डिएसपीद्वारा हिरासतमा रहेका बन्दीमाथि निर्घात कुटपिट

-


     सुचनाको हक     
     जेठ २४ गते २०८० मा प्रकाशित


इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रेशम बोहरामाथि हिरासतभित्र रहेका बन्दीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोप लागेको छ । 

आफू मातहतका इन्स्पेक्टर प्रकाश पौडेललाई खटाएर उनले बन्दीहरूलाई निर्घात कुटपिट गराएको पीडितहरुले बताएका छन् । हिरासतभित्रै कुटिएका घाइते बन्दीलाई उपचारका लागि शीर मेमोरियल हस्पिटलमा भर्ना गरिएको छ । 

केही समयअघि बनेपाको रोयल लन्चबारमा शुक्र लामाको समूह र युवाहरूबीच भएको सामान्य झडपलाई लिएर प्रहरीले कालीकुमार लामा, दिपेन्द्र नेपाली, रमेश शाही ठकुरी, दिपेन्द्र नेपाली, मनोज लामा र विजयी लामालाई पक्रेको थियो । सामान्य झडपमा शुक्र लामाको सेटिङमा आफ्ना आफन्तलाई मात्रै एकतर्फी पक्रेर ज्यान मार्ने उद्योगको मुद्दा चलाउन खोजेको र मुद्दा ठहर नहुने भएपछि प्रहरी लगाएर कुटपिट गरेको हिरासतमा रहेका बन्दीका परिवारको आरोप छ ।

स्रोतका अनुसार डिएसपी बोहरालाई केही राजनीतिक दलका नेताहरूले दबाब दिएपछि बन्दीहरुलाई आफ्नै कार्यकक्षमा बोलाएर उनले इन्स्पेक्टर पौडेललाई कुट्न निर्देशन दिएका थिए । यस विषयमा काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक चक्रराज जोसीसँग कुरा गर्दा उनले प्रहरीबाट कमजोरी भएको स्वीकार गरेका छन् । 

घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका उनले भने, ’कसले कुन नियतले घटना गराएको हो, त्यसको निष्पक्ष छानबिन गरेर आवश्यक कारबाही गर्छौँ ।’

तर, डिएसपी बोहराले भने प्रहरी इलाका कार्यालयमा त्यस्तो कुनै घट्ना नै नभएको दाबी गर्दै उम्कने प्रयास गरेका छन् । कुटपिट नगरे कानबाट कसरी रगत आयो ? किन हस्पिटल पुर्याइयो ? भनेर प्रश्न गर्दा नाजवाफ भएका उनले थप कुरा गर्न चाहेनन् ।