अवैध रुपमा सुन तस्करी गरी राजस्व चुहावट गर्ने दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । कास्की जिल्ला पोखरा महानगरपालिका १५ रामनगर बस्ने २५ वर्षीय रमेश सुनार र रुपन्देही जिल्ला सिद्धार्थनगर नगरपालिका ८ शिवमन्दिर स्थायी ठेगाना भई टोखा नगरपालिका ६ बस्ने गणेश ज्वेलर्सका सञ्चालक सुनिता बिकविरुद्ध विभागले बुधबार उच्च अदालत कास्कीमा मुद्दा दायर गरेको हो । सुनार र विकविरुद्ध ८० लाख १ सय ३० रुपैयाँ बिगो माग गरिएको छ ।
गत माघ १५ गते जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको पावरहाउस चोकबाट १ किलो ७ ग्राम काँचो सुनसहित रमेश सुनारलाई पक्राउ गरेको थियो । राजस्व छलेर अवैध रुपमा ल्याइएको उक्त सुन गणेश ज्वेलर्सका सञ्चालक सुनिता बिकको रहेको राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार गत माघ १५ गते पोखराको पावरहाउस चोकबाट एक हजार ७.७० ग्राम सुन सहित रमेश सुनार पक्राउ परका थिए । उक्त सुनमा टोखामा रहेको गणेश ज्वलर्सका सञ्चालक सुनिता बिकको पनि संलग्न रहेको पाईएको छ । उनीहरु दुबैजनाले सुनको अवैध ओसार पसार गरि राजस्व चुहावट गरेको विभागको आरोप छ ।
राजस्व अनुसन्धान विभागका अनुसार बरामद भएको उक्त पहेँलो धातु परिक्षण गर्दा सुन रहेको र शुद्धता ९९९.९ भएको सुन भएको नदेखिएको थियो । चोरी पैठारी भएको सुनलाई गालेर अवैध ओसार पसार गरिएको, बैंक तथा दर्ता रहको फर्मबाट सुन खरिद नगरी अन्यन्त्रैबाट सुन चोरी पैठारी गरि बैधानिकबाट काँचो सुन खरिद गरिएको प्रमाण पेश गर्न उनीहरुले नसकेको विभागको भनाई छ ।