जमलमा निर्माण हुँदै गरेको राष्ट्रिय पुस्तकालय भवनको विवादित ठेक्का प्रक्रिया टुंगो लगाउने अन्तिम तयारीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय लागेको खबर छ । राष्ट्रिय पुस्तकालय भवनको बोलपत्र सूचना निकालेदेखि नै प्रतिष्ठा निर्माण सेवालाई ठेक्का दिनेगरी सेटिङ गरिएको बिषयमा समाचार सार्वजनिक भएपछि शिक्षा मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले आफूलाई भएको अधिकार सहसचिव युवराज सुवेदीलाई प्रत्यायोजन गरेको खबर छ ।
पुस्तकालय भवनको निर्माणका लागि ७५ करोडको लागत अनुमान गरिएकोमा प्रतिस्पर्धा गराउँदा ५० देखि ५५ करोड रुपैयाँमा बोलपत्र प्रस्ताव पर्न सक्ने अवस्था विद्यमान थियो तर प्रतिस्पर्धा विना नै प्रतिष्ठा निर्माण सेवालाई दिनका लागि शिक्षा मन्त्रालयका लेखानियन्न्त्रक ईश्वर काफ्लेले सार्वजनिक खरिद ऐन विपरीत सर्तैसर्त राख्न लगाएको दावी स्रोतको छ । काफ्लेले प्रतिष्ठा निर्माण सेवाको सेटिङमा १० बर्षभित्र कम्तीमा प्रतिबेसमेन्ट १३८५ स्क्वायर मिटर भएको डबल बेसमेन्ट तयार गरेको, ५ सय मिटर क्षमताको सभाहल निर्माण कार्य गरेको, अन्तर्राष्ट्रिय अभ्यासको पुस्तकालय भवन निर्माण गरेको, मन्दिर तथा पुरातत्व निर्माण तथा पुननिर्माण जस्ता सर्तैसर्त राखिएको छ ।
अरु कम्पनीले प्रस्ताव नै हाल्न नसक्ने गरी सेटिङ गरेको कुरा प्राविधिक प्रस्ताव ठेकेदार कम्पनी प्रतिष्ठाको मात्र पर्नुले पुष्टि गरेको छ । सामान्यतया प्राविधिक प्रस्ताव एउटाको मात्र परेमा पुनः टेण्डर आह्वान गर्ने गरिन्छ । तर, शिक्षा मन्त्रालयका शक्तिशाली लेखा नियन्त्रक ईश्वर काफ्लेले एउटामात्रै प्रस्ताव परे पनि ठेक्का दिन ऐनले नरोकेको बताउँछन् । प्रतिष्ठासँग सेटिङ गरिसकेकाले काफ्लेले एउटामात्रै प्रस्ताव परे पनि प्रतिष्ठालाई दिने आसय प्रकट गरेका छन् ।
शिक्षा मन्त्री देवेन्द्र पौडेलदेखि सचिव कोइराला र सहसचिवलाई समेत नगन्ने लेखा अधिकृत काफ्लेले पुस्तकालय भवनको ठेक्का विवादमा परेको, मिडियाबाजी भएकोबारेमा कुरा उठ्दा पत्रिकाले लेखेर केही हुँदैन भन्दै प्रतिष्ठाको मात्र प्राविधिक प्रस्ताव परे पनि ठेक्का दिनुपर्ने पक्षमा कन्भिन्स गराउन तल्लीन रहेको स्रोत बताउछ । प्रतिष्ठा निर्माण सेवाले सेजको भवन निर्माण गर्दा पिलर नै भाँचिएको बिषय र हेभी इक्वीपमेन्टका नाममा मिक्चरसमेत नभएको प्रतिष्ठा बदनाम कम्पनी भएकोबारेमा लेखानियन्त्रक काफ्लेले भन्छन्–‘सबै ठेकेदार कम्पनी उस्तै हुन् ।’ यो भनाइले पनि काफ्ले र प्रतिष्ठासँग सेटिङ भएको आशंका गरिएको छ ।
प्रतिस्पर्धालाई सीमित गरी २५ करोड भन्दा बढी नोक्सान पार्ने काम गरिएकोबारेमा पुस्तकालय भवनको निर्माणको बोलपत्रको बिषयमा अधिकार पाएका शिक्षा मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख युवराज सुवेदीले भने–‘यो ठेक्काको बारेमा सबै जानकारी लेखा अधिकृत काफ्लेलाई छ । उहाँसँगै सोध्नुहोला ।’ तपाईलाई सचिव कोइरालाले अधिकार प्रत्यायोजन गरेको कुरा आएको छ, ठेक्कामा सेटिङ भएको कुरा आएको छ, सार्वजनिक खरिद ऐन नियम बिपरीत प्रतिष्ठा कम्पनीसँग मिल्ने सर्त राखि उसलाई दिन खोजिएकोबारेमा सहसचिव सुवेदीले भने–‘त्यस्तो भएको छैन, त्यस्तो देखिए हेरौंला ।’
राष्ट्रिय पुस्तकालय भवनको टेण्डर सूचना निकालेपछि नै बालुवाटारका बीचौलिया रामचन्द्र भट्ट ‘चन्दने’मार्फत् बालुवाटारमा पहुँच पु¥याई प्रतिष्ठा निर्माण सेवाका ध्रुव रिजालले आफ्नो कम्पनीसँग मात्र मिल्ने सर्त र योग्यता राख्न लगाएको शिक्षा मन्त्रालय स्रोत बताउछ । ७५ करोड फूल लागतमा प्रतिस्पर्धा गराउनै नदिनेगरी सेटिङ गर्ने कार्य भने शिक्षा मन्त्रालयका लेखानियन्त्रक काफ्लेले गरेको आरोप लागेको छ । काफ्ले माओवादी निकट कर्मचारीका नेता भएकैले सँधैं आकर्षक ठाउँमा बस्दैआएका छन् । यसअघि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्त्छाउने कार्य गर्ने आयोजना कार्यान्वयन इकाई(पीआइडी) को लेखा अधिकृत हुँदा उनले अरबौं बजेटमा मस्ती गरेको महालेखा नियन्त्रक कार्यालयमा चर्चँ हुने गरेको छ ।
पीआइडीको अनियमित र आशंकित कामका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएपछि उनी पीआइडीको अवधि सकिने बेलामा सतर्कता केन्द्रमा सरुवा भई जोगिन स्रात बताउछ । सतर्कताबाट शिक्षा मन्त्रालयमा सरुवा भएका उनी पुस्तकालयको ठेक्काको सेटिङ गर्ने ग्रान्ड डिजाइनर हुन् भन्ने तथ्य त सहसचिव सु्वेदीले नै उनलाई सोध्नु भनेरबाट पुष्टि हुन गएको छ । पुस्तकालय भवनको टेण्डर सूचना २०७८ माघ १० गते प्रकाशित भएको थियो । तर, विवादमा परेपछि हालसम्म निर्णय हुन सकेको छैन ।