बालाजु घटना: डिएसपी रविन विष्टको तीन वर्ष बढुवा रोक्का

-


     सुचनाको हक     
     चैत्र ३ गते २०७९ मा प्रकाशित


बालाजुमा प्रहरीको गाडीमाथि आगजनी र तोडफोडको घटनामा प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्टमाथि कारबाही गरिएको छ।

कारबाहीस्वरूप उनको तीन वर्ष बढुवा रोक्का गरिएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो।

काठमाडौंको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको थियो।

बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको थियो।

विष्टको तीन वर्ष बढुवा रोक्का र प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई भने सचेत गराइएको स्रोत बताउँछ।

‘डिएसपीको कमजोरीका कारण घटना हुन पुगेकाले एक जनाको तीन वर्ष बढुवा रोक्का र अर्कालाई सचेत गराइएको हो’, स्रोतले भन्यो।

फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी जलाइएको थियो।

यस्तै, अस्थायी प्रहरी बिट जलाइएको थियो भने ट्राफिक आइल्यान्डमा पनि तोडफोड गरिएको थियो। 

त्यही आन्दोलनको बेलामा ल्होत्से मलमा पनि तोडफोड भएको थियो। एसिडिसी र डाइमण्ड मोबाइल पसलमा पनि लुटपाट भएको थियो।