सुशासन, पारदर्शिता र खुल्लापनका लागि सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले बताउनुभएको छ ।
अछामको मंगलसैनमा भएको सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सुसूचित समाज निर्माणका लागि सूचना लिने र दिने कार्यले सुशासन, पारदर्शीता र खुल्लापनको प्रत्याभूति हुने बताउनुभयो ।
राष्ट्रपति कार्यालयदेखि सबै स्थानीय कार्यालय तथा सार्वजनिक निकायमा सबै सर्वसाधारण नागरिकले सूचना माग्न पाउने अधिकार भएकाले दूर दराजका आम सर्वसाधारण नागरिकका लागि आफ्ना आफ्ना आधारभूत आवश्यकता जान्न चाहेको खण्डमा उनीहरूलाई सहज रुपमा सूचना प्रदान गर्न पनि सम्पुर्ण सूचना अधिकारीलाई आग्रह गर्नुभयो ।
अछामका प्रमुख जिल्ला अधिकारी राम दत्त पाण्डेले संविधानमै सूचनाको हक प्रष्ट उल्लेख गरेकाले ढुक्क भएर सूचना माग्न सबैलाई आग्रह गर्नुभयो । सबै अधिकार स्थानीय तह अन्तर्गत भएकाले प्रायः स्थानीय तहहरूमा सूचनाको हकसम्बन्धी प्रशिक्षण दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
‘सूचना हाम्रो अधिकार, सूचना र विकासको आधार’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै राष्ट्रिय सूचना आयोगको आयोजनामा जिल्ला स्थित कार्यालय प्रमुख, सूचना अधिकारी,सञ्चारकर्मी एवम्, सरोकारवालासँग सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको हो ।