प्रत्येक डेंगु सङ्क्रमितसँग लक्षणको अलावा म एउटा अर्को प्रश्न गर्ने गर्दछु – घरमा अरू सङ्क्रमित भइसके ? अनि बिरामीबाट तत्काल प्रतिक्रिया आउँछ, ‘के डेंगु सर्छ डा‘साब ?’
दुई वर्ष भन्दा बढी हामी कोभिडको समस्यासँग जुध्दै आइपुग्दा ‘कोभिड ह्यङ’ अझै गइसकेको छैन । अझै पनि धेरै नेपाली डेंगु भाइरस कोभिड जस्तै नजिकै बस्दा सर्छ कि भन्ने प्रभाव परेको देखिन्छ । एक महिलाले लेखकलाई आफूलाई एक आफन्तले भेटेको र त्यसको भोलिपल्ट आफूलाई अचानक ज्वरो आएको र पछि बुझ्दा सो आफन्त ज्वरो आएर स्वास्थलाभ गरिरहेको भनेका थिए । र सो महिला सो आफन्तबाट नै डेंगु सरेको हुनसक्ने विश्वास गरेका थिए ।
वास्तवमा, यो सरुवा रोग हो तर मानिसबाट मानिसमा सर्ने भने होइन । सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टे सङ्क्रमित हुन पुग्दछ र ८-१२ दिनपछि अरूलाई भाइरस सार्न सक्षम हुन्छ । तर लामखुट्टे पहिले नै सङ्क्रमित रहेछ भने सो अवधि पुरा गरिसकेको हो भने टोक्दै जाँदा भाइरस पनि सर्दै जाने हुन्छ । बिरामी भएको लगभग एक हप्तासम्म सङ्क्रमितको शरीरमा भाइरस हुने र सो समयमा लामखुट्टे टोके सो लामखुट्टे सङ्क्रमित हुन जान्छ र सङ्क्रमित लामखुट्टेले मानिसलाई टोक्दा सङ्क्रमण सर्दै जाने हो । डेंगु नेपाल भरि फैलिएको भनिएता पनि त्यो काठमाडौँबाट आयातित मात्र भएको पनि हुन सक्दछ । किनभने सामान्यतया कुनै पनि ठाउँमा डेंगु फैलिएको छ भन्नको लागि डेंगु फैलाउने/सार्ने लामखुट्टे पनि अनिवार्य उपस्थिति हुनुपर्दछ । नेपालीको महान् चाड दसैँ नजिकिँदै जाँदा काठमाडौँबाट मानिसहरू आ-आफ्ना घर फर्कने छन् । हाल काठमाडौँमा डेंगुले महामारीको रूप लिइसकेको र भर्खरै सङ्क्रमित भएकाहरू पनि फर्कन सक्नेछन् । यदि सङ्क्रमित फर्कने गाउँ/ठाउँमा स्थानीय रूपमा एडीस जातको लामखुट्टे रहेछ भने पहिले सो लामखुट्टेहरू सङ्क्रमित हुने र त्यसपछिको झन्डै एक हप्ता पछि डेंगु फैलन सुरु हुन सक्ने जोखिम रहन्छ । तसर्थ स्थानीय प्रशासन वा सक्रिय युवाहरूले आफ्नो क्षेत्रमा डेंगु नफैलियोस् भन्नको लागि लामखुट्टे नष्ट गर्ने विशेष अभियान चलाउँदा उत्तम हुनेछ । अहिले नै त्यहाँ लामखुट्टेका लार्भाहरू रहेछ भने नष्ट गर्न ढिलाइ गर्नुहुँदैन । काठमाडौँमा यही गल्ती गर्दा वा चासो नदिँदा हाल डेंगुको समस्या नियन्त्रणभन्दा बाहिर गइसकेको हो ।
यो पनि
हाल परिवारमा एक पछि अर्को सदस्य डेंगु सङ्क्रमित हुने क्रम व्यापक छ । त्यति मात्र होइन विद्यालय/कलेज, व्यापारिक केन्द्र, कार्यालय, अस्पताल आदि ठाउँमा एकै पटक धेरै जना सङ्क्रमित हुने क्रम जारी छ । पछिल्लो समय विद्यार्थीहरू एक पछि अर्को सङ्क्रमित हुने क्रम पनि बढ्दो छ । कलकारखाना काम गर्नेहरू दैनिक डेंगुबाट सङ्क्रमित हुने गरेको स्वयम् त्यहाँ कार्यरत बिरामीहरू बताउने गर्दछन् । सामूहिक वा छोटो समयमा एक पछि अर्को सङ्क्रमित वा बिरामी हुँदा धेरै लाई कोभिड जस्तो सहजै सर्ने हो कि भन्ने विश्वास गरेको देखिन्छ । डेंगु खोकेर वा नजिकै बसेर वा हावाबाट सर्ने नभई विद्यालय/कलेज, व्यापारिक केन्द्र, कार्यालय, अस्पताल आधी ठाउँमा सङ्क्रमित लामखुट्टेको व्यापक प्रवेश भइसकेकोले परिस्थिति अनियन्त्रित हुँदै गएको हो । केही महिना अगाडी लामखुट्टे प्रजनन/लार्भा लाई नष्ट गर्ने जाँगर देखाएको भए अहिलेको अवस्था आउने नै थिएन ।
हालै ‘लामखुट्टे खोज र नष्ट’ गर्ने भनेर निर्णय गरेको देखिन्छ यद्यपि यसले व्यापकता भने अझै पाउन सकेको देखिँदैन । यो निर्णय आफैमा नराम्रो नदेखिए पनि तत्काल गर्नु पर्ने पहिलो काम भनेको विद्यालय/कलेज, व्यापारिक केन्द्र, कार्यालय, अस्पताल आदि ठाउँमा लामखुट्टे नष्ट गर्नु पर्ने हुन्छ । यसबाट हाल व्यापकता पाएको लामखुट्टेको सङ्ख्या न्यूनीकरण गर्न सकिने छ । लामखुट्टे न्यूनीकरण गर्नु भनेको डेंगु न्यूनीकरण गर्नु हो । डेंगु एक पछि अर्कोमा देखिने चेन ब्रेक गर्न लामखुट्टेको चेन ब्रेक गर्न अनिवार्य नै हुन्छ ।
अन्तमा, जति जति सङ्क्रमित बढ्छ, त्यति त्यति लामखुट्टे सङ्क्रमित हुने मौका पाउनेछ । र जति जति सङ्क्रमित लामखुट्टेको सङ्ख्या बढ्दै जानेछ थप मानिसहरू सङ्क्रमित हुने क्रम पनि बढ्दै जानेछ । लामखुट्टेले डेंगु सार्ने भएकोले यो सरुवा रोग हो तर मानिसबाट मानिसमा भने कोभिडमा झैँ सर्ने रोग भने होइन । डेंगु लाग्न वा फैलन लामखुट्टेको उपस्थिति अनिवार्य नै हुन्छ ।
डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।
रातोपाटि बाट लिइएको हो यो समाचार