विभिन्न व्यवसाय गरेकाहरुले बेलाबखत ‘पत्रकार’ को नक्कली परिचय पत्र देखाउदै ‘प्रेस’ को दुरुपयोग गरेको भेटिएका घटना भेटिएपनि सो अबैध कार्य गर्नेमाथी कारबाही नहुदाँ पछिल्लो समयमा ‘पत्रकार’ को परिचय दिदै मिडियाको दुरुपयोग गर्नेको संख्यामा तीव्रता आएको छ ।
कोरोना भाइरसको महामारी फैलिएसंगै जारी भएको लकडाउनमा सञ्चारकर्मीले बोक्ने परिचयपत्र (प्रेस पास) को व्यापक दुरुपयोग भएको थियो । सो सम्बन्धमा तीव्रखबर डटकमले पटकपटक समाचार प्रकाशन गरेपछि प्रहरी प्रशासनबाट खटिएको टोलीले बागबजारबाट केही अबैध कार्य गर्नेलाई पक्राउ गरेपछि केही रोकिएको सो अबैधधन्दाले पुनः सुचारु भएको छ ।
वास्तविक पत्रकार भन्दा पनि गैरपत्रकारहरुले नीजि सवारी साधानदेखि भाडाका सवारीसाधनमा समेत ‘प्रेस’ लेखेर वा देखाएर अबैधधन्दा गर्दै आएको भेटिएको छ । यसैबीच पछिल्लो समयमा वीरगञ्जमा सवारी साधनमा प्रेस लेखेर लागुऔषध ओसारपसार समेत गरेको भेटिएको छ ।
प्रेस टाँसेर गाडीबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको प्रहरीले बताएको छ । प्रहरीले दिएको जानकारी अनुसार ‘निगरानी अनलाइन डटकम’ नामक मिडियाको नाममा रहेको सवारी साधनमा राखेर लागुऔषधको ओसारप्रसार गरिएको बताइएको छ । बा ७ च ४६४२ नम्बरको भ्यानमा राखेर लागुपदार्थ लैजाँदै गरेको अवस्थामा गाडी र चालकलाई प्रहरी नियन्त्रणमा लिएसंगै मिडियाको दुरुपयोग झन बढ्दै गएको प्रमाणित हुदै गएको हो ।
यसैगरी कोरोनाको समयमा नेपालमा व्यापारिक घरानामा दुगड ग्रुप आफ्नो व्यापार गर्न निजी सवारीमा प्रेस लेखेर हिड्दा प्रहरीको फन्दामा परेका छन् । प्रेस झुण्ड्याएर हिडिरहेको बेला विरगंजको घण्टाघरमा प्रहरीको चेकजाचमा परेपछि यो सार्वजनिक हुन पुगेको हो । पत्रकारको परिचय पत्र बोकेपछि खुलमखुल्ला हिडन पाइने भएपछि गैरपत्रकारहरुले प्रेस ज्याकेट र प्रेस पाससंगै गाडीको समेत दुरुपयोग गरिदै आएको पाइएको छ । पत्रकारिताको बारेमा कुनै पनि ज्ञान नभएकाहरुले प्रेस कार्ड र प्रेसको ज्याकेटसंगै गाडीको समेत दुरुपयोग हुदै आएको छ ।
त्यस्ता ब्यक्तिलाई कतिपय मिडियाले नै गैरपत्रकारलाई कार्ड बनाइ दिएको पाइएको छ । कतिपय ब्यक्तिले कुनै मिडियाको लोगो दुरुपयोग गरी परिचयपत्र बनाइ अबैधधन्दा गर्दै आएको छ । प्रेस कार्ड र प्रेस ज्याकेट लगाएपछि प्रहरीले चेकिङ पनि नगर्ने भएका कारण पछिल्लो समय गैरकानुनी काममा लागेका ब्यक्तिहरुमा समेत प्रेसको कार्ड भेटिन थालेका छन ।
कलाकारहरुले प्रेस पास झुण्डाउदै गरे अबैधधन्दा
देशमा फैलिएको कोरोना भाइरसको सक्रमण नियन्त्रण गर्ने उदेश्य राखी सरकारले लगाएको निषेधाज्ञा अझै पनि जारीरहेको छ । तर सो निषेधाज्ञाको समयमा पत्रकार, स्वास्थ्यकर्मीलाई उसको परिचय पत्रका आधारमा हिडडुल गर्न दिएपछि काठमाडौं उपत्यका लगायत देशभर यि क्षेत्रको नक्कली परिचय पत्र बनाई बेच्ने र बोक्नेहरुको भीड अहिले नियन्त्रणभन्दा बाहिर पुगेको छ ।
यसैक्रममा सञ्चारक्षेत्रसंग सम्बन्धनै नरहेका केही संघसस्थाहरुले खुलेआम नक्कली प्रेसपास छपाएर झुण्डाउदै अबैधधन्दा समेत गरेको भेटिएको छ । पछिल्लो समयमा आफ्नो संस्थाको समेत अविस्वास गर्दै गत वर्षको लकडाउनकै समयदेखि नक्कली प्रेस पासको परिचय बनाएर लखरलखर हिड्नेमा कलाकार पनि अग्रपक्तिमा परेका छन । यसैमेसोमा राष्ट्रिय संगीतकर्मी संघ नामक संस्थाले प्रेस पासको समेत दुरुपयोग गर्दै आएको छ ।
कोभिड–१९ को महामारीले गर्दा सरकारले निषेधाज्ञाको बेला स्वास्थ्यकर्मी र पत्रकारलाई हिँड्डुल गर्न र जनताको सुचना र स्वास्थ्य अधिकारको हनन नहोस भन्ने उदेश्यकासाथ रोकतोक नगरेपछि अधिकाशं असम्बन्धित संघसस्थाले समेत प्रेस कार्ड छपाएर झुण्डाउदै अबैधधन्दा गर्नमै व्यस्त रहेको भेटिएको छ । पत्रकारहरु कार्यालयकै परिचयपत्रले सजिलै हिँडुल गर्न पाउने व्यवस्था सरकारले गरेसंगै राष्ट्रिय संगीतकर्मी संघ नामक संस्थाले समेत नक्कली प्रेस पास छपाई अहिले पनि झुण्डाउदै आएको छ ।
नक्कली प्रेस पास घाँटीमा झुण्डाउदै राहत वितरणको नाम दिदै दुरुपयोग समेत गरिएको छ । एकातर्फ प्रेस पासको खुलेआम दुरुपयोग गरेको सो संघले राहतको नाममा समेत अनियमितता गरेको प्रमाण तीव्रखबर मिडिया ग्रुपको कार्यालयमा प्राप्त भएको छ । बागबजारमा रहेको शान्ता कप्लेक्समा रहेको छापाखानबाट सो सस्थाले ४५ वटा नक्कली प्रेस पास छापेको पाइएको छ ।
सो संस्थाले लकडाउन र निषेधाज्ञामा विना रोकावट बाहिर हिड्नकै लागि सो नक्कली पेसपास छपाएर बोकी हिडेको भेटिएको छ । सो नक्कली प्रेसपास संघको उपत्ययका कमिटीका पदाधिकारीहरुले बढी प्रयोग गरेको भेटिएको छ । यसैसम्बन्धमा सो संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले भने,‘संस्थाले प्रेसपास नछापेको, यदी सो छापेर प्रयोग गरेको भए खोजी गरेर कारबाही गर्ने छौ ।’
तर संघकै एक सदस्यले नाम नलेख्ने सर्तमा भने,‘अध्यक्षकै योजनामा सो प्रेसपास छापेको र अध्यक्षले पनि सोही परिचय पत्र बोक्दै आएका छन्, बन्दाबन्दीमा बाटोमा हिड्नकै लागि सो प्रेस पास छापिएको हो ।’ नक्कली प्रेस पासको परिचय पत्र बनाएर बोकी हिड्ने कार्यमा सम्बन्धित सस्थाभन्दा पनि असम्बन्धित संस्थाहरुले बढी प्रयोग गरेको भेटिएको छ ।
यसैसम्बन्धमा नक्कली प्रेस पास बनाएर सडकमा खुलेआम हिड्दा पनि नेपाल पत्रकार महासंघ र सूचना मन्त्रालयले समेत ध्यान नदिएकै कारण सो अबैधकार्यले तीव्रता पाएको छ । यसरी असम्बन्धित कार्यालय र संघसंस्थाहरुले प्रेस पास बनाएर वितरण गर्न र बोकेर हिड्न विद्यमान ऐन अनुसार नमिल्ने नेपाल पत्रकार महासंघका सचिब गोविन्द चौलागाईले बताए ।
सचिब चौलागाईले भने,‘यसरी असम्बन्धित संस्थाले प्रेस पास वितरण गर्न मिल्दैन, त्यस्तो गरेको भए छानविन गरि कारबाहीको दायरामा ल्याउने छौ ।’ पत्रकारलाई कार्यालयको परिचयपत्रकै आधारमा हिँडडुल गर्न, आवश्यक मानवीय साधनको व्यवस्थापन र अन्य समन्वयात्मक कार्यमा आफ्नो सवारी साधन प्रयोग गरेर जान पाउने सरकारले गरेको निर्णयमा बास्तविक पत्रकार तथा स्वास्थ्यकर्मीभन्दा पनि नक्कली कार्डधारीहरु अहिले सडकमा खुलेआम हिड्दै आएका छन् ।
काठमाडौं उपत्यकामा प्रेस लेखिएको गाडी जताततै गुड्दै आएका छन् । पहेलो ज्याकेटमा प्रेसमात्र लेखिएको र गाडीमा प्रेसमात्र लेखेर विनाकाम शरह डुल्दै आएको दृष्य अहिले सामान्य बनेको छ । कतिपय ठूला मिडिया हाउसका पत्रकारहरू समेत यतिबेला रोजगारी गुमाएर घरमा बस्नु परेको अबस्थामा सडकभरि प्रेस लेखेको गाडीको संख्या दैनिक रुपमा बढ्दो छ ।
अर्कोकुरा अधिकांश पत्रकारसंग सवारी साधान छैन । अरु बेला समेत सडकमा नदेखिएका गाडीहरुमा प्रेस टाँसी हिड्नेमाथी सम्बन्धित निकायबाट सही अनुगमन नहुदाँ प्रेसको नाममा विकृत्रि फैलिदै गएको छ । गैरपत्रकारहरु प्रेस लेखेर जथाभावी हिँडिरहेको छन् भनेर सम्बन्धित निकायले अनुगमन गर्नुपर्नेमा त्यस तर्फ कुनै ध्यान दिएको पाईदैन । उपत्यकामा प्रेस लेखिएका महँगा गाडी हुँइकिरहेका बेला नेपाल पत्रकार महासंघ भने आफ्नो ध्यान त्यसतर्फ दिन सकेको छैन ।
यसैसम्बन्धमा गत महिना महानगरीय अपराध महाशाखाको टोलीले राजधानीकोे बागबजारबाट नक्कली प्रेस पास र स्वास्थ्यकर्मीको परिचय पत्र छाप्दै आएको प्रिन्टिङ प्रेसमा छापा हानी नियन्त्रण लिएपछि सो अबैधधन्दा खुलेको हो । प्रहरीले छापा हानेर कालिका प्रिन्टिङ सपोर्टका सञ्चालक तेह्रथुम घर भएका ३६ वर्षीय लक्ष्मण न्यौपाने, न्यौपानेका स्टाफ बर्दियाका २३ वर्षीय श्रीराम खड्का, डिजाइनर नवलपरासीका २९ वर्षीय रमेश रेग्मीलाई पक्राउ गरेको छ ।
नक्कली पास लिन पुगेका एक सेवाग्राही समेत पक्राउ परेका थिए । ह्याम्स अस्पतालको स्टाफ भनेर स्वास्थ्यकर्मीको नक्कली कार्ड बनाउन लगाएका ३९ वर्षीय राजेन्द्रराज भण्डारी समेत पक्राउ परेका थिए । प्रहरीले न्यौपानेको कम्पनीमा छापा हानेको समयमा रेग्मी कार्ड लिन आएका थिए । पक्राउ परेका उनीहरुको साथबाट २१ थान पत्रकारको नक्कली कार्ड समेत बरामद गरिएको थियो ।
पत्रकार र स्वास्थ्यकर्मीको कार्ड उनीहरुले बनाएर बिक्री वितरण गदै आएका थिए । निषेधाज्ञाको समयमा अबैधधन्दा चलाउदै आएको सो प्रिन्टिङ प्रेसले होम डेलिभरी समेत गर्ने गरेको पाईएको छ । कम्युटरमा कार्ड डिजाइन गरेर प्रिन्टमार्फत निकालेपछि कम्युटरमा सवै विवरण मेट्ने समेत गरेको छ । पत्रकारकै कार्ड देखाएर अवैध धन्दा समेत हुने गरेको पाइएको छ । पत्रकार महासंघले भने सो सम्बन्धमा कुनै कारबाही अगाडी बढाएको छैन । पछिल्लो समय प्रेस कार्डको दुरुपयोग बढेको खबर पटकपटक महासंघमा जानकारी गराएपनि त्यसतर्फ ध्यान नलिएकै कारण अबैधधन्दाले प्रशय पाएको छ । सो अबैध कार्यका सम्बन्धमा तीव्रखबर डटकमको खोजी कार्य जारी रहेको छ ।