भक्तपुरको सल्लाघारीमा रहेका २१ वटा पूराना रूख काटिएको छ।
सोमबार डिभिजन वन कार्यालय भक्तपुरले पूराना तथा कमजोर भएका २१ वटा रूख काटेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
‘अहिले काट्ने र हटाउने काम भइरहेको छ। प्रहरीले सुरक्षा दिने काम गरिरहेको छ,’ उनले भने।
आइतबार दिउँसो १२:१५ बजेतिर सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै रूख ढलेको थियो। रूख ढलेर गुडिरहेको बस र स्कुटरमा लागेको थियो।
लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बस र बा ६१ प ३९७८ नम्बरको स्कुटरलाई किचेको हो।
दुर्घटनामा १५ जना घाइतेको उद्धार गरी अस्पताल पठाएको थियो। चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको थियो।
मृत्यु हुनेमा भक्तपुर नगरपालिका-२ बस्ने २५ वर्षीय विशेष खर्बुजा छन्। चाँगुनारायण नगरपालिकाका न्हुछेराम बखाद्यो र सर्लाहीको हरिवन नगरपालिका-४ का राजकुमार भुजेल मृत्यु भएको हो।
घाइतेको इवामुरा र भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ। इवामुरा अस्पतालमा एक जना आइसियू र पाँच जना जनरल वार्डमा उपचाररत छन्। त्यस्तै भक्तपुर इन्टरनेशनल अस्पतालमा तीन जना आइसियू र तीन जना जनरल वार्डमा उपचार भइरहेको छ।
‘सबैको उपचार भइरहेको छ। उहाँहरू सबै जना खतरामुक्त भइसक्नुभयो,’ प्रहरी नायब उपरीक्षक पाण्डेले भने।