सहकारी विभागले गौतमश्री बहुउद्देश्यीय सहकारी हाकिमको बैंक खाता रोक्का गर्न आग्रह गरेको छ । विभागले पीडित बचतकर्ताहरुले दिएको उजुरीका आधारमा सहकारीका सञ्चालक र व्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई अनुरोध गरेको हो ।
विभागका उपरजिष्ट्रार एवम् सूचना अधिकारी टोलराज उपाध्यायले एक हजार ७५ जना पीडित बचतकर्ताहरुले विभागमा उजुरी दिएको उल्लेख गर्दै उक्त सहकारीका सञ्चालक र व्यवस्थापकहरुको बैंक खाता रोक्का राख्न हिजो राष्ट्र बैंक मार्फत् सबै बैंक तथा वित्तिय संस्थाहरुलाई भनिएको बताए ।
गौतमश्रीको विभिन्न स्थानमा रहेका सेवा केन्द्रहरु, डिपार्टमेन्टल स्टोर्स तथा गोदाममा रहेका सम्पूर्ण चल, अचल सम्पत्ति विभागको अनुमति विना खोल्न नपाउने भन्दै उपरजिष्ट्रार उपाध्यायले सञ्चालक र कर्मचारीहरुलाई विभागमा उपस्थित गराइदिन यसअघि प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागमा पत्र पठाइएको जानकारी दिए ।
उनीद्वारा जारी गरिएको विज्ञप्तिमा पीडित बचतकर्ताहरुले दिएको उजुरीका आधारमा विभागले थप आवश्यक कारवाहीका लागि तीन दिनभित्र सम्बन्धित निकायमा सिफारिस गर्ने भनिएको छ ।