको बगैँचाबीचमा एउटा अजंगको कालो ढुंगो थियो । मान्छेहरू भन्थे– त्यो ढुंगाको चुचुरोमा चढेर आकाशसँग कुरा गर्न सकिन्छ ।

एक दिन, त्यही ढुंगाको चुचुरोमा चढेर कौमद आकाशसँग कुरा गर्न थाल्यो ।

उसले आकाशलाई सोध्यो, ‘तिम्रो विशालताको रहस्य के हो आकाश ?’

आकाशले भन्यो, ‘विश्वास ।’

‘विश्वास केमा टिकेको हुन्छ आकाश ?’

‘प्रेममा ।’

‘प्रेम कस्तो हुन्छ ?’

‘तिम्रो बाँसुरीको धुनजस्तो ।’

आकाश र कौमद दुवै मस्तले हाँसे । त्यो हाँसोमा सारा अरण्यक वन मनमस्त भयो ।

त्यो बेला कौशिकी आफ्ना सेविका र सखीहरूसँग तलाउमा खेल्दै थिई । त्यहीँबाट आकाश र कौमदको संवाद उसले सुनी । कौशिकीलाई त्यो संवादले मोहित गर्‍यो । निश्चल, सरल तर गहिरो संवाद । त्यो दिन पहिलो पटक उसले कौमदलाई देखेकी थिई । उसलाई त्यो पुरुष पहिलो नजरमै मन पर्‍यो ।

त्यसपछि बिस्तारैबिस्तारै कौशिकी र कौमद नजिक हुँदै गए ।

अर्थात्, बिस्तारैबिस्तारै उनीहरू प्रेममा परे ।

यसरी तीनवटा कुरा भए । पहिलो आफ्नी प्रेमिकाको मन अन्तै गएकोमा राजकुमारहरू क्रोधित भए । असाध्यै क्रोधित । त्यसपछि भयो के भने, तीन दाजुभाइको मनमुटाव सकियो । उल्टो उनीहरू एक भए, अनि कौशिकी र कौमदसँग बदला लिने सल्लाह गर्न थाले । खासमा उनीहरूलाई कौमदसँग जलन थियो तर रिस थियो स्वयम् कौशिकीसँग । उनीहरू कौशिकीलाई पीडा दिन चाहन्थे । त्यसका लागि सबैभन्दा सजिलो बाटो थियो साम्वर, कौमदसहित कविलाहरूको सामूहिक हत्या ।

दोस्रो, राजकुमारहरूको प्रेम प्रस्तावलाई तिरस्कार गरेर एउटा फिरन्ते कविलासँग कौशिकीले प्रेम गर्नु हिमवत् राज्यकै लज्जा र अपमानको कुरा थियो । जसबाट स्वयम् राजा, राजकुमार, मन्त्री र सकल हिमवत् खण्डले नै अपमान महसुस गरेको थियो । तेस्रो कुरा थियो– कौशिकी स्वयम् मन्त्री कौशिकपुत्री थिई र उनको अपमान गर्न स्वयम् राजा सुनन्दनलाई समेत सजिलो थिएन । तर, यो समस्याको समाधान पनि आवश्यक थियो ।

अर्थात्, विषय गम्भीर थियो । स्वयम् राज्य र दरबारको प्रतिष्ठासँग जोडिएको हुँदा राजा सुनन्दनसमेत यो मुद्दामा गम्भीर थिए । अतः समस्यामाथि छलफल गर्न एक दिन उनले दरबारमा बैठक आह्वान गरे । बैठकमा उपस्थित हुन कौशिकीलाई पनि आदेश दिइयो । ठीक समयमा राजा, मन्त्री, राजकुमार र भाइभारदारहरू  बैठकमा उपस्थित भए । लामो छलफल भयो । छलफलपछि बैठकले कौशिकीको प्रेम अस्वीकार गर्ने र केही समय उसलाई हिमवत् राज्यबाट उसको मामाघर गंगातटतिर पठाउने निर्णय गर्‍यो ।

दरबारको निर्णय सुनाउँदै राजा सुनन्दनले भने, ‘तिमी मामाघर गंगातटतिर जाऊ कन्या ।’

‘के त्यो समाधान हो राजन् ?,’ कौशिकीले प्रश्न गरी ।

‘तिमी र तिम्रो प्रेमको मूल्य हिमवत् राज्यले तिर्न सक्दैन ।’

‘म मेरो प्रेमका लागि स्वतन्त्र छु ।’

‘यो तिम्रो स्वतन्त्रताको प्रश्न होइन कन्या । यो हिमवत् खण्डको प्रतिष्ठाको कुरा हो ।’

राजा आफ्नो निर्णयमा अडिग थिए । सबैकुरा चुपचाप सुनिरहेका मन्त्री कौशिकले आँखाबाट आँसु झार्दै भने, ‘प्रिय छोरी, प्रेमभन्दा ठूलो हुन्छ राजा, पिता, माता र राज्यको आदर । अतः तिमीले राजदरबारको आदेश मान्नैपर्छ । राज्यप्रति आदर र राजआज्ञाप्रतिको निष्ठा हिमवत् सभ्यताको अभिभाज्य पक्ष हो । तिमीले यसको सम्मान गर्नुपर्छ ।’

दरबारको निर्णय र पिताको भावना सुनेर कौशिकी अवाक् भई । उसको अगाडि अर्को बाटो थिएन । यद्यपि आफ्नो प्रेमी कौमदसँग विछोड हुने कसरी ? भर्खर टुसाउँदै गरेको प्रेममा वियोगको पीडा कसरी सहने ? कौशिकी आघातमा परी । उसको मन शून्यशून्य भयो ।

दरबारको निर्णय र आफ्नो बाध्यता सुनाउँदै कौशिकीले कौमदलाई भनी, ‘संयम हुनु नै उत्तम हुन्छ प्यारा ।’

सबैकुरा सुनेपछि कौमदले भन्यो, ‘त्यसो भए म प्राण त्याग गर्छु ।’ 

‘हाम्रो विछोड मात्र केही समयका लागि हो कौमद । म मामाघर गंगातटबाट चाँडै फर्किनेछु । तिमी पनि कौलासको यात्रा सम्पन्न गरेर फर्क । त्यसपछि हामी सात समुद्रपारि भागौँला ।’

‘तर म तिमीबाट एक पल पनि अलग हुन सक्दिनँ कौशिकी ।’

कौशिकीलाई राजआज्ञा पालन गर्नुबाहेक अर्को उपाय थिएन । ऊ आफ्नो राज्यधर्मलाई सम्मान गर्थी । आफ्ना राजा, पिता, माता र राजदरबारप्रति उसको सतत् आदर थियो र ऊ त्यो आदरमा डगमगाउन चाहन्नथी । ऊ प्रेमलाई त जोगाउन चाहन्थी नै, तर ऊ आफ्नो राज्यको पनि उसरी नै सम्मान गर्थी ।

धेरै दिन बितेर गए तर कौशिकी फर्किइन । तर पनि कौमद आफ्नी प्रियतमाको फर्किने बाटो हेरेर त्यहीँ बसिरह्यो । ऋतुहरू फेरिए । चर्को गर्मी र निरन्तरको झरीले कौमदलाई चुट्दै र थिलथिलो बनाउँदै लग्यो । हिउँदमा तुसारो पर्थ्यो र गर्मीमा मन पोल्ने घाम लाग्थ्यो । त्यो सबै सहँदै कौमदले आफ्नी कौशकीको बाटो हेरिरह्यो ।

त्यसैले उसले दरबारको आज्ञा शिरोपर गर्दै गंगातटतिर जाने निर्णय गरी ।

एक दिन, त्यो वसन्त पञ्चमीको दिन थियो । अर्थात्, ऋतु फेरिँदै थियो । वनमा नयाँ पालुवाहरू पलाउँदै थिए । हिउँ पग्लिन भर्खर सुरु हुँदै थियो । आकाशमा चन्द्रमाको रङ बिस्तारै फेरिँदै थियो । र, चराहरू गुँड बनाउन सिमलका भुवाहरू खोज्दै थिए । अर्थात्, वसन्त पञ्चमीको दिन आफ्नो प्रेमी कौमदलाई समेत थाहा नदिई कौशिकी सुटुक्क गंगातटतिर लागी । यो उसका लागि निकै कठिन काम थियो ।

अर्को दिन जब कौशिकी हिँडेको कौमदले थाहा पायो, ऊ व्याकुल भयो । र, आफ्नी प्रियतमालाई पछ्याउँदै ऊ हावाको वेगमा कुद्यो ।  

एक दिन हिँडेपछि उनीहरूको भेट भयो । त्यसपछि सँगसँगै उनीहरूले केही रात र दिन यात्रा गरे । कौशिकीले कौमदलाई पटकपटक फर्किन अनुरोध गरी । तर, प्रेममा प्रतिवद्ध कौमद मरिगए फर्किन तयार थिएन । उसले प्रेमको अर्थ दिई । भावनाको कुरा गरी । आत्माको आवाज सुनाई । आफू चाँडो फर्किने विश्वास दिलाई । तर, कौमद पागल प्रेमी थियो । ऊ कौशिकीसँग जन्मजन्म सँगै बिताउन चाहन्थ्यो । आफ्नी प्रियतमासँग एक पल पनि अलग हुनु उसका लागि असम्भव थियो ।

कौशिकी अगाडि बढ्दै गई, कौमद पछ्याउँदै गयो । सँगसँगै हिँड्दै, बग्दै उनीहरूले पहाडका खोँचहरू छिचोले । झण्डै एक हप्ता यसरी नै बित्यो । साथसाथ हिँड्दा दुवैलाई आनन्द पनि आइरहेको थियो । तर, थकान पनि सँगै थियो । अर्थात्, उनीहरूको साथमा थियो प्रेमको उल्लास र सम्भावित वियोगको गहिरो पीडा । बग्दैबग्दै जाँदा तल समथर भूभाग देखियो । पहाडका अप्ठ्याराहरू कटे । उनीहरूले केही दिन त्यहीँ आराम गर्ने निर्णय गरे ।

उनीहरूले जहाँ आराम गरे, त्यो गाउँ निकै सुन्दर थियो । जसलाई बराहपुर भनिन्थ्यो । त्यो ठाउँमा राति संगिनी, बालनहरू हुन्थे । प्रत्येक दिन अनेक मिष्टान्नहरूको भोज भतेर लाग्थ्यो । अनेक देश र प्रदेशका तीर्थालुहरू त्यही बाटोहुँदै माथि कैलासतिर जान्थे । त्यहाँ सबै कुरा सरल, रोमाञ्चकारी र प्रेमिल थियो । एक हप्ता आराम गरी बस्दा कौशिकीलाई बडो आनन्द अनुभव भयो । किनभने उसको अगाडि अहंकारी प्रेमीहरू शिरस्यम्, केशवम् र माण्डवम् थिएनन् । राजा सुनन्दनको कुनै धक थिएन । न त कसैको सङ्कोच थियो, न कसैको त्रास ।

एक हप्ता आराम गरेपछि कौशिकीले भनी, ‘अब हिँड्नुपर्छ ।’

तर कौमदलाई हिँड्न पटक्कै मन थिएन । न त उसलाई छुट्टिन नै मन थियो । ऊ त्यहीँ बस्न र कौशिकीको प्रेममा लीन हुन चाहन्थ्यो । जब घाम झुल्किए र भुइँमा झरेका शीतका थोपाहरू बिस्तारै बिलाउँदै गए, कौशिकीले कौमदको हात समाई र भनी, ‘प्रिय कौमद, तिमी फर्क । हाम्रो प्रेम अनन्तअनन्तसम्म जीवित रहनेछ प्यारे । हामीले प्रेम गर्‍यौँ । त्यो सत्यले हाम्रो जीवनलाई सधैँसधैँ आह्लादित गरिरहनेछ । म तिमीलाई भेट्न चाँडै गंगातटबाट फर्किनेछु ।’

अन्ततः कौशिकी अगाडि बढी । कौमद उसलाई रोक्न चाहन्थ्यो । हिँड्ने र रोक्ने खेल सुरु भयो । यस्तो भयो कि न त कौमद छुट्टिन सक्यो, न त कौशिकी रोकिन सक्थी । यसरी नै उनीहरूले बहारपुरलाई तिन फन्को लगाए । र, अन्ततः आफ्नो प्रेमीलाई अन्तिम पटक चुम्बन गरेर कौशिकी अगाडि बढी ।

र, कौशिकी अगाडि बढ्दै गई, निरन्तर–निरन्तर ।

कौमदले आफ्नी प्रेमिका हिँडेको र पर क्षितिजमा पुगेर छेलिएको दृश्य हेरिरह्यो । उसलाई नमीठो लाग्यो । छाती भरिएर आएजस्तो, सास रोकिएजस्तो । ऊ कौशिकीको प्रेममा रङझैँ घुल्न र एकाकार हुन चाहन्थ्यो । तर, विधिले उनीहरूलाई अलग गरेको थियो । जुन कुरा कौमदका लागि असह्य थियो । यद्यपि कौमदलाई विश्वास थियो, एक दिन कौशिकी अवश्य फर्किनेछे ।

त्यही विश्वासमा कौमद आफ्नी प्रियतमा आउने बाटो हेरेर त्यहीँ उभिइरह्यो र निरन्तर उभिइरह्यो ।

धेरै दिन बितेर गए तर कौशिकी फर्किइन । तर पनि कौमद आफ्नी प्रियतमाको फर्किने बाटो हेरेर त्यहीँ बसिरह्यो । ऋतुहरू फेरिए । चर्को गर्मी र निरन्तरको झरीले कौमदलाई चुट्दै र थिलथिलो बनाउँदै लग्यो । हिउँदमा तुसारो पर्थ्यो र गर्मीमा मन पोल्ने घाम लाग्थ्यो । त्यो सबै सहँदै कौमदले आफ्नी कौशकीको बाटो हेरिरह्यो ।

यसरी नै अनेकौँ वर्ष बिते । करोडौँं करोड वर्ष । आफ्नी प्रियतमालाई एक्लै, निरन्तर–निरन्तर पर्खी बसेको कौमद बुढो हुँदै गयो र एक दिन उसको प्राण उड्यो । त्यसपछि उसको शरीर पत्थरमा फेरियो ।

आज पनि कौमद पत्थर बनेर आफ्नी प्रियतमालाई कोसी किनारमा पर्खिरहेको छ । तर, कौशिकी अझै फर्किएकी छैन ।

प्रिय पाठकहरू !

समय फेरियो । तर, आज पनि कौशिकी र कौमदले छोडेका प्रेमका डोबहरू मेटिएका छैनन् । आज पनि तपाईं कौशिकी र कौमदले आराम गरेको बराहपुर र उनीहरूले तिन फन्को लगाएको टापु सप्तकोसी किनारमा कतै भेट्नुहुनेछ ।

तपाईंलाई खास कुरा भनौँ, त्यो टापुमा हरेक पूर्णिमाको रात अनौठो रङ र बासनाको सुनकेसरी फूल फूल्छ । र, बिहान घामको पहिलो झुल्कोसँगै त्यो फूलका पत्रहरू सप्तकोसीको लहरमा मिसिन्छन् ।

आज पनि नदी किनारमा एउटा ठूलो पत्थर छ । आफ्नी प्रियतमाको यादमा करोडौँ करोड वर्षदेखि पर्खिबसेको त्यो कौमद हो । र, आज पनि त्यो पत्थरलाई आफ्नो शीतल आभाले सुमसुम्याउँदै चन्द्रमा उसरी नै प्रत्येक पल उदाउने र अस्ताउने गर्छ । याे लेख लेखकले शिलापत्रमा लेख्नुभएकाे छ ।