जिल्ला रामेछाप, कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर, दोरम्बा-३ का प्रधानाध्यापकसमेतले विद्यालय भवन निर्माण गर्दा बिद्यालय कोषको रकम आफूखुशी झिकी भवन निर्माणमा खर्च देखाई व्यक्तिगत लाभ लिई निर्माण समाग्रीहरु लुकाई विक्री वितरण गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेल समेतले बिद्यालय कोषको रकम खर्च गर्दा कानुनको परिपालना नगरी अनावश्यक रुपमा खर्च भएको भनी बिद्यालय कोषको रकम निकाली अस्वभाविक आधार प्रमाण देखाई रु.१२,८४,१२२।७३ हिनामिना गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा निजहरु तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेललाई बिगो रु.१२,८४,१२२।७३ (बाह्र लाख चौरासी हजार एक सय बाइस रुपैयाँ त्रिहत्तर पैसा) कायम गरी ऐ. ऐनको दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (च) बमोजिम कैद तथा जरिवानाको सजाय हुन मागदाबी लिएको छ ।
त्यसैगरी विद्यालय व्यबस्थापन समितिका अध्यक्ष विनोद थापामगरले खर्चको आवश्यकतालाई ध्यानमा नराखी विद्यालय कोषको रकम खर्च गर्ने कार्यमा सहमति जनाएको, विद्यालय कोषको नियमन गर्न नसकेको, आफ्नो ओहोदाको कर्तब्य पालना गर्दा निजहरु तत्कालीन प्रधानाध्यापक रामबाबु कडेल र सहायक प्रधानाध्यापक/लेखापाल रामलाल कडेलको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा 1७ बमोजिम सरकारी वा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गर्ने कार्यको मतियार भई ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिमको (कसुर गर्ने व्यक्ति सरह) कसुर गरेको पुष्टि भएको हुँदा निज विनोद थापामगरलाई बिगो रु.१२,८४,१२२।७३ (बाह्र लाख चौरासी हजार एक सय बाइस रुपैयाँ त्रिहत्तर पैसा) कायम गरी ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं र दफा १७ ले व्यवस्था गरेबमोजिम ऐ. ऐनको दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) देहाय (च) बमोजिम सजाय हुन मागदावी लिने एवं हानिनोक्सानी पुर्याइएको सार्वजनिक सम्पत्तिको बिगो रु.१२,८४,१२२।७३ निजहरु रामबाबु कडेल, रामलाल कडेल र विनोद थापामगरबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र ऐ. ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्याशं बमोजिम असुलउपर गरी पाउन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।