जग्गाको कित्ताकाट गर्न घुस माग्ने रमेश उपरकोटी र अभिशेक कार्की अख्तियारको फन्दामा

-


     सुचनाको हक     
     चैत्र १५ गते २०७९ मा प्रकाशित


मनमैंजुस्थित नापी कार्यालयमा कार्यरत दुईजनालाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

नापी कार्यालयका सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई टंगालबाट खटिएको आयोगको टोलीले एक लाख ७५ हजार रूपैयाँ घुस लिँदै गरेको अवस्थामा मंगलबार फेला पारेको हो ।

आयोगको टोलीले थप खानतलासी गर्दा उनीहरूबाट स्रोत नखुलेको सात लाख ६९ हजार पाँच सय रूपैयाँ र कार्कीको नाममा काटिएको १६ लाख रूपैयाँको तीन थान चेक भेटेको छ । योसँगै सर्भेक्षक उपरकोटीसँग पनि स्रोत नखुलेको एक लाख ८५ हजार तीन सय ८८ रूपैयाँ फेला परेको छ ।

उनीहरूलाई आयोगले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ । सेवाग्रहीसँग घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो 

जिल्ला काठमाडौं, नापी कार्यालय, मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्की घुस रकमसहित नियन्त्रणमा ।

जिल्ला काठमाडौं, नापी कार्यालय, मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा  सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई सेवाग्राहीबाट रु.१,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिई खानतलासी गर्दा श्रोत नखुलेको रु. ७,६९,५००।– (सात लाख उनन्सत्तरी हजार पाँच सय रुपैया) र अभिशेक कार्कीको नाममा काटिएको रु.१६,००,०००।– (सोह्र लाख रुपैयाँ) को चेक थान-३ (तीन) तथा सर्भेक्षक रमेश उपरकोटीको साथबाट श्रोत नखुलेको रु. १,८५,३८८।– (एक लाख पचासी हजार तीन सय अठासी रुपैयाँ) सहित नापी कार्यालय, मनमैंजुबाट मिति २०७९।१२।१४ गते नियन्त्रमा लिई थप अनुसन्धान भइरहेको छ ।