नवजात शिशुको आवश्यकताहरू के हुन् ?

- सुत्केरी र नवजात शिशुको स्याहारमा ध्यान दिनु पर्ने कुराहरू

-


     सुचनाको हक     
     वैशाख ५ गते २०७९ मा प्रकाशित


  • जन्म भएपछिको २८ दिनसम्मको शिशुको अवस्थालाई नवजात अवस्था मानिन्छ ।
  • नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाको लागि मातृशिशु स्वास्थ्य केन्द्र, प्रसुति केन्द्र/अस्पतालमा दक्ष प्रसुतिकर्मीद्धारा  प्रसुति गराउनु पर्दछ । नेपाल सरकारले तोकेका यस्ता प्रसुति संस्थामा निशुल्क प्रसुति गराउने व्यवस्थाका साथै, सुत्केरी महिलालाई यातायात खर्चसमेत उपलब्ध गराउने व्यवस्था छ ।
  • जन्मनासाथ नवजात शिशुलाई सफा तथा नरम कपडाले पुछ्ने र न्यानो हुनेगरी लुगाले बेर्नु पर्दछ ।
  • जन्मेको एक घण्टाभित्र नवजात शिशुलाई पहिलो बिगौती दूध खुवाउनु पर्दछ । बेलाबेलामा शिशुलाई स्तनपान गराउनाले प्रशस्त दूध आउन थाल्छ ।
  • शिशुको नाइटो सफा राख्न र स्वास्थ्यकर्मी वा महिला स्वास्थ्य स्वयंसेविकाबाट आवश्यक सेवा र सल्लाह लिनु पर्छ । सङ्क्रमण रोकथाम गर्न शिशुको नाइटो सफा राख्ने र स्वास्थ्य संस्था वा महिला स्वास्थ्य स्वयंसेविकाबाट उपलब्ध हुने (क्लोरहेक्साडिन) मल्हम नाइटोमा लगाइदिनु पर्दछ ।
  • नवजात शिशुलाई २४ घण्टासम्म नुहाइदिनु हुँदैन । चिकित्सकका अनुसार र स्थानीय मौसम अनुसार स्वस्थ शिशुलाई हप्तामा दुई पटक मन तातोपानीले नुहाइदिन सुझाव दिइएको छ । तर अस्वस्थ र कमतौलको शिशुलाई नुहाइ दिएमा समस्या आउने हुनाले स्वास्थकर्मीको सल्लाह बमोजिम मात्रै नुहाइदिनुपर्छ ।
  • स्वास्थ्य परीक्षणका लागि नवजात शिशु वा सुत्केरी आमा दुबैलाई सुत्केरी भएको पहिलो, तेस्रो र सातौं दिन स्वास्थ्य परीक्षणको लागि नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्दछ । यस्ता सेवाहरु नेपाल सरकारले नि शुल्क उपलब्ध गराएको छ  ।

नवजात शिशु वा सुत्केरी आमामा खतराका लक्षण/जटिलता भएको खण्डमा उपचारका लागि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ ।

  • नवजात शिशुलाई पहिलो खोप (क्षयरोग विरुद्ध बिसिजी खोप) जन्मने वित्तिकै लगाइ दिनुपर्छ । त्यसैगरी एक बर्षभित्र शिशुलाई डीपीटी/हेपाटाइटिस बी/हिबको तीन डोज (छैठौं, दशौं र चौधौं हप्तामा), दादुरा/रुबेलाको दुई मात्रा र पोलियो थोपाको तीन मात्रासमेत को पूर्ण खोप लगाइदिनु पर्दछ ।
  • शिशुले स्तनपान गर्न र आमाको स्नेह पाउने हक भएकोले आमाले सो जिम्मेबारी पूरा गर्नु पर्दछ । स्तनपान गराउँदा र पर्याप्त स्याहार तथा सहयोग पाउँदा आमाको शारीरिक र मानसिक स्वास्थ्य लाभ पनि हुन्छ र जन्मान्तरमा सहयोग पुग्छ ।
वजन कम (२.५ किलोभन्दा कम) वा शीताङ्ग भएको शिशुलाई विशेष प्रकारले न्यानो राख्नुपर्छ
UNICEF Nepal
  • वजन कम (२.५ किलोभन्दा कम) वा शीताङ्ग भएको शिशुलाई विशेष प्रकारले न्यानो राख्नुपर्छ । यसरी विशेष न्यानो पार्ने तरिकालाई “मायाको अँगालो” भनिन्छ । यो तरिका महिला स्वास्थ्य स्वयंसेविका वा स्वास्थ्य संस्थाबाट सिक्न सकिन्छ । यो तरिका शिशुको तौल सामान्य नहुन्जेल जारी राखिन्छ ।
  • नवजात शिशुमा निम्न खतराका चिन्ह देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा लैजानु पर्छः

                  –                छिटो छिटो सास फेरेमा (प्रति मिनेट ६० पटक वा सोभन्दा बढी)

                  –                कडा कोखा हानेमा

                  –                सुस्त वा बेहोस् वा कम चलाइ भएमा

                  –                आमाको दूध राम्ररी चुस्न नसकेमा

                  –                शीता· अथवा हात र खुट्टा छाम्दा चिसो भएमा

                  –                ज्वरो आएमा, निधार, काखी र पेट छाम्दा तातो भएमा

                  –                नाइटो पाकेको वा छालामा पीप भरिएका फोकाहरू भएमा

सुत्केरी र नवजात शिशुको स्याहारमा परिवारको भूमिका

यस समयमा सुत्केरी आमालाई श्रीमान् र परिवारको समर्थन र सहयोगको अवश्यकता पर्दछ । नवजात शिशुलाई स्तनपान गराउनुको लागि घरमा उचित वातावरण सुनिश्चित गर्नु पर्दछ। सुत्केरी र नवजात शिशुका लागि सुरक्षित सफा ओड्ने ओछ्यान र मलमल जस्तै नरमकपडा वा पूरानो सफा कपडाको व्यवस्था गर्नुपर्दछ ।

सुत्केरीआमाको घाउ तथा पाठेघरलाई निको गर्न र पहिलेको अवस्थामा आउन दिनको लागि पर्याप्त आराम आवश्यक हुन्छ । त्यसैगरी शिशुको नाइटो निको हुन, झर्न र संक्रमणबाट सुरक्षित गर्न आराम गर्ने समय दिनुपर्दछ ।

नवजात शिशुलाई बाहिरी तापक्रम, वातावरण र खाना आदि समायोजन गर्नका लागि परिवारले उचित वातावरण मिलाउनु पर्दछ । 

सुत्केरी आमालाई बेला–बेलामा पौष्टिक खाना तथा मनतातो झोल खुवाउनुपर्छ । सुत्केरी आमालाई साविक भन्दा बढी खाना खान दिनुपर्दछ । पौष्टिक खानाले सुत्केरीको शरीर मर्मत र तन्दुरुस्त बनाउँछ । यसकोसाथै पौष्टिक खानाको प्रभावले शिशुलाई आवश्यक दुध निर्माण हुन्छ ।

सुत्केरी आमालाई हर्मोन तथा संवेगात्मक सन्तुलन गर्न परिवारको सहयोग र समय चाहिन्छ । पहिलो बच्चा जन्मेपछि जन्मान्तरको उपाय गर्नु पर्दछ । यसले आमाको स्वास्थ्यमा र शिशुको स्याहारमा सहयोग पुग्दछ ।

सुत्केरी आमामा निम्न लिखित खतरामा लक्षण देखापरेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्छ:

                  –                ज्वरो आएमा

                  –                योनीबाट गन्हाउने पानी बगेमा वा तल्लो पेट (पाठेघर) दुखेमा

                  –                धेरै रगत बगेमा (२ वटा भन्दा बढी टालो पूरै भिजेमा वा चोक्टा चोक्टा रगत बगेमा)

                  –                टाउको साह्रै दुखेमा

                  –                हातखुट्टा अररो भइ मुर्च्छा परेमा