बाबुरामलाई छाडेर कोही एमाले,कोही माओवादीतिर

- साथ दिनेमा आफन्त र नातेदार मात्र

-


     सुचनाको हक     
     श्रावण ४ गते २०७९ मा प्रकाशित


जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको समूह औपचारिक रुपमा अलग्गिएको छ । पार्टीबाट ठूलै झुण्ड लैजाने आंशका विपरित अहिले सांसदहरुमध्ये आफू र महेन्द्रराय यादव मात्रै देखिएका छन् ।

यसअघि मोहम्मद इस्तियाक राइन र प्रदीप यादवहरु पनि जान्छन् भन्ने अनुमान अहिले गलत सावित भएको छ । उनीहरुले संस्थापन पक्ष अर्थात अध्यक्ष उपेन्द्र यादवको साथ नछाडी मन्त्री भए । अरु धेरै जना असन्तुष्ट हुँदाहुँदै यतै अडिएको बताइन्छ ।

जसपाका एक जना नेताले भने, ‘पद गुम्ने डरले धेरै यतै बसेका छन् । राजकिशोरहरु पनि बीचको अवस्थामा छन् । बीचमा बसे पनि उनीहरु भट्टराईसँग जाने मुडमा छैनन् ।’

जसपाको संस्थापन पक्ष भट्टराईतर्फ कति जना जान्छन् सोहीअनुरुप समितिहरुमा संख्या थप्दै अघि बढ्ने रणनीतिमा बसेको देखिन्छ । भट्टराई समूह रोजेका भनिएका केही एमालेतिर जाने चर्चा चलेको छ । उनीहरुले अस्ति भेला नै आयोजना गरेका छन् ।

ललितपुरको नख्खिपोटस्थित यलखिम रेष्टुरेण्टमा एक दर्जन उपस्थित थिए । भेलामा हेमराज राई,चन्द्रविक्रम राई,डिबी सरोज, थमानसिंह याम्फु,सुनसरीका उमेश थापालगायत सहभागी भए । यलखिम चन्द्रविक्रम राईको रेष्टुरेण्ट हो । यो समूह एमालेमा जाने तयारी भएको बताइन्छ ।

माओवादीमा जान ठिक्क पर्नेमा बाबुरामतर्फ रहेकामध्ये टेक बाठामगरलगायत १२ जना छन्, अन्य कतिपयले स्वतन्त्र भन्न थालेका छन् । केही जसपामा फर्कने तयारी गरेकाले अब उनीसँग परिवारका सदस्य र नातागोता मात्र बाँकी रहने जसपाका नेताहरुको बुझाइ छ ।

पार्टी विभाजन भए पनि भट्टराईतर्फ मधेशबाट धेरै गएका देखिएनन् । मुख्यगरी रमेश यादव, महेन्द्र यादव,दानबहादुर चौधरी मधेशी समुदायका हुन् । तर तल्लो इकाइका खासै कोही गएनन् । अब युवालाई अघि सार्ने र आफू संरक्षकको भूमिकामा रहने बताएकाले डा. भट्टराईले राजनीति बिसाउन खोजेको भन्नेहरु पनि छन् ।

माओवादीबाट निस्केका उनले जनशक्ति पार्टी गठन गरे । त्यसपछि जसपाबाट छुट्टिएर लोसपा,सीके राउत,रेशम चौधरीलाई मिलाउने योजना बनाए पनि त्यो सफल भएको देखिएन ।