दैलेखको भगवतीमाई गाउँपालिकाले कार्यालय प्रमुख र सूचना अधिकारीलाई अभिमुखीकरण तालिम दिएको छ । आम नागरिकले माग्ने सूचनालाई प्रभावकारी बनाउन पालिकाले कार्यालय प्रमुख र सूचना अधिकारीलाई तालिम दिएको हो
भगवतीमाई गाउँपालिकाको आयोजना, राष्ट्रिय सूचना आयोगको सहजीकरण तथा नवप्रवर्द्धन साझेदारी कोष (IPF) प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा “व्यावसायिक कृषि, पशुपालन र पूर्वाधार, समृद्ध भगवतिमाई गाउँपालिकाको आधार” भन्ने नाराका साथ सार्वजनिक निकायका कार्यालय प्रमुख र सूचना अधिकारीलाई सूचनाको हक सम्बन्धी अभिमुखीकरण शनिवार गाउँपालिकाको सभा हलमा सम्पन्न गरिएको भगवतिमाई गाउँपालिकाका सूचना अधिकारी प्रेमबहादुर खड्काले जानकारी दिए ।
कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त माननिय रत्नप्रसाद मैनालीले कस्ता निकायहरू सार्वजनिक निकाय हुन, सार्वजनिक निकायको दायित्व के हो, सूचना अधिकारीको व्यवस्था र सूचना प्रवाह किन गर्नुपर्छ, राष्ट्रिय सूचना आयोगको काम कर्तव्य र अधिकार, सूचनाको संरक्षण र दुरुपयोग, सूचना दिँदाको प्रक्रिया, सूचना दाताको संरक्षण, सूचना नदिएमा हुनसक्ने सजाय र क्षतिपूर्तिको बारेमा सहभागीहरूलाई जानकारी दिएका छन् ।
अभिमुखीकरण कार्यक्रमको बारेमा प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले सार्वजनिक निकायका काम कार्यवाही प्रभावकारी कार्यान्वयनको लागि सुशासनको महत्त्व रहेकाले सार्वजनिक निकायका हरेक कामको निगरानी सँगै सूचनाहरू आम नागरिक सामु पुर्याउनको लागि यो कार्यक्रम गरिएको बताए । उनका अनुसार सार्वजनिक सूचना लुकाएर कसैलाई फाइदा हुँदैन सूचनाहरू कुनै पनि नागरिकले मागेको खण्डमा दिनुपर्छ । कहिलेकाहीँ पालिकामा सूचना माग्नेले प्रयोजन नखुलाई अस्पष्ट सूचना माग गर्दा दिन नसकिएको उनले भने अब भगवतीमाई गाउँपालिका भित्रका सार्वजनिक निकायले सूचना अधिकारीको व्यवस्था गरेको हुँदा सूचना दिन कठिनाइ नहुने बताए
कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता गणेशप्रसाद शर्मा, वडा नम्बर २ का सचिव राजु वि.क. लगायतले यस्ता तालिमले कर्मचारी जनप्रतिनिधिहरूलाई साक्षर बनाउने हुनले बेला बेलामा यस्ता कार्यक्रम हुनुपर्ने धारण राखेका थिए
गाउँपालिकाको निमन्त्रणमा काठमाडौंबाट पालिकासम्म आउनुभएका सूचना आयुक्त र कार्यक्रममा सहभागिहरुलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गाउँपालिकाका उपाध्यक्ष मिना कुमारी खड्काले गरेकी थिइन् ।
भगवतीमाई गाउँपालिकाले गाउँपालिका भित्रका सबै सामुदायिक / निजी विद्यालय तथा सहकारीहरूलाई सूचना अधिकारी तोक्न भन्दै सूचना जारी गरेपछि ३४ वटा विद्यालय र ३ वटा सहकारीहरूले सूचना अधिकारी तोकिसकेका छन् । पालिका भित्र २७ वटा सहकारी छन् जसमध्ये ३ वटाले सूचना अधिकारी तोकेको जानकारी गाउँपालिकामा पठाएका छन् सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ६ को उपदफा (१) मा भएको सार्वजनिक निकायले आफ्नो कार्यालयमा रहेको सूचना प्रवाह प्रयोजनको लागि सूचना अधिकारी तोक्न गाउँपालिकाले फागुन २३ गते सूचना जारी गरेको जनाइएको छ । त्यही अनुसार शनिवार १०० जना भन्दा बढीको सहभागितामा कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमका सहभिगिहरुले प्रत्येक सार्वजनिक निकायहरूले सूचना अधिकारीको व्यवस्था गर्ने, सूचना अधिकारीको विवरण सबैले देखिने स्थानमा राख्ने, सबै सार्वजनिक निकायमा नागरिक बडापत्र राख्ने, ३/३ महिनामा स्वतः प्रकाशन सार्वजनिक गर्ने, वार्षिक प्रगति पुस्तिका तयार गरी सार्वजनिक गर्ने र प्रत्येक सार्वजनिक निकायले प्रत्येक वर्षको पहिलो चौमासिक अवधिमा सामाजिक परीक्षण गरिसक्ने प्रतिबद्धता जाहेर गरेका छन् । गाउँपालिकामा सूचना प्रवाह सहज बनाउन डिजिटल बडापत्र समेत राखी सकिएको छ ।
गाउँपालिका प्रमुख गणेश बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सूचना आयुक्त रत्न प्रसाद मैनालीको प्रमुख अतिथ्यता रहेको थियो , पालिका उपप्रमुख निना कुमारी खड्का, पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्का, सूचना अधिकारी, हेल्थ पोस्टका प्रमुख, सूचनाअधिकारी, संचारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ l