सुनसरी, बराहक्षेत्र नगरपालिका-१ चतरास्थित औलिया ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २६ वर्षीय अनिल बराइलीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त ज्वलर्सबाट सुनचाँदीका गरगहना चोरी भएको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चोरीमा संलग्न बराईलीलाई पक्राउ गरेको हो । साथै उनको घरकोठा तलासी गर्दा दराज पछाडी कालो झोलामा लुकाई छिपाई राखिएको चोरी भएको ६ तोला ८३ लाल सुनका गरगहना र २ सय ९७ तोलाको चाँदीका गरगहना प्रहरीले फेला पारी बरामद गरेको छ ।
उनी उपर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको छ ।