ओम् शान्ति! २०७९ माघ ४, बुधबार
प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयका साकार संस्थापक, पिताश्री प्रजापिता ब्रह्माबाबाको ५४ औं स्मृति दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय नयाँबजार पोखरामा अव्यक्त योग साधना भट्टी कार्यक्रम भव्यताका साथ सम्पन्न ।
ब्रह्माकुमारीज गण्डकी प्रदेश उपाध्यक्ष वरिष्ठ राजयोगिनी ब्रह्माकुमारी सावित्री दिदी ज्यूको सभाध्यक्षता एवम् विश्वहिन्दु महासंघ नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष शंकर खराल ज्यू, पतंजली योग समिति गण्डकी प्रदेश अध्यक्ष दिपकराज सिग्देल ज्यूको विशेष आतिथ्यतामा ब्रह्मा बाबाप्रति श्रद्धा सुमन अर्पण गरेर योग साधना भट्टीको समुद्घाटन सम्पन्न भयो। समुद्घाटन कार्यक्रममा ब्रह्माकुमारीज नयाँबजार सेवाकेन्द्र सञ्चालिका राजयोगिनी ब्रह्माकुमारी शोभा दिदीले ब्रह्मा बाबाको जीवनी एवम् विशेषताहरुमाथि प्रकाश पार्नुभएको थियो भने राजयोगिनी ब्रह्माकुमारी सावित्री दिदीले ब्रह्माबाबा समान बन्नका लागि सम्पूर्ण उपस्थित साधकहरुलाई विशेष प्रेरणायुक्त शुभभावनाहरु व्यक्त गर्नुभयो । संस्थासँग लामोसमयदेखि घनिष्ठ रुपमा जोडिदै आउनुभएका अतिथि ज्यूद्वयले बाबाको तस्विरमा माल्यार्पण गरेर साथै शब्द पुष्पद्वारा ब्रह्माबाबाप्रति श्रद्धासुमन अर्पण गर्नुभयो ।
प्रजापिता ब्रह्माबाबाले परमात्माको श्रीमतमा चलेर, योग साधनाद्वारा सम्पूर्ण कर्मातित अवस्था प्राप्त गरेर १८ जनवरी सन् १९६९मा अव्यक्तारोहण हुनुभएको हुनाले वहाँको स्मृतिमा प्रत्येक १८ जनवरीलाई ब्रह्माकुमारीज संस्थाको अन्तराष्ट्रिय मुख्यालयका साथै विश्वभरी छरिएका सेवाकेन्द्रहरुमा विशेष मौन राखेर तथा दिनभरी योग तपस्या गरेर अव्यक्त स्मृति दिवसका रुपमा मनाउने गरिन्छ र पुरै जनवरी महिनालाई तपस्या महिनाको रुपमा मनाइन्छ ।