करोडौैं खर्च गरेर महानिर्देशक भएका अधिकारीबाट प्राधिकरण सुधार नहुने

-


     सुचनाको हक     
     फागुन १३ गते २०७९ मा प्रकाशित


संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती अहिले निकै सक्रिय देखिएका छन् । केही एक्सनका काम गरेर उनी अरु मन्त्रीभन्दा सक्रिय देखिएका पनि छन् । अहिले मन्त्री किराँती पशुपति क्षेत्र विकास कोषका पदाधिकारीलाई व्यवस्थापनमा लागेको स्रोतको भनाइ छ । कोषका सदस्यसचिव मिलनकुमार थापा र कोषाध्यक्ष नारायण सुवेदीवीच लामो समयदेखि बोलचाल बन्द रहेको छ । केही ठेक्काको भुक्तानीका विषयमा भएको विवादले गर्दा उनीहरुवीच बोलचाल बन्द भएको हो । सदस्यसचिव र कोषाध्यक्षवीच बोलचाल बन्द भएपछि कोषले कुनै नयाँ निर्णय गर्न सकेको छैन । 


कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई तत्कालीन पर्यटन मन्त्री प्रेम आले नै निकाल्न खोजेका थिए । उनी भागीभागी हिंडेर सम्पर्कमै नआएपछि रोकिएका थिए । आले केही दिन मन्त्री रहेको भएको भए उनी कारबाहीमा पर्ने संभावना थियो । अहिले पनि उनी आफ्नो पद जोगाउने दौडमात्रै लागेको कोषका सञ्चालकहरु बताउछन् । उनको योग्यतामाथि प्रश्न उठिरहेको छ । यता, सदस्यसचिव र कोषाध्यक्षको बोलबाल बन्द भएको बारेमा कोष अनुगमनमा मन्त्री किराँती गएको बेलामा यो कुरा उठेको थियो । त्यसबारे भलीभाँती जानकार रहेका मन्त्री किराँतीले कोषको सबै विवाद मिलाउन एक महिनाजतिको समय दिएका थिए । त्यसको झन्डै १५ दिनजति बितिसकेको छ । तर, सुधारको संभावना देखिएको छैन ।

 
 त्यसैले, मन्त्री किराँती काम नभएकै कारण सदस्यसचिव र कोषाध्यक्ष दुवैलाई विदा गर्नुपर्ने सोचमा पुगेको स्रोतहरुको भनाइ छ । त्यसो त, यी दुईजनाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत परेको बताइन्छ । पशुपतिका जलाहरी बनाउँदा हराएको ११ किलो सुनको काण्डका विषयमा पनि विवाद टुंगो लागेको छैन । र, उक्त सुन काण्ड विवादमा सदस्यसचिव थापा पनि मुछिएका  छन् । उक्त जलाहरी बनाउने बेलामा कोषको कोषाध्यक्ष रहेका थापा उक्त योजनाको संयोजकसमेत रहेका थिए ।

त्यसैले, यो विवाद अहिले अख्तियारको छानविनको दायरा पनि तानिएको विषय हो । त्यसैले, अहिले थापा चाहिँ राजनीतिक शक्तिको सोर्समा पद थमाउने दौडमा लागेर र कारबाहीबाट बच्ने प्रयास गर्न थालेका छन् । कोषाध्यक्ष खतिवडा भने पूर्वकर्मचारी भएकाले उनी काम गर्नेभन्दा पनि अवकाशको जीवन चलाउने शैलीमा रहेको कोषकै कर्मचारीहरुको भनाइ छ । सुवेदीलाई एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलको आग्रहमा नियुक्त गरिएको थियो । पौडेलले आर्थिक लाभको अपेक्षा गरेर मन्त्री आलेमार्फत नियुक्त गरेका थिए, तर सुवेदीबाट खासै सहयोग नपाएको पौडेलले पनि गुनासो गर्ने गरेको चर्चा छ । त्यसैले अहिले तीनैजना मन्त्री किराँतीको तारोमा परेका छन् ।

 
यता, मन्त्री किराँतीले नेपाल वायुसेवा निगममा पनि केही नयाँ निर्णय गर्ने तयारीमा रहेको चर्चा छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग पनि मन्त्री सन्तुष्ट नरहेको बताइन्छ । तर, अध्यक्ष युवराज अधिकारीलाई अदालतले थमौती गरेका कारण उनलाई चलाउन चाहिँ मन्त्री किराँती नै अलमलमा रहेको स्रोतको भनाइ छ । स्रोतका अनुसार, अदालतबाट अध्यक्ष पद सुरक्षित बनाएका अध्यक्ष अधिकारीको हकमा यस अघिको मन्त्रालयको नेतृत्व र निगमको व्यवस्थापनबीच राम्रो सम्बन्ध नभएका कारण अहिलेसम्म ठूला निर्णय केही गर्न सकेका छैनन् । अर्को आश्चार्य र लाजमर्दो चाहिँ निगमको महाप्रबन्धक रहेका डिमप्रकाश पौडेलेले अहिलेसम्म राजीनामा दिएका छैनन् । मन्त्रालयमा तानिएका पौडेलले राजीनामा नदिएर चुपचाप बसिरहेका छन् । सामान्य नैतिकता पनि नदेखाएका पौडेलले अहिले भने राजनीतिक शक्तिकेन्द्रको दौडमा लागेर निगममा फर्किने प्रयास जारी राखेका छन् । 


 मन्त्री किराँतीले अकुत सम्पत्तिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको विकल्पको विषयमा सोच्न थालेको चर्चा मन्त्रालयमा चलेको छ । करोडौैं खर्च गरेर अधिकारी महानिर्देशक भएको आरोप लाग्दै आएको छ । सिनियर कर्मचारीलाई पाखा पारेर शक्ति, धनको बलमा महानिर्देशक भएका अधिकारीलाई मन्त्री किराँतीले २१ वुँदामा काम मागेको पनि मन्त्रालयमा चर्चाको विषय बनेको छ । प्राधिकरणका मालदार परियोजना जतिमा प्रमुख भएर काम गरेका अधिकारी प्राधिकरणकै विवादस्पद कर्मचारीका रुपमा चिनिन्छन् । शक्ति केन्द्र र राजनीतिक नेतालाई समेत मिलाउन सक्ने भएकोले उनलाई मन्त्रीहरुले भने हत्तपत्ति चलाउने हिम्मत गर्दैनन् । तर, किराँतीले भने डीजी अधिकारीबाट प्राधिकरण सुधार नहुने बताउने गरेका छन् ।