काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौर शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज गणेश बहादुर खुलाललाई सेवाग्राहीबाट रु.५,०००।- (पाँच हजार रुपैयाँ) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०४।३१ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा काठमाडौं उपत्यका खानेपानी लिमिटेड, महांकालचौरमा सिनियर प्लम्बर पदमा कार्यरत गणेश बहादुर खुलालले खानेपानीको धारा जडान गरेबापत सेवाग्राहीसँग रु.५,०००।–घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर भएकोले निज गणेश बहादुर खुलाललाई बिगो रु.५,०००।– (पाँच हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको छ ।