राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) मा गत २०७९ चैत ९ गते सूचकबाट अनुसन्धान सहायकमा ५२ जनाको र चैत १० गते सहायक सूचकबाट सूचकमा ६३ जनाको बढुवा भएको विभाग स्रोतले बताएको छ । यो बढुवामा राजनीतिक सोर्सफोर्स र पैसाको व्यापक चलखेल भएको र क्षमता, योग्यता र कार्यसम्पादन मूल्याङ्कनमा अगाडि हुनेहरू बढुवा हुन नसकेको भन्दै बढुवाप्रति व्यापक गुनासो र असन्तुष्टि बढेको पीडित स्रोतले बताएको छ ।
गुप्तचर स्रोतका अनुसार सूचकबाट अनुसन्धान सहायकमा बढुवा हुनेहरूमा पुरानो २७, २९ र ३० लटका धेरै छुटेका छन् । तर, सोर्सफोर्स र घुसको चलखेलमा ३४, ३५ र ३६ लटकालाई समय नै नआई बढुवा दिइएको छ । विभागको प्रशासन महाशाखा स्रोतले दिएको जानकारी अनुसार सूचकबाट अनुसन्धान सहायक (असई)मा बढुवा हुनेहरूमा पीडित २७ लटका एक जना, २९ लटका दुई जना, ३० लटका नौ जना मात्र परेका छन । अनुसन्धान सहायकमा बढुवा हुनेहरूमा ३१ लटका तीन जना, ३२ लटका छ जना, ३३ लटका अठार जना, ३४ लटका एघार जना, ३५ र ३६ लटका एक–एक जना रहेका छन ।
यसैगरि सहायक सूचकबाट सूचकमा बढुवा हुनेहरूमा पुराना पीडित ३६ लटबाट दुई जना, ३८ लटबाट दुई जना रहेका छन । यी दुई लटबाट धेरै बढुवामा छुटेका छन र बढुवा हुने समय नै नपुगेका ४३ र ४४ लटबाट सोर्सफोर्स र घुसको चलखेलमा नेकपा (माओवादी केन्द्र) निकट १७ जनालाई बढुवा गरिएको विभाग स्रोतले जनाएको छ । विभागको प्रशासन महाशाखा स्रोतले दिएको जानकारी अनुसार सहायक सूचकबाट सूचकमा बढुवा हुनेहरूमा ४० लटबाट पाँच जना, ४१ लटबाट १७ जना, ४२ लटबाट २० जना, ४३ लटबाट ९ जना र ४४ लटबाट ८ जनाको बढुवा भएको छ ।
अनुसन्धान विभागमा भावी मुख्य अनुसन्धान निर्देशकका रूपमा हेरिदै आएका लमजुङका सहअनुसन्धान निर्देशक किशोर श्रेष्ठ र काभ्रेपलाञ्चोकका ईन्द्रबहादुर लामा अनुसन्धान निर्देशकमा बढुवा हुने लाइनमा रहेका छन । डेढ वर्ष दिल्लीस्थित दुतावासमा पोलिटिकल काउन्सिलर रहेर हाल विभागको प्रशासन महाशाखामा कार्यरत माधव प्रसाद तिमिल्सिना पनि शक्ति केन्द्रको पावरमा अनुसन्धान निर्देशकमा बढुवा हुन चलखेल गरिरहेको चर्चा छ ।
सूचक र अनुसन्धान सहायकको बढुवामा तिमिल्सिनाले बढी चलखेल गरेको गुनासो छ । काठमाडौं उपत्यकामा घरभएका काँठ क्षेत्रमा स्थायी घर भएकाहरूको चार आना जग्गा बेच्दा पनि एक करोड रूपैयाँ आउँछ, रिपोर्ट नदिइ घर पायक जागिर खाएर बसेका छन । यिनीहरूको बढुवा गर्नु हुँदैन भनेर घुस नबुझाउने काँठ क्षेत्रका गुप्तचरहरूको बढुवा यसपाली छानीछानी रोकिएको विभाग भित्र चर्चा छ ।