काठमाण्डौमा सुन्दरी युवती प्रयोग गरेर रकम असुली गर्ने गिरोह सक्रिय

-


     सुचनाको हक     
     असार ३ गते २०७९ मा प्रकाशित


राजधानी काठमाण्डौमा सुन्दर युवतीहरु प्रयोग गरेर रकम असुली गर्ने गिरोह सक्रियका छ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना नक्कली पत्रकारसहित रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार, प्रहरीले उक्त गिरोहमा संलग्न मध्ये पक्राउ पर्नेमा सूर्यविनायक–९ भक्तपुरकी १९ वर्षीय निकिता केसी, ढुसेनी–३, काभ्रपलाञ्चोककी १८ वर्षीय मनिषा परियार, हलेसी–७, खोटाङका ३२ वर्षीय डिकबहादुर शर्मा, इटहरी–७, सुनसरीका ३० वर्षीय सञ्जिब दर्जी, मेलुङ–५, दोलखाका २५ वर्षीय निमा लामा र ३० वर्षीय पासाङ लामालाई पक्राउ गरेको छ।

उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट युवतीको प्रयोग गरेर पुरुषहरुलाई खाजा खाने बहानामा रेष्टुरेन्टमा लगेर भेटघाट गर्ने गराउने र ती व्यक्तिहरुको घर, कार्यालय तथा सवारीसाधन लगायतका सम्पूर्ण विवरण राख्ने गरेका देखिएको एसपी कोइरालाले जानकारी दिए ।

‘सबै विवरण संकलन गरेर झुठ्ठा मुद्दा लगाएर फसाइदिने भन्दै डर, धम्की तथा त्रास देखाएर मोलमोलाई गर्ने गरेको पाइएको छ’ कोइरालाले भने, ‘दबाबमुलक रुपमा रकम दिनलाई बाध्य गराउन केटीको नक्कली पारिवारिक सदस्य, वकिल तथा पत्रकार खडा गरेर मोलमोलाई गरी मासिक हैरानी दिने गरेको खुलेको छ ।’

यो हनी ट्र्यापिङको मुख्य योजनाकार भने निमा र पासाङ हुन्। उनीहरूकै योजनामा दुई जना युवतीलाई प्रयोग गरी रकम असुली गरिरहेको खुलेको छ।

यस आपराधिक क्रियाकलापमा निकिता नक्कली पत्रकार बन्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनले आफूलाई पत्रकार भनेर चिनाउने र समाचार लेख्ने बहाना बनाएर मान्छे भेट्ने गर्थिन्। यता डिकबहादुर पनि कहिले समाजसेवी त कहिले वकिल भनेर आफूलाई चिनाउँथे।

उनीहरूले विशेषगरी पुरूष व्यक्तिलाई छान्थे। छान्नुअघि त्यस्ता व्यक्तिहरूको व्यक्तिगत विवरण खोजी गर्थे।

कुनै मानिसबाट रकम असुली गर्नुपरे ती व्यक्तिमाथि सुरूमा निगरानी राख्ने, त्यसपछि उनीहरूको घर, ठेगाना, कार्यालय तथा सवारीसाधनको समेत विवरण पत्ता लगाउने गरेको प्रहरीले जनाएको छ। ती विवरणहरू एउटा डायरीमा लेखेर राख्थे।

त्यसरी चिनजान गरेर ती दुबै किशोरीले कुनै रेष्टुरेन्टमा बोलाउने गर्थे। रेष्टुरेन्टमा भेटघाट गरेपछि भने आफूहरूमाथि पुरूषले जबरजस्ती गरेको भन्दै हल्लाखल्ला गर्थे।

‘दुई जना केटीहरूले रेष्टुरेन्टमा बोलाउने गर्थे। त्यसपछि त्यहाँ उनीहरूले आफूहरूमाथि जबरजस्ती गर्न खोजेको भन्दै होहल्ला गर्ने गर्थे,’ कोइरालाले भने,’त्यसपछि पासाङ, निमा, सञ्जिब लगायतहरू हाम्रा बहिनीहरूलाई के गर्न खोजेको भन्दै धम्क्याउने रहेछन्।’

त्यसरी ब्ल्याकमेल गरेर मानसिक दबाबमा पारी उनीहरूले रकम असुली गरिरहेको प्रहरीको भनाइ छ।

पक्राउ परेका सबैमाथि आपराधिक विश्वासघातको कसूर अन्तरगत कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ ।