बागमती प्रदेशसभालाई अपांगमैत्री बनाउन माग गर्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालले प्रदेशसभा सचिवालयको ध्यानाकर्षण गराएको छ।
बागमती प्रदेशसभामा ह्विलचेयर प्रयोगकर्ता प्रदेशसभा सदस्यमा निर्वाचित भएको भन्दै महासंघले प्रदेशसभालाई अपांगमैत्री बनाउन माग गर्दै प्रदेशसभा सचिवालयको ध्यानाकर्षण गराएको हो। राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष अश्विन लम्सालले प्रदेश सचिवालय सचिव कृष्णहरि खड्कालाई ज्ञापनपत्र बुझाएका हुन्।
महासंघले समानुपातिकतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित ह्विलचेयर प्रयोगकर्तालाई प्रदेशसभामा सहज वातावरण सिर्जना गर्न माग गरेको छ। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभा सदस्यमा ह्विलचेयर प्रयोगकर्ता (स्पाइनल कर्ड इन्जुरी) निर्वाचित भएकोले प्रदेशसभा कार्यस्थल मापदण्डसहित निर्माण गरी सम्मानजनक, मर्यादित र स्वतन्त्रतापुर्वक संसद सचिवालयसम्म आवतजावत गरी काम गर्ने वातावरण सिर्जना गर्न ध्यानाकर्षण गराइएको छ।
ह्विलचेयर प्रयोगकर्ता लक्ष्मी घिमिरेलाई संसद सचिवालयसम्म आउन जान सहज वातावरण बनाउन बागमती ध्यानाकर्षण गराइएको छ। ध्यानाकर्षण पत्र बुझ्दै सचिव खड्काले संसद सचिवालय अपाङ्गमैत्री बनाउने प्रयास भइरहेको बताए।