जिल्ला न्यायाधीशको ब्यापक सरुवा

-


     सुचनाको हक     
     श्रावण १३ गते २०७९ मा प्रकाशित


हरिश्चन्द्र ढुंगाना तनहुँ जिल्ला अदालतमा काज सरुवा थिए, उनलाई सोही जिल्ला अदालतमा राखिएको छ । त्यस्तै, महेन्द्रबहादुर कार्की काभ्रेपलान्चोकबाट सिन्धुली काज सरुवामा थिए, उनको पनि जिल्ला परिवर्तन गरिएन । मोहनराज भट्टराई रामेछापबाट काभ्रेपलान्चोकमा काज सरुवा भएको थियो, उनको पनि यथावत् राखियो । गिरीराज गौतम सिराहा जिल्ला अदालतमा दरबन्दी थियो, उनको झापा जिल्ला अदालतमा काज सरुवा भएको थियो । उनको अहिले सल्यान जिल्ला अदालतमा सरुवा भएको छ ।

आजभन्दा करिब एक वर्ष पहिला काज सरुवा भएका र अहिले सरुवामा पर्ने न्यायाधीशहरूको संख्या धेरै छ । पहुँच भएको बेला काज सरुवामा गएका न्यायाधीशहरूलाई अहिलेको न्याय परिषद्ले कैँची चलाएको छ । सुगम जिल्लामा प्रमुख जिल्ला न्यायाधीश भएकाहरूलाई पनि अहिले दुर्गमका जिल्लाहरूमा सरुवा गरेको छ ।

चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीश भएको बेला उनको कित्ताका भनिएकाहरूलाई अहिले दुर्गममा सरुवा गरिदिएको छ । वरीयता र मुद्दा फछ्र्यौटलाई समेत बेवास्ता गरेर आफूनिकटलाई सुगम र आफूनिकट नभएकाहरूलाई दुर्गममा सरुवा गरेको देखिएको छ ।

यो एक वर्षको बिचमा थुप्रैलाई काज सरुवा गरिएको छ । शंकरराज बराल बर्दिया जिल्ला अदालतमा थिए, उनको काठमाडौँ जिल्ला अदालतमा काज सरुवा भएको थियो । उनको अहिले सोही जिल्ला अदालतमा सरुवा भएको छ । तेजनारायण पौडेललाई धनुषा जिल्ला अदालतबाट म्याग्दी जिल्ला अदालतमा काज सरुवा गरिएकोमा कपिलवस्तु जिल्ला अदालतमा सरुवा भएको छ ।

कञ्चनपुर दरबन्दी भएका भरत लम्सालको मोरङ जिल्ला अदालतमा काज सरुवा भएको थियो । उनलाई अहिले कालिकोट जिल्ला अदालतमा सरुवा गराइएको छ । मुख्य न्यायाधीश रहेका यी न्यायाधीशहरू वरीयतामा पनि अगाडि भएका न्याय क्षेत्रका व्यक्तिहरू बताउँछन् ।

काज सरुवा हुनेमा भुवनसिंह थापा पनि छन् । उनलाई सर्लाही जिल्ला अदालतबाट सर्वोच्च अदालतमा तानिएको थियो, उनलाई अहिले न्याय परिषद्मा सरुवा गरिएको छ ।

शिवबहादुर रानाभाटलाई ललितपुर जिल्ला अदालतबाट सिराहा जिल्ला अदालत पठाइएकोमा अहिले सोही जिल्लामा सरुवा भएको छ । काभ्रे जिल्ला अदालतबाट ललितपुर जिल्ला अदालतमा काज सरुवा भएका सूर्यप्रसाद पराजुली पनि सोही जिल्लामा कायम छन् । सुनसरी जिल्ला अदालतमा दरबन्दी रहेका कमलप्रसाद पोखरेलको रुपन्देही जिल्ला अदालतमा काज सरुवा भयो उनलाई अहिले सर्लाही जिल्ला अदालतमा सरुवा गरिएको छ । पर्साबाट धादिङ काज सरुवा भएका रमेशप्रसाद ज्ञवालीलाई अहिले सप्तरी जिल्ला अदालतमा पठाइएको छ ।

कास्की जिल्ला अदालतबाट कपिलवस्तु जिल्ला अदालतमा काज सरुवामा परेका तेजेन्द्रप्रसाद शर्माको अहिले गोरखा जिल्ला अदालतमा सरुवा भएका छन् । जिल्ला न्यायाधीश पुनाराम खनाललाई दाङबाट मनाङ जिल्ला अदालत काज पठाइएकोमा उनलाई अहिले धनुषा जिल्ला अदालतमा तानिएको छ । काठमाडौँ जिल्ला अदालतबाट काज सरुवा गरेर दार्चुला पठाइएका कोमलप्रसाद आचार्य अहिले मोरङ जिल्ला अदालतमा सरुवा भएर गएका छन् ।

ललितपुर जिल्ला अदालतबाट कञ्चनपुर जिल्ला अदालत काज सरुवा भएका मदनबहादुर धामीलाई नुवाकोट जिल्ला अदालतमा सरुवा भएको छ । रमेशकान्त अधिकारी गोरखाबाट काज सरुवा भएर सर्लाही पुगेका थिए, उनलाई अहिले सोही जिल्ला अदालतमा कायम गरिएको छ । भीष्मराज प्रसाईं काभ्रे जिल्लाबाट धनुषामा काज पुगेका थिए, उनलाई सोही जिल्ला अदालतमा राखिएको छ । न्याय परिषद्का दिवाकर भट्ट बागलुङ जिल्ला अदालतमा थिए, उनलाई त्यही अदालतमा कायम राखिएको छ । जुम्लाबाट लमजुङ काज सरुवा भएका शिवप्रसाद खनालको त्यही सरुवा भएको छ । राजाराम उप्रेती नवलपुर जिल्ला अदालतबाट सर्वोच्चमा काजमा थिए, उनलाई न्याय परिषद्मा सरुवा गरिएको छ ।

रौतहट जिल्ला अदालतबाट काजमा कास्की जिल्ला अदालतमा पुगेका बाबुराम सुवेदीलाई डोल्पा जिल्ला अदालतमा सरुवा गरिएको छ । धनुषा जिल्ला अदालतबाट काजमा नवलपुर जिल्ला अदालतमा रहेका नन्दकिशोर प्रसाद यादवलाई बझाङ जिल्ला अदालतमा सरुवा गरिएको छ । सिन्धुली जिल्ला अदालत दरबन्दी भएका सन्तोषप्रसाद पराजुलीलाई सोलुखुम्बु काजमा पठाइएको थियो, उनलाई अहिले सुनसरी जिल्ला अदालतमा सरुवा गरिएको छ ।

मनोज श्रेष्ठको सुर्खेत जिल्ला अदालतमा सरुवा भएको छ, उनी मकवानपुरबाट त्यस जिल्लामा काज सरुवा भएका थिए । झापाबाट रामेछाप काजमा गएकी इन्दिरा शर्माको रामेछापमा नै सरुवा हुँदा बाँके जिल्लाबाट मकवानपुर काज सरुवा भएकी मनकुमारी जिएम विकको सोही जिल्लामा सरुवा भएको छ ।

यसरी सरुवा हुनुलाई न्याय परिषद्को निर्णयको आधारमा नै भएको न्याय परिषद्का सचिव देवेन्द्रराज ढकाल बताउँछन् । ‘यो हामीले चाहेर गरिएको सरुवा होइन,’ उनले भने, ‘यो भनेको परिषद्कै निर्णय हो ।’

परिषद्ले न्यायपूर्ण र समानतापूर्ण सरुवा गरेको बताउँछन् । ‘सबैलाई समान हुने गरी सरुवा भएको हो र विगतमा पनि त्यस्तै गरी नै सरुवा गर्दै आएका हौँ ।’

सुगमबाट पेलिएका यी न्यायाधीशहरू
सुगममा जिल्लाको मुख्य जिल्ला न्यायाधीश भएकाहरूलाई अहिले यो सरुवाबाट दुर्गममा पुर्‍याइएको छ । जिल्ला न्यायाधीशहरूमा वरीयतालाई पनि ध्यान दिएर सरुवा हुने गरेकोमा यो सरुवाबाट धेरैले राहत महसुस नगरेको न्याय क्षेत्रका व्यक्तिहरूले बताउँदै आएका छन् ।

जबराको पालामा काज लिएका वा उनीनिकट जस्ता देखिएका जिल्ला न्यायाधीशहरूलाई अहिले दुर्गममा सरुवा गरिएको छ । अहिलेको सरुवाको अवस्था हेरेर जिल्ला न्यायाधीशहरू अलमलमा देखिएका छ । चोलेन्द्रनिकट मानिएका एक जिल्ला न्यायाधीशले भनेका छन्, ‘हामीलाई सरुवाले अन्याय गरेको देखिन्छ । हेरी–हेरी सरुवा गरियो । सरुवामा विभेद झल्कियो ।’

सरुवामा न्यायपरिषद्ले अन्याय गरेको भन्ने न्यायाधीशहरूको संख्या ठूलै छ । अन्याय भयो भनेर जान्दा जान्दै पनि बोलिहाल्ने पक्षमा उनीहरू देखिएका छैनन् । सुगमबाट दुर्गममा पुग्नेहरूमा प्रदेशको राजधानीको जिल्ला र मुद्दाको चाप भएको जिल्लामा धेरै मुद्दा छिनिएका मुख्य जिल्ला न्यायाधीशहरू र जिल्ला न्यायाधीशहरू पनि छन् ।

सरुवाको विषयलाई निकटतासँग जोडेर हेर्ने नजिर रहेको न्याय क्षेत्रका पूर्ववत् व्यक्तिहरू बताउँछन् । तर, त्यसो हुन नहुने पूर्व प्रधानन्यायाधीश सुशीला कार्की बताउँछिन् । उनले भनेकी छन्, ‘यस पटकको त मलाई खास थाहा छैन । समाचार पनि हेरेको छैन । तर, विगतमा हेर्ने हो भनेचाहिँ नेपालमा आफ्नो मान्छे हेरेर अलिकति राजनीतिक रूपमा प्रभाव परेर सरुवा गर्ने नजिर छ ।’

मोरङ जिल्ला अदालतका ईश्वर पराजुलीलाई मुस्ताङ जिल्ला अदालतमा सरुवा गरिएको छ । चितवन जिल्ला अदालतका कोमल कुमार अधिकारीलाई सोलुखुम्बु पुगेका छन् । सरुवाको चेपुवामा परेका मध्येमा जिल्ला न्यायाधीश भरत लम्साल पनि हुन् । जिल्ला अदालत मोरङको मुख्य जिल्ला न्यायाधीशलाई कालिकोट सरुवा गरिएको छ । काठमाडौँ जिल्ला अदालतका रामचन्द्र पौडेललाई रसुवा सरुवा गरिएको छ । पाल्पाका खड्कबहादुर केसीलाई रुकुम पठाइएको छ । कैलालीका जयानन्द पनेरुलाई बैतडी पठाइएको छ । झापाका गिरिराज गौतमलाई सल्यान सरुवा गरिएको छ ।

सल्यान, बैतडी, रुकुम, रसुवा, कालिकोट सरुवा भएका न्यायाधीशहरू वरीयतामा अगाडि रहेका जिल्ला न्यायाधीशहरू हुन् । यी न्यायाधीशहरूलाई निलम्बित प्रधानन्यायाधीश जबराको कित्तामा उभ्याइएको छ ।

त्यो बेला काज सरुवा भएर सुगममा गएका जिल्ला न्यायाधीशहरूलाई पनि जबराकै कित्तामा उभ्याएर विभेदपूर्ण सरुवा गरिएको आरोप न्याय परिषद्लाई लागेको छ । निर्मला योङ्या सुनसरीबाट ताप्लेजुङ, खेमराज भट्टलाई कैलालीबाट दार्चुला, उत्तम सिलवाललाई उदयपुरबाट मनाङ पठाइएको छ । दिलकुमार बर्देवालाई झापाबाट मुगु पठाइएको छ । ढाकाराम पौडेललाई नवलपरासीबाट बाजुरा, टेकनाथ गौतम सर्लाहीबाट संखुवासभा सरुवामा परेका छन् ।

केशव चपागाईंलाई डोल्पाबाट जाजरकोट पठाइएको छ । बालकृष्ण वाग्लेलाई बाराबाट डडेलधुरा, बलराम लम्साल रुपन्देहीबाट दैलेख, शिवलाल पाण्डे कञ्चनपुरबाट डोटी सरुवा भएका छन् । मणिराम न्यौपाने रौतहटबाट भोजपुर, श्यामलाल घिमिरेलाई प्युठानबाट रुकुमकोट सरुवा गरिएको छ । खिमानन्द भुसाल कपिलवस्तुबाट रोल्पा, रुपन्देही जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्मालाई अछाम पठाइएको छ ।

सरुवामा परेका कतिपय जिल्ला न्यायाधीशहरूको एक वर्षको सेरोफेरोमा नै सरुवा भएको छ । न्याय परिषद्को निर्णयले २२४ जना जिल्ला न्यायाधीशको मंगलवा सरुवा भएको थियो ।