टुकुचा खोला बारे नापी विभागका पुर्वनिर्देशक मरहठ्ठा संगको कुरा कानी

-


     सुचनाको हक     
     कार्तिक १७ गते २०७९ मा प्रकाशित


– राजेन्द्र मरहठ्ठा, पूर्वनिर्देशक, नापी विभाग

०४९ सालमा गिरिजाप्रसाद कोइरालाका कारण झण्डै ३ सय कर्मचारीले एकै पटक जागिर गुमाए, जसमध्येका हुन् ईश्वर मरहठ्ठा, उनी नापी विभागका निर्देशक थिए, सीमाविद् बुद्धिनारायण श्रेष्ठचाहिँ डिजी । हटाइएकामध्ये अधिकांश कर्मचारी मुद्दा मामिला गरेर जागिरमा फर्किए पनि बुद्धिनारायण र ईश्वरहरू त्यता गएनन् । बरु जागिरबाट हटेपछि भूमिचित्र कम्पनी खोले बानेश्वरमा । यसले जग्गा नापनक्साको काम गर्छ, जसको अध्यक्ष उनै बुद्धिनारायण छन् । ०२१ सालमा सर्भेयरबाट निजामती सेवामा पाइला राखेर ०४९ सालदेखि रिटायर्ड भएका उनी ल्याण्ड भ्यालुएसन र कित्ता नापीका विज्ञको रूपमा परिचित छन् । जागिरे जीवनको आधा उमेर भाइस प्रिन्सिपलको रूपमा नापी तालिम केन्द्रमा बिताएका मरहठ्ठाको समूहले ३१ सालमै लालदरबार आसपास टुकुचा गायब भएको तथ्य पत्ता लगाएको थियो र त्यहाँ नापनक्सांकनको कामसमेत गरेको थियो । गिरिजा लागेरसरकारी जागिरबाट हात धुनुपरेपछि ईश्वरले दुई सन्तानलाई ‘बरु मागेर खाऊ तर सरकारी जागिर नखाऊ’ भनी त्यस क्षेत्रमा प्रवेश गर्न दिएनन् ।

– हरि गजुरेल

तपाईंकै अग्रसरतामा ०३२ सालमै लालदरबार, नारायणहिटीलगायतका स्थानमा जग्गा नापीको काम सम्पन्न भयो । त्यसबेला त्यताको टुकुचा किन दबाइएको रहेछ ?

– उत्तरपट्टि श्री ५ को, त्यसको दक्षिणपट्टि श्री ३ को सम्पत्ति । लालदरबार एक किसिमले राणाहरूको क्याबिनेट, त्यसको उत्तरमा राजदरबार अर्थात् नारायणहिटी । सामान्य ढंगले हेर्दा टंगालबाट नीलसरस्वती हुँदै राजदरबारको उत्तरी बाटोसम्म टुकुचा खुल्लै छ । दरबारको कम्पाउण्डभित्र छिर्दासम्म टुकुचा देख्न सकिन्छ तर त्यहाँबाट त्यो गायब भएर एकैपटक कमलादीमा देखिन्छ । लालदरबारको पूरा भागमा टुकुचा विलिन छ । मलाई लाग्छ, त्यतिबेला श्री ३ हरूले राष्ट्रिय नीति नै बनाएर टुकुचालाई अण्डर ग्राउण्ड गराएको हुनुपर्छ । अहिले टुकुचालाई खुल्लै राख्ने वा अण्डरग्राउण्ड गर्ने भन्ने विषय जोडतोडसाथ उठिरहेको छ । यो विषयमा राष्ट्रले नै स्पष्ट नीति लिनुपर्छ । राज्यले स्पष्ट नीति अख्तियार गरेपछि मात्र नगरपालिकालाई एक्जुकेसनका लागि दिनुपर्छ ।

राज्यले के गर्दा उपयुक्त हुन्छ ?

– तत्कालीन परिस्थितिमा अण्डरग्राउण्ड गर्दा उपयुक्त थियो होला । त्यो समयमा श्री ३ को अगाडि श्री ५ को केही जोर चल्दैनथ्यो । अहिले १८ फिट तलसम्मबाट टुकुचा बगेको देखिन्छ । पहिला पो खोला शुद्ध थियो । खोलालाई अण्डरग्राउण्ड गरेर माथि बस्ती बसाल्दा उपयुक्त हुन्थ्यो । त्यतिखेर धेरै खोलाको पानी जमिनमा सोसिन्थ्यो तर अहिले स्थिति त्यस्तो छैन । अहिले शहर केमिकलाइज भइसक्यो । घर–घरबाट निस्केको फोहोर खोलामा फाल्ने परिपाटी आयो । भोलि केमिकल बढी भएर विष्फोट भएको खण्डमा त्यसको जिम्मेवार को ? हुन त हनुमन्ते खोलालेझैं अहिलेसम्म टुकुचाले उपद्रो मच्चाएको थाहा छैन । हनुमन्तेले त ठिमीको धेरै क्षेत्र डुबाएको सुनिन्थ्यो तर टुकुचाले त्यसरी कतै डुबाएको पाइन्न ।

०३२ सालमा तपाईं आफैं नापी अधिकृतको रूपमा खटिँदा टुकुचाको खोजी गरियो त ?

– ०२१ सालमा कोर एरियाको नापी भएन । ०३२ सालमा नापी गर्न जाँदा राजदरबारबाट गायब भएको टुकुचा एकै पटक कमलादीमा भेटिएपछि तत्कालीन डिजी अर्जुनबहादुर बस्नेतलाई जानकारी गरायौं । उहाँले मालपोतमा दर्ता भइसकेकोले सतहमा कुनै चिज देखिएन भने कित्ताको मात्र नापी गर्नू भन्नुभयो । कित्ता नापी गर्दा बाउण्ड्री लाइन र डिरेक्सन हेर्ने हो । टुकुचाको न त बाउण्ड्री लाइन नै देखिन्थ्यो न त कुन कित्ता हुँदै जाने देखिन्थ्यो । त्यतिखेर सतहको मात्र नापी गर्ने कुरा भयो । उता राजदरबार कम्पाउण्डलाई एउटा कित्ता मानेर नापी भयो ।

तपाईंलाई ०३२ सालमा नापी गर्न जाँदा लालदरबारभित्र पस्न दिइएन भन्ने सुनिएको थियो, वास्तविकता के हो ?

– राजदरबारमा इन्क्वायरी गर्न जानै परेन, लालदरबारका धेरै जग्गा व्यक्तिगत भइसकेका थिए । व्यक्तिगत जग्गामा ननाप्ने कुरै भएन । कतै डिप्लोम्याटको कार्यालय छ वा तिनीहरू बसेका छन् भने बाहिरबाटै नाप्ने हो । जस्तो ः आर्मी हेडक्वार्टर, राजदरबारको हकमा डिटेल नापिँदैन । त्यतिबेला निषेधित क्षेत्र कमै थिए । राणाहरूले आफ्नो सम्पत्ति बेचबिखन गरेपछि मालपोतबाट लिगल प्रोसेसमै व्यक्तिको हातमा पुगेको जग्गा हो ।

नक्सा नै नभएको लालदरबारमाथि टुकुचाको जग्गा नापी कसरी सम्भव भयो त ?

– नक्सा बनेकै थिएन, ०३२ सालमा पहिलो पटक नापी भएको । ०२१ सालमा नापीमा खटिँदा यी क्षेत्रलाई कोर एरिया भनेर छोडिएको । त्यतिबेला नापीमा डाइरेक्टर ब्रिटिश थिए । ०३२ सालमा म पाँचथरबाट फर्किएपछि ठमेल, असन, इन्द्रचोक, जैसीदेबललगायत र टुकुचा अण्डरग्राउण्ड भएर बग्ने राजदरबार, लालदरबारलगायत ठाउँको नापी भएको हो ।

लालदरबारमा चार सय मीटर लामो सुरुङ बनाइनुको कारण लाश दबाउन वा मारकाटबाट आफू भाग्न हो भन्नेहरू पनि छन् । कोतपर्व, भण्डारखाल पर्वमा झैं भाग्नका लागि सुरुङ बनाइएको भन्ने तर्कमा कत्तिको दम देख्नुहुन्छ ?

– हुन सक्छ । आजभन्दा १३५ वर्षअगाडि पुरिएको भाग हो । यो विषयमा जान्ने÷बुझ्ने हुनका लागि कम्तीमा १५० वर्ष जीवित मान्छे भेटिनुपर्छ, त्यो सम्भव छैन । अहिले हामीले सुन्ने उही दन्त्य कथा मात्र हो । इतिहासकारले गर्भमा गएर यसको रहस्य खोज्न सक्छन् । मलाई नापीका त्यतिखेरका हाकिम अर्जुनबहादुर बस्नेत (उहाँको दाजु सिंहबहादुर बस्नेत, त्यतिखेरका प्रधानसेनापति) ले भन्नुभएको थियो, यो थापाथली दरबारपछिको सेन्सिटिभ क्षेत्र हो । जसरी विदेशमा दरबारहरू बन्दा भाग्नका लागि तलतिर सुरुङहरू निर्माण भएको हुन्छ उसैगरी नारायणहिटीमा पनि टावरको मुनी हात्ती नै पास हुने खालको सुरुङ निर्माण भएको थियो ।

राजाहरूको खोपीबाट सिधै पास हुने इमरजेन्सी बाटो त्यहाँ थियो । राजदरबारमा त त्यस्ता सुरुङ थिए भने श्री ३ हरूले लालदरबारमा त्योभन्दा खतरा सुरुङ निर्माण नगरे होलान् भन्न सकिन्न । उसै पनि श्री ५ कहाँ भन्दा पनि श्री ३ कोमा अनेकन पर्व (भण्डारखाल, कोतपर्व) सुनिएकै हो । त्यही कारण लालदरबार क्षेत्रमा नीति नै बनाएर टुकुचालाई पुरिदिएको पनि हुन सक्छ । उनीहरूसँग बोल्ने कसको हिम्मत थियो र त्यतिखेर ? श्री ३ सँग बोल्ने श्री ५ को त क्षमता थिएन भने सर्वसाधारणले बोल्न सक्ने कुरै भएन । ०३२ सालमा नापी भइसकेपछि केही एरिया मिचिएको हुन सक्छ । एकै फिटमात्र मिच्न पाए पनि पचास स्क्वायर फिट (झन्डै २ दाम) जग्गा आयो नि !

टुकचासँग जोडिएको दरबारको इतिहासलाई कसरी स्मरण गर्नुहुन्छ ?

– कमलादीबाट टुकुचा निस्किएर आयो । पहिला राजदरबारको वालमा डण्डीहरू राखिएको थियो र टुकुचा देखिन्थ्यो । अहिले त्यहाँ टुकुचा देखिँदैन । खोतल्ने काम त इतिहासविद्हरूको हो । यसलाई अध्ययन गर्ने हो भने भेटिन सक्छ । पक्कै पनि साढे चार सय मीटर लामो सुरुङ एकै पटक वा एकै रातमा बनेको होइन होला । टुकुचालाई नारायणकालीन इञ्जिनियरहरूको मास्टरपिस मान्न सकिन्छ । अहिलेको इञ्जिनियरिङ कन्स्ट्रक्सन २५ देखि ३० वर्ष टिक्दैन तर एक सय ३५ वर्षसम्म त्यो सुरुङ टिकेर बसेको देखिन्छ । त्यतिखेर टेक्नोक्रयाटहरू बाहिरबाटै ल्याएर बनाइएको हुन सक्छ ।

नापी–नक्सामा गायब टुकुचालाई महानगरपालिकाले कसरी खाली गराउन सक्ला त ?

– तत्कालीन सरकारले नीति बनाएरै अण्डरग्राउण्ड गरेको हो भन्ने लाग्छ । अहिले महानगरपालिका एक्लैले चाहेर टुकुचामाथि बनेका संरचना खाली गर्न सक्दैन । विकृत राजनीति भएको हाम्रोजस्तो मुलुकमा बालेनजस्तो स्वतन्त्र मेयरलाई मान्छेहरूले अनेकन ढंगले गलत प्रयोग गर्न सक्छन् । करिडोरको नीतिमा जाने हो भने राज्यले प्लान बनाइदिनुपर्छ । करिडोर नबनाइकन टे«न्च मात्र बनाएको खण्डमा खतराको घण्टी बज्छ । यो बाग्मती, विष्णुमतीजस्तो क्षेत्र पनि होइन । टुकुचा कोर एरिया भएर बग्छ । यसमा जोडिएकाहरूलाई कसरी मुआब्जा दिने ? यहाँ जोडिने डिम्लोम्याटहरूलाई कसरी उठाउने ? यो गम्भीर सवाल हो ।

अमेरिकन एम्बास्डर बसेको घरैबाट टुकुचा बग्छ । करिडोर बनाइएको खण्डमा त्यो रेसिडेन्स ढल्छ । टुकुचालाई खुला राख्ने वा अण्डरग्राउण्ड गर्ने ? के गर्दा दीर्घकालीन फाइदा हुन्छ र असर हुँदैन ? गम्भीर बहस गरिनुपर्छ । टुकुचासँग काठमाडौं महानगरपालिका, तारकेश्वर र बूढानीलकण्ठ गरी तीनवटा नगरपालिका जोडिन्छन् । ती नगरपालिका आ–आफ्नै नीति बनाएर चलिरहेका छन् । यसको हकमा राज्यले नै एउटा नीति लिएको खण्डमा एकरूपता आउन सक्छ । राजदरबारबाट तीन सय फिटसम्म घर तथा जग्गा किनबेच गर्नुपर्दा शुरुमा स्वीकृति लिनुपथ्र्याे । दरबारबाट स्वीकृति पाएपछि नगरविकास हुँदै नगरपञ्चायतबाट पास हुन्थ्यो । यसैबाट पनि त्यहाँ राज्यको इन्भल्भमेन्ट भएको देखिन्छ ।

१३५ वर्ष पुरानो सुरुङमाथि अहिले राजनीति शुरु भएको हो ?

– त्यतिखेर अण्डरग्राउण्ड पार्किङ गर्नुपर्दा टुकुचाको ट्रेस आउट नै भएन होला । अहिले जग्गा पास गर्दा अण्डरग्राउण्ड पार्किङ गर्नुपर्ने भएकाले ट्रेस आउट गर्न थालियो । १२ फिट पार्किङका लागि, सातदेखि आठ फिट तल जगमा जानुपर्दा टुकुचाको फुटिङ भेटिएको हुनसक्छ । यसलाई कसरी बाहिर ल्याउने ? सबैले खोलालाई अण्डरग्राउण्ड गरेर माथि घर बनाउन पाउने हो त ? अहिले यो पेचिलो प्रश्न बनेर उब्जिएको छ । त्यही कारण त राज्यले यसमा एकै खालको नीति अख्तियार गर्नु जरुरी देख्छु ।

ओली सत्तामा हुँदा कालपानी, लिपुलेकको नक्सा जारी भयो । कतिपयले यसलाई नक्कली प्रचार भने, लामो समय नापी विभागमै रहनुभएको नाताले के भन्नुहुन्छ ?

– नक्सा पेपरमा आयो तर व्यवहारमा आएन । पेपरमा मात्र नक्सा ल्याएर त्यो भूभाग हाम्रो भयो त ? उसै पनि हामी भारतसँग पांैठेजोरी खेल्न सक्दैनौं । त्यो सम्पत्ति हाम्रो हो । जंगबहादुरले धान खेत छैन भनेर बाँके फिर्ता लिएको होइन ? कन्भिन्स गराउन सकेको खण्डमा फिर्ता लिन सक्ने रहेछ भन्ने उदाहरण हो त्यो तर हाम्रा नेताहरूमा त्यो गुण देखिएन । यस्तो चिजमा लामो समयसम्मको भिजन चाहिन्छ । राष्ट्रियताको सन्दर्भमा सबै पार्टीको एउटै नीति हुनुपर्छ । नापी विभागले त रेकर्ड राखिदिनेसम्म न हो । उसले इन्टरफेयर गर्न त सक्दैन । सार्वभौम मुलुकलाई सार्वभौम बनाउने त राज्यको नीतिले हो । नेता र नेतृत्वको अग्रसरताले हो, यो दाजु भाइ र घरको अंशको मुद्दाजस्तो होइन ।

जग्गा नापीको सिलसिलामा जिल्ला–जिल्ला खट्दाका तीता अनुभव केही छन् ?

– पाँचथर जिल्लामा जाँदा अलि असहज महसुस गरियो । त्यो त्यसै पनि अप्ठ्यारो र पद्मसुन्दर लावतीहरूको ठाउँ । नापीको सिलसिला चलिरहेको थियो । लावतीले नजिकैको खोला देखाएर भन्नुभएको थियो, ‘पृथ्वीनारायण शाहको पालामा दुई जनालाई चटक्कै काटिएको ठाउँ हो त्यो ।’ सिधै त होइन, उहाँले घुमाउरो ढंगले दबाब दिनुभएको थियो ।

तपाईं अहिलेको जग्गाको डिजिटलाइजेसन प्रक्रिया नै गलत छ भनिरहनुभएको छ, कारण के हो ?

– हाम्रो कित्ता नापी विश्वकै राम्रोमध्येको मानिन्छ । भूमि व्यवस्था र नापी समानान्तर रूपमा जान सकेन भने भद्रगोल शुरु हुन्छ । डिजिटलाइसेनको बेस त उही पुरानै हो । एज म्यापिङ नमिल्दा धेरै ठाउँमा समस्या देखिएको छ । त्यसको मार मालपोतको रेकर्डमा पर्छ । डिजिटलाइट गरेकै गलत भइरहेको छ । पुरानो नक्सा छोडियो । फिल्डमा सोझै भएको नक्सा पनि डिजिटलाइट गर्दा बांगो कहाँबाट आइरहेको छ ? जग्गा यति विध्न महँगो छ ।

कित्ताकाट हुँदा भोलि लिने र दिनेबीच लफडा पर्ने भयो । जग्गाको रजिष्ट्रेसन हुने स्थान मालपोतमा जाँदा नापीलाई देखाएर पन्छिने, नापीमा जाँदा मालपोतलाई देखाएर पन्छिने स्थिति रह्यो भने मारमा पर्ने जनता हुन् । अहिले डिजिटलाइट फर्मको नक्सा जनतालाई चाहिएको हो कि सरकारलाई ? ०२१ सालको नापी ५० वर्षमा काम लागेन भन्दैछौं । ५० वर्षको दौरानमा यसको हालत पनि उही होला नि ! यही प्रक्रियाबाट जग्गा नापी गर्ने हो भने अबको ५० वर्षपछि पुरानो सकिसक्छ, नयाँबाट पनि केही चल्दैन ।