डीएसपी ले नै खिचे महिलाको अश्लिल फोटो

-


     सुचनाको हक     
     फागुन १४ गते २०८० मा प्रकाशित


महिलाको अश्लिल तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसीले प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरेको पाइएको छ।

प्रहरी वृत्त स्वयम्भूको हिरासतमा रहेका केसीले ड्युटीमा खटिएका प्रहरीलाई झुक्याएर फोन फर्म्याट गरेको पाइएको हो। प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनमा समेत उल्लेख गरी सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।

उक्त प्रतिवेदनका अनुसार डिएसपी केसीले फागुन ८ गते (मंगलबार) बेलुकी सवा ७ बजे आफ्नो श्रीमतीको सम्पर्क नम्बर निकाल्नु पर्‍यो भनेर ड्युटीमा रहेका प्रहरी सहायक निरीक्षक रामबाबु राय यादवलाई भनेका थिए। 

केसीले भनेका थिए,‘मैले गरेका गल्तीबारेमा विभिन्न पत्रपत्रिकामा आइ नै सक्यो। मेरो फेसबुक आइडीबाट मेरो तथा परिवारको फोटोहरू तानेर फोटोसहित मिडियामा हाल्न सक्‍ने हुँदा मेरो व्यक्तिगत पहिचान गोप्य राख्न फेसबुक प्रोफाइल डिएक्टिभेट गर्नुपर्‍यो।’

यसरी अनुरोध गरेपछि सशस्त्र प्रहरी बल नम्बर ४ बाहिनी पोखरामा कार्यरत रहेका डिएसपी भएकाले विश्वास गरी प्रहरी सहायक निरीक्षक यादवले उनलाई मोबाइल दिएका थिए। तर डिएसपी केसीले सम्पूर्ण डाटा र प्रमाणहरू नष्ट गर्ने मनसायले बदनीयतपूर्वक मोबाइल फर्म्याट गरेको प्रहरीको प्रतिवेदनमा उल्लेख छ। 

डाटा नष्ट भएपछि प्रहरीले रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा परीक्षण गराएको पाइएको छ। 

डिएसपी केसीले फागुन ५ गते काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित न्यु इभन पोइन्ट रेष्टुरेन्टमा राति सवा ९ बजेतिर शौच गर्न गएकी एक महिलाको फोटो खिचेको भन्‍दै पीडितले जाहेरी दिएकी थिइन्। उक्त जाहेरीपछि प्रहरीले केसीलाई पक्राउ गरी अनुसन्धान गरेको हो।

यद्यपि सरकारी वकिल कार्यालय स्रोतका अनुसार अदालतमा पेश गरिएको प्रमाण फर्म्याट गर्नुअघि नै प्रिन्‍ट निकालिसकेको पाइएको छ। 

‘त्यो गर्नुअघि नै प्रिन्टहरू निकालिएको छ। त्यसैले प्रमाण नै नष्ट भएको भन्न मिल्दैन,’ स्रोतले भन्यो, ‘फर्म्याट भएको भन्ने विषय पनि हेर्दैछ।’

काठमाडौं जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले आइतबार मुद्दा दर्ता गरेको थियो।

मुलुकी अपराध संहिता, २०७४ को दफा १२१ अश्लिल किताब, पर्चा इत्यादि बनाउन वा बिक्री गर्न नहुने कसुरमा मुद्दा दायर गरेको थियो। 

उक्त कसुर अनुसार एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनसक्ने  व्यवस्था छ।

यद्यपि सोमबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको सरकारी वकिल कार्यालयले जानकारी दिएको छ।