कल्पनाशक्ति सफलताको एक महत्त्वपूर्ण पक्ष हो । उच्च कल्पना शक्ति भए शिक्षा र अरू साधन केही नभए पनि सफलता पाउन सकिन्छ । याद राख्नुस्– राइट ब्रदर्सले उच्चशिक्षा हासिल गरेका थिएनन् तर उच्च कल्पना शक्ति प्रयोग गरी हवाइजहाज बनाउन सफल भएका थिए । यो कल्पनाशक्ति तपार्इं–हामीमा रहेसम्म शिक्षा होस्, नहोस्, धन पनि होस्, नहोस् तैपनि चाहेको कुरा प्राप्त गर्न सकिने कुरा सिद्ध भएको छ । कल्पनाशक्तिलाई अझै राम्ररी बुझ्न हाम्रो मनलाई कम्प्युटरको मोनिटरसित दाँजेर हेर्न सकिन्छ । मोनिटरमा देखापरेका चित्रलाई मात्र प्रिन्टरले छाप्ने हो । यदि मोनिटरमा धन–दौलत देखियो भने प्रिन्टरले त्यसैलाई छापेर साकार पार्छ । र, अभाव–गरिबी देखिए त्यसैलाई कागजमा छापेर बाहिर ल्याउँछ । केल्विन महोदयले तर्क–गणितको आधारमा प्लेन बन्दैन भनेका थिए र त त्यसको कल्पना पनि गरिएन अनि प्लेन पनि बनेन । केल्विनको मामिलामा चाल्र्स केटरिङको भनाइ मिल्न आउँछ– ‘त्यस मान्छेको अवसर कम हुन्छ जसमा कल्पनाशक्तिको कमी हुन्छ ।’ तर, राइट ब्रदर्सले भने प्लेन कल्पनामा देखे, त्यसलाई यथार्थको धरातलमा ल्याउन भगिरथ प्रयत्नमा जुटे । र, वास्तवमै हवाइजहाज प्रकट भयो ।उनीहरू साइकल बिगार्दै हवाइजहाज बनाउने तरखरमा थिए । प्राय: आधा रातसम्म घरी कल्पनामा डुब्थे, घरी त्यसैको सेरोफेरोमा चर्चा–परिचर्चाको जालो बुन्थे । र, बिहान हुन नपाउँदै आफ्ना सपना साकार पार्न काम–कर्तव्यमा व्यस्त रहन्थे । उनीहरूका परीक्षण भने एकपछि अर्को असफल हुँदै थिए । दुवैलाई नराम्ररी धक्का पनि लाग्थ्यो । आफ्ना सपना साकार पार्ने परीक्षाका क्रममा भाइचाहिँ उत्साहजनक शब्दमा भन्थे ‘दाइ π अर्कोपालि त हामी जसरी पनि सफल हुन्छौँ, किनभने हवाइजहाज चढेर यात्रा गरेको कुरा सँधैँ मेरो आँखामा झल्झली आइरहन्छ ।’ अर्कोपटकको परीक्षणले पनि असफलताकै नियति भोग्नु पर्दा उसको मुड निकै खराब हुन्थ्यो । अनि दाइचाहिँ भन्थे– ‘भाइ π मेरो कल्पनामा पनि प्लेन उडेको चित्र आइरहेको छ । त्यसैले कुनै पनि हालतमा हाम्रो जहाज उड्छ, उड्छ ।’
उनीहरूका कैयौँ परीक्षण खेर गइसकेका थिए, तर प्रयास भने यथावतै थियो । अन्तत: सन् १९०३ डिसेम्बर १७ को दिन दस बजेर ३५ मिनेटमा उनीहरूको प्लेन उडेरै छोड्यो । बार्ह सेकेन्ड हावामा तैरेर सय फुटको दुरी पार गर्यो । स्मरण रहोस्– इंग्ल्यान्डको रोयल सोसाइटीका अध्यक्ष लर्ड केल्विनले सन् १८८५ मा ठोकरै भनेका थिए, ‘उड्ने मेसिन बनाउन सक्ने सम्भावना नै छैन ।’ एक सुशिक्षित विज्ञको बौद्धिक एवं तार्किक भनाइलाई ओरविल राइट र विल्वर राइटको अथक प्रयास एवं कल्पना–शक्तिले गलत प्रमाणित गर्न सफल भयो । हवाइजहाज बन्यो उड्यो ।यहाँनेर जोन मेसनको भनाइ सटिक देखिन्छ– ‘सफल हुने मान्छेहरू सबभन्दा बढी कल्पना गर्छन् ।’ कल्पनाको जादु यो हो कि यसले आफैँ आगो सल्काउन सक्छ । प्रसंग बदलौँ । कल्पनाशक्तिले यथार्थ निर्माण गर्नुको पछाडि वैज्ञानिकता के छ ? अबको प्रश्न यो हो । जसरी हरेक वस्तु जमिनमा खस्नुको कारण गुरुत्वाकर्षण शक्ति हो, त्यस्तै कुनै पनि कल्पनाशक्ति यथार्थमा बदलिनुका तीन वैज्ञानिक कारण छन् । पहिलो कारण रेटिक्युलर एक्टिभेटिङ सिस्टम, दोस्रो जैव विद्युत् प्रणाली र तेस्रो जैव रसायन प्रणाली । पहिलो सिस्टमअनुसार कुनै पनि एक समय खण्डमा हाम्रो दिमागले असी लाख सूचनाका बिट वा अंश ग्रहण गरिरहेको हुन्छ । ती सूचनाका अंशहरू हाम्रा इन्द्रिय– आँखा, कान, नाक, जिब्रो र छाला आदिबाट दिमागसम्म पुगिरहेका हुन्छन् । तथापि हाम्रो लागि प्राय: सूचना–अंश काम नलाग्ने भएकाले आ–आफ्नो मानसिकता एवं लक्ष्य–उद्देश्यअनुसारका सूचना मात्र गिदीले ग्रहण गर्छ र बाँकी अंश मिल्काइदिन्छ । मैनबत्ती किन्नुपर्यो भने करोडौँ सम्पत्ति भएकाहरूले पनि १०–२० मात्र बोक्छन्, हजारौँ–लाखौँ बोक्दैनन् । तर तिनीहरूले नै घर–जग्गा किन्ने उद्देश्य राखे भने करौडौँ बोकेर हिँड्छन् । याद राख्नुस्– सानो उद्देश्य राख्दा त्यहीअनुरूपको कल्पना गरिन्छ र मस्तिष्कले पनि थोरै मात्र सूचना–अंश लिएर अरू जम्मै फालिदिन्छ । किनभने सानो काम गर्न धेरै सूचनाको आवश्यकता नै पर्दैन । र, ठूलो सपना बोक्दा भने मस्तिष्क थुप्रै सूचनालाई ग्रहण गर्न बाध्य हुन्छ किनकि ठूलो काम सम्पन्न गर्न थुप्रै सूचनाको आवश्यकता पर्छ ।एउटा उदाहरणबाट यस कुरालाई छर्लङ पारौँ । एउटा दाउरे जंगल पस्दा उसको दिमागले जंगलैभर दाउरा मात्रै देखाइदिन्छ, र त्यो भन्दा महत्त्वपूर्ण सबै कुरा ओझेलमा पारिदिन्छ । त्यही जंगलमा एकजना वैद्य पुग्यो भने उसले त्यहाँ दाउरापटक्कै देख्दैन, जडिबुटी मात्र देख्छ । त्यस्तै एक चित्रकार त्यसै जंगलभित्र छिर्यो भने उसले जताततै प्राकृतिक सौन्दर्य मात्र ठम्याउँछ । दाउरा र जडिबुटी ओझेलमा पर्छन् । किन एउटै जंगलभित्र भिन्न–भिन्न कुरा देखिन्छन् ? यसैलाई वैज्ञानिक भाषामा रेटिक्युलर एक्टिभेटिङ सिस्टम भनिएको हो । किनभने सबैका लक्ष्य–उद्देश्य फरक–फरक छन् । अत: ज–जसले ज–जस्तो कल्पना गर्छन् वाउद्देश्य बोक्छन् त्यस्तै–त्यस्तै कुरा प्राप्त हुँदै जानु प्राकृतिक नियम नै हो । यहाँनेर रबर्ट सुलरको सुझाव मान्नै पर्ने देखिन्छ ‘कल्पना गर्न पैसा पर्दैन, त्यसैले कल्पनाको उडान भर्नमा कन्जुस्याइँ गर्नु हुँदैन ।’
कल्पना साकार पार्ने अर्को तत्त्व जैव विद्युत्को चर्चा गरौँ । मस्तिष्कमा लगातार उत्पादन भइरहेको विद्युत्लाई जैव विद्युत् भनिन्छ । यसका पनि चार लेभल वा व्यान्ड छन्– बिटा, अल्फा, ठेटा र डेल्टा । हाम्रो विचार चलिरहँदा हामी बिटा लेभलमा हुन्छौँ । तर, कल्पना गर्दा भने अल्फामा झर्छौं । स्मरण रहोस्– बिटामा हुँदा हाम्रो मस्तिष्कको दश प्रतिशतले मात्र काम गरिरहेको हुन्छ भने अल्फामा शतप्रतिशतले । अत: कल्पनालोकमा विचरण गर्दा हाम्रो मस्तिष्क स्वत: अरू बेलाभन्दा बढी शक्तिशाली हुने देखिन्छ । त्यसैले नै उसले आफ्ना जस्तासुकै उद्देश्य पनि साकार पार्न सक्छ ।अब जैव रसायन प्रणालीको कुरा गरौँ । कल्पना गर्दा जैव विद्युत्मा मात्र परिर्वतन आउने नभई जैव रसायनको समेत क्रियाशीलता बढ्ने गर्दछ । जस्तै साहसिक काम गरेको कल्पना गर्दा साहस बढाउने एड्रिनलिनजस्ता जैव रसायन सक्रिय भई ऊर्जा प्रदान गर्दछ भने आनन्द भएको कल्पना गर्दा आनन्दको अनुभूति दिने एन्ड्रोफिन्सजस्ता केमिकल चलायमान हुन थाल्छन् र कल्पनाकार साँच्चै आनन्द मग्न हुन्छ । त्यस्तै प्रेम प्रसंगको कल्पना गरिँदा प्रेमको आभास दिने जैव रसायन अक्सिटोसिन सक्रिय हुन्छ । एवं रीतले ज–जस्तो कल्पना गरिन्छ त्यस्तै रसायन सक्रिय भई यथार्थको निर्माण गर्ने पूर्वाधार तयार हुन्छ ।