जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज लेखा अधिकृत शेखर ढकाललाई सेवाग्राहीबाट रु.२००,०००।–(दुई लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०८०।०३।२२ गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालले सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मोरङ र वडा कार्यालयहरुमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि सेवाग्राहीसँग रु.२००,०००।- (दुई लाख रुपैयाँ) घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज लेखा अधिकृत शेखर ढकाललाई बिगो रु.२००,०००।–(दुई लाख रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जरिवानाको सजाय र ऐ.ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद सजाय हुन मागदावी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।