गलत सिफारिसमा हस्ताक्षर गर्ने वडा अध्यक्ष लाइ मुद्धा

-


     सुचनाको हक     
     फागुन २६ गते २०७९ मा प्रकाशित


जिल्ला सर्लाही, साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको मुल्य न्यूनतम मूल्याङ्‍कन पुस्तिकामा उल्लेख भएको न्यूनतम मुल्यभन्दा कम राखी रजिस्ट्रेशन पास गराई राजस्व हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा हरिवन नगरपालिका वडा नं. १० का तत्कालीनका तथा हाल समेतका वडा अध्यक्ष शम्भु प्रसाद मैनालीले जिल्ला सर्लाही साविक हरिवन गाउँ विकास समिति वडा नं. २(ग) हाल हरिवन नगरपालिका वडा नं. १० नयाँरोड बजार अन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कित्ता नं. ३५१ को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी राजस्व हानिनोक्सानी गर्ने बदनियतका साथ गलत घरबाटो प्रमाणित गरी सोको आधारमा रु.९,३६,०००।- राजस्व रकम (सरकारी रकम) हानिनोक्सानी हुन गएकोले निज शम्भु प्रसाद मैनालीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिमको कसुरमा रु.९,३६,०००।- (नौ लाख छत्तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (३) बमोजिम सजाय हुन मागदावी लिइएको छ। 

यसैगरी प्रतिवादी गौरी कुमारीले कित्ता नं. ३५१को जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदा हुँदै उक्त कित्ता नं.को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी हरिवन नगरपालिका वडा नं. १० बाट घरबाटो प्रमाणित सिफारिस पत्र लिई सो पत्रबमोजिम पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गाको बाटो नभएको भनी न्यूनतम मूल्यभन्दा कम थैली रकम राखी हिरा कुमारी श्रेष्ठलाई बकसपत्रको लिखत पारित गरी दिएकोले रु.९,३६,०००।-राजस्व रकम हानिनोक्सानी भएको हुँदा निज गौरी कुमारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा रु.९,३६,०००।- (नौ लाख छत्तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत गर्न मागदावी लिइएको छ।

साथै, प्रतिवादी हिरा कुमारी श्रेष्ठले कित्ता नं. ३५१ को जग्गा पूर्वपश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदाहुँदै पनि उक्त कित्ता नं. को जग्गालाई खेतीयोग्य बाटो नभएको भनी न्यूनतम मूल्यभन्दा कम थैली रकम राखी गौरी कुमारीबाट बकसपत्रको लिखत पारित गरी लिई घटी राजस्व रकम तिरी सरकारी सम्पत्ति हानिनोक्सानी गरेको कार्य भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसुर भएकोले निज हिरा कुमारी श्रेष्ठलाई रु.९,३६,०००।- (नौ लाख छत्तीस हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी उक्त बिगोसमेत जफत गर्न मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।