नापी कार्यालय रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझी उपर भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।

-


     सुचनाको हक     
     असार १३ गते २०७९ मा प्रकाशित


नापी कार्यालय, भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेक बहादुर रायमाझीले जग्गाको हालसाविक गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज अमिन टेक बहादुर रायमाझीलाई सेवाग्राहीबाट रु.३०,०००।– (तीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०२।१७ गते नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय, रुपन्देहीका अमिन टेक बहादुर रायमाझीले जग्गा हालसाबिक गर्न सेवाग्राहीसँग रु.३०,०००।– घुस/रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज टेक बहादुर रायमाझीलाई बिगो रु.३०,०००।–  (तीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम सजाय हुन मागदाबी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

wqG5Li