नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर

-


     सुचनाको हक     
     असार २५ गते २०८१ मा प्रकाशित


जिल्ला डडेलधुरा, आलिताल गाउँपालिका बस्ने मेख राज जोशीले खरिदार पदमा जागिर खाने गरी सेवा प्रवेश गर्दा एस.एल.सी. परीक्षा अनुत्तीर्ण भएकोमा नक्कली प्रमाणपत्र पेश गरी जागिर खाएको हुँदा प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज मेघ राज जोशी भन्ने मेख राज जोशीले उत्तरांचल शिक्षा एवं परीक्षा परिषद्‍बाट हासिल गरेको हाईस्कूल तहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी आलिताल गाउँपालिका, डडेलधुरामा प्रशासन सहायक चौथो (खरिदार) पदमा नियुक्ति लिई हालसम्म कार्यरत रही ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।

जिल्ला काठमाडौं, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वर, काठमाडौंमा कार्यरत सहायक (चौथो) चन्दा शाहको शैक्षिक योग्यताको प्रमाणपत्र छानविन हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज चन्दा शाहले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड आफ हाईस्कूल ऐण्ड इण्टरमिडिएट एजुकेशन यू.पी.बाट हाइस्कूल तहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति, नयाँ बानेश्वरमा सहायक (चौथो) पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।

जिल्ला महोत्तरी, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वरमा आठौँ तहको होमियोप्याथी चिकित्सक सेवा करार पदको विज्ञापनमा उत्तीर्ण संगिता कुमारी साहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज संगिता कुमारी साहले बिहार संस्कृत शिक्षा बोर्डद्वारा संचालित मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तिर्ण गरेको भनी झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जलेश्वर, महोत्तरीमा होमियोप्याथी चिकित्सक (अधिकृत आठौं) पदमा नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको हुँदा  निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर भएको छ।