जिल्ला काठमाडौँ, कागेश्वरी मनहरा नगरपालिका, साविक गोठाटार र साविक मुलपानी गा.वि.स. वडा नं. १ ख, का कित्ताहरु काठमाडौँ विकास प्राधिकरणको सहमति विना स्मार्ट सिटी अन्तर्गत परेको जग्गालाई अगाडि बनाएको नक्सामा आफूखुशी जोडी, नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा कित्ताकाट गर्दा अनाधिकृतरुपमा नक्सा परिवर्तन गरी टायल चेकबाट क्षेत्रफलमा बढी कायम गर्ने र सोहीबमोजिमको राजीनामा लिखत पारित गरी गलत लिखत तयार गर्ने भ्रष्टाचारजन्य कसुरमा संलग्न प्रतिवादीहरुउपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
देहाय:
क. नापी कार्यालय, चावहिल, काठमाडौँका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले जिल्ला काठमाडौँ, साविक मुलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गर्ने क्रममा परिवर्तित नक्सा तयार गरी नक्सा सच्चाई कित्ताकाट एवं प्रमाणित गरी प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय, सर्भेक्षक रामनारायण यादवले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ११ बमोजिम सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदावी लिइएको छ।
ख. मालपोत कार्यालय, चावहिल, काठमाडौँका तत्कालीन मालपोत अधिकृत बिष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवरले नापी कार्यालय, चावहिलबाट जिल्ला काठमाडौँ, साविक मुलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गरी मालपोत कार्यालय, चावहिलमा लिखतहरु पठाएकोमा क्षेत्रफल बढ कायम गरी पठाउँदा समेत फिल्डमा चेकजाँच नगरी नापी कार्यालयबाट तयार पारिएको परिवर्तित नक्सालाई पूर्णता दिने कार्यलाई सहयोग पुर्याई सो कार्यालयबाट पेश भएका राजिनामा लिखतहरु पारित गरी गलत लिखतहरुलाई प्रमाणित गरी गलत जग्गाधनी दर्ता श्रेष्ता नामक लिखतसमेत तयार गर्ने कार्य भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ९ बमोजिमको कसुर भएको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा ९ बमोजिमको कैद र जरिवानाको मागदावी लिइएको छ।
ग. जिल्ला झापा, कमल गाउँपालिका वडा नं. २ का योगेन्द्र आचार्य, जिल्ला काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका, वडा नं. ९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका, वडा नं. ९ का नविन दाहालले कित्ताकाट गर्ने क्रममा आफूहरुलाई लाभ प्राप्त गर्ने उद्देश्यले अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी टायल चेकबाट क्षेत्रफल बढ कायम गरी नक्सा तयार गर्ने कार्यमा नापी कार्यालय, चावहिलका कर्मचारीहरुलाई र परिवर्तित नक्साबमोजिमको क्षेत्रफल कायम गरी गलत लिखत पारित गर्न मालपोत कार्यालय, चावहिलका कर्माचारीहरुलाई सहयोग पुर्याएको देखिँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र ९ बमोजिमको कसुरको मतियार भई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ बमोजिमको कसुर गरेको देखिएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसुरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिइएको छ।