प्रचण्डको कारण याे अवसरर पाएकाे भन्ने केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री रहँदा आफ्नै अभिव्यक्ति र कार्यशैलीले आलोचनाका पात्र बनेका प्रेम आले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने त्यसको ठीक विपरित प्रशंसाका पात्र बनेका छन् । देउवा प्रधानमन्त्री बनेको ६ महिना बितिसक्दा उनी नेतृत्वको सरकारको ‘लाज’ सिङ्गै आलेले ढाकिदिएको भनेर टिकाटिप्पणी समेत हुने गरेको छ । हुन पनि परमादेशमार्फत सरकारको नेतृत्वमा आएको देउवा नेतृत्वको सरकारले उल्लेखनीय त्यस्तो काम नगरेको जनगुनासो छ । भारतले नेपाली भूभागमा सडक विस्तार गर्दासम्म दुई सातासम्म सरकार चुक्क बोलेन । आइतबारमात्रै सरकारका प्रवक्ताले सरकारको धारणा भन्दै लिपुलेक नेपालको हो भनेर बिना हस्ताक्षरको विज्ञप्ति जारी गरेका छन् । अझै पनि सरकारले भारतलाई ‘प्रोटेस्ट नोट’ पठाइएको जानकारीमा आएको छैन ।
प्रेम आलेले भने मन्त्री बनेसँगै आफू मातहतको निकायको कामलाई प्रभावकारी ढंगले सम्पादन गर्दै आएका छन् । उनले विमानस्थलमा देखिएको बेथितिलाई सुधारतर्फ लगेका छन् भने नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले बनाउँदै गरेको रेस्टुरेन्ट निर्माणमा रोक लगाएका छन् । यस्तै सेटिङको आधारमा भएका ठेक्काहरु उनले रद्ध गराइदिएका छन् भने कोरोना महामारीका क्रममा चार्टर फ्लाइटमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न समिति बनाएका छन् । यस्तै नेपाल एयरलाइन्समा सुधारको थालनी पनि उनीबाट भएको छ । जसअनुसार अनलाइन टिकेटिङ, एयरलाइन्सको बजार विस्तारलगायतमा उनले केही पहल थालेका छन् । प्रचण्डकै कारण मन्त्री वनेकाे भन्दै उनकाे शिर निहुरीने काम गर्ने छैन भनी मन्त्री आलेले अचेल वाेल्ने गरेका छन ।
ADVERTISMENT
यस्तै आफ्नो कार्यक्षेत्रभित्र रहेका बेथिति र अनियमिततालाई भत्काउँदै सुधारको पहल थाल्ने उनले घोषणा गरेका छन् । उनकै शब्दमा भन्ने हो भने ‘सेटिङ’लाई भत्काउने अभियानमा उनी देखिएका छन् । उनले आफूलाई केहीको लोभलालच नभएको भन्दै मन्त्रीको रुपमा रहँदासम्म इमान्दार भएर काम गर्ने पनि बताउँदै आएका छन् । यस्तै काम गर्दा जनस्तरमा आले चर्चाको पात्र बनेका छन् । सामाजिक सञ्जालदेखि चिया चौतारीसम्म उनको कार्यशैली प्रशंसनीय भएको भनेर टिकाटिप्पणी सुन्न पाइन्छ । स्वयम् प्रधानमन्त्री शेरबहादुर देउवाले समेत राम्रो काम गरेको भनेर आलेलाई धन्यवाद दिएका छन् ।
राजनीतिक दलका नेताहरुले जनअपेक्षाअनुसार काम नगरेको भनेर गुनासो आउने गरेका छन् । नेतृत्वमा रहनेहरूले कसरी काम गर्नुपर्छ र जनताले के चाहन्छन् भन्ने उदाहरण पनि हो, आलेको प्रशंशा । केही पहिले काँग्रेसको महाधिवेशनको उद्घाटनसत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले नेताहरुलाई गाउँघरमा ‘चोर भन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । भाषा जस्तो भएपनि लिङ्देनको संकेत नेताहरुले जनताको पक्षमा काम गर्नुपर्छ भन्ने नै थियो । स्मरण गर्नुपर्ने कुरा के हो भने आलेले तत्काल राम्रो काम गरेको भएपनि उनको परीक्षा हुन अझै धेरै बाँकी छ । उनले आगामी दिनमा कसरी कार्यसम्पादन गर्छन् त्यो हेर्नुपर्ने हुन्छ र विवादास्पद विगतको पनि समीक्षा अवस्य हुनुपर्छ ।
यता नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी सुन तस्करी प्रकरणमा मुछिएको पाइएको छ । पर्यटन मन्त्रालयले गरेको छानबिका क्रममा उनी एउटा पुरानो मुद्दामा दोषी ठहर भएको पाइएको हो । २०७४ साल पुस ७ गते कतार एयरलाइन्सको विमानमार्फत नेपाल आउँदा उनी सुनसहित पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले मन्त्रालयलाई पठाइएको पत्रमा उल्लेख छ ।
कार्यालयले पुस ३० गते पठाएको पत्रमा कतार एयरलाइन्सको विमानबाट नेपाल आउँदा उनले बिस्कुट आकारको ३ थान सुन ल्याएको र त्यसमा ३० ग्राम अवैध भएपछि पक्राउ परेको उल्लेख गरिएको छ ।
सो प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले २०७४ पुस ७ गते मुद्दा दर्ता गरेको थियो । यस्तै अदालतले ०७७ भदौ २१ मा मुद्दा फैसला गर्दा कसुर ठहर भइ सुन जफतसहित १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना भएको थियो । रेग्मीलाई मन्त्री आलेले हटाउन चाहेका छन् तर उनी सफल बनेका छैनन् ।