रुपन्देही जिल्लाको कञ्चन गाउँपालिकामा हिजो बिहान अन्दाजी २:०० बजेको समयमा दुई किशोरीमाथि १४ जना व्यक्तिहरूले सामूहिक बलात्कार गरेका छन् ।
रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्याम अर्यालका अनुसार गाउँमा भइरहेको सांस्कृतिक कार्यक्रम हेरेर फर्किँएका दुई युवतीमाथि चिनेजानेकै युवाहरूको समूहले सामूहिक बलात्कार गरेका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी स्रोतका अनुसार अहिलेसम्म बलात्कारमा संलग्न भएको आरोपमा सैनामैना नगरपालिका-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्की सहित ९ जना युवाहरू पक्राउ परिसकेका छन् अझै चार जना फरार छन् । पक्राउ परेका केही नाबालिग (१८ वर्षभन्दा कम) उमेरका रहेको स्रोतले बतायो ।
भोली आरोपितहरूलाई सार्वजनिक गरिने भएकाले डिएसपी अर्यालले धेरै कुरा बताउन चाहेनन् । टेलिफोन सम्पर्कमा अर्यालले भने ‘केही व्यक्तिहरू पक्राउ परेका छन् केही बाँकी छन् । सबैकुरा भोली सूचनामार्फत सार्वजनिक गर्नेछौं ।’
बलात्कृत युवतीमध्ये एकजना १८ वर्ष र अर्को १९ वर्षको भएको बताइएको छ । अपुष्ट समाचार अनुसार घटना बेग्लाबेग्लै स्थानमा भएका हुन् । एकजना युवतीलाई देउराली सामुदायीक वनमा लगेर सामूहिक बलात्कार गरिएको हो भने अर्की किशोरीलाई कञ्चन गाउँपालिका-२ मै बलात्कार गरिएको हो ।
दुवै किशोरी सांस्कृतीक कार्यक्रम हेरेर सँगै फर्किएका थिए वा थिएनन् भन्ने कुरा पुष्टि गर्न सकिएको छैन । युवतीहरूको अवस्था के छ भन्ने थाह हुन सकेको छैन ।