बेरोजगार लाइ ठग्नेहरु पक्राउ

-


     सुचनाको हक     
     फागुन २४ गते २०७८ मा प्रकाशित


बेरोजगारीलाई ‘रोजगारीमा लगाई दिन्छु भन्दै चोकचोकमा ‘रोजगारीको अवसर’ लेखिएको पर्चा बाँडेर जागिर दिने नाममा ठगी गर्र्दै आएको जव सेन्टरका ९ जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले त्यस्ता पर्चा बाँड्ने र फेसबुकबाट विज्ञापन गरेर ‘जागिर सपना’ बेच्ने ९ वटा जब सेन्टरमा छापा मारी सञ्चालकलाई पक्राउ गरेको जनाएको छ ।

जब सेन्टरको आवरणमा ठगी धन्दा चलाउँदै आएका ९ जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । प्रहरीले काठमाडौंको कोटेश्वर, बानेश्वर, बालाजु र चाबहिल लगायतका ठाउँमा रहेका ती जब सेन्टरहरूमा छापा मार्दा सोसाइटी वेल्फेयर फ्सिलिटिज म्यानेजमेन्ट सर्भिस प्रालि कोटेश्वरका सञ्चालक २६ वर्षीय अमर पाण्डे, सो जब सेन्टरको बानेश्वर शाखाका प्रबन्धक ३२ वर्षीय तिलकराम पाण्डे, बालाजुस्थित दूधपोखरी जब प्लेसमेन्ट ट्रेनिङ सेन्टरका सञ्चालक २२ वर्षका आनन्द मरहठ्ठा र एनएन मल्टी पर्पोज प्रालि कोटेश्वरका सञ्चालक विवेक यादव पक्राउ परेका छन् ।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ अँधेरी घर भएका २८ वर्षीय अश्विन राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । अश्विन कोटेश्वरको एबिएस जब एण्ड ट्रेनिङ सेन्टर र हलेसी सेक्युरिटी सर्भिसका सञ्चालक हुन् । कोटेश्वरस्थित सिन्धु रोजगारी सेवाका सञ्चालक २३ वर्षीय घनश्याम पहाडी पनि पक्राउ परेका छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ घर भएका पहाडी जडिबुटीमा बस्दै आएका थिए । पक्राउ पर्नेमा चावहिलस्थित प्राश्ना जब इन्टरनेशनल मल्टिप्रपोजका सञ्चालक २५ वर्षीया सिर्जना लामिछाने छिन् । रौतहटको चन्द्रनिगाहापुर घर भएकी लामिछाने जडिबुटी बस्छिन् । त्यस्तै, कोटेश्वरमा रहेको अनमोल जन मल्टिप्रपोजका सञ्चालक २२ वर्षीय रामवचनकुमार यादव र कोटेश्वरको क्विकमाण्डु मल्टिप्रपोजकी सञ्चालिका ४० वर्षीया ज्ञानु न्यौपानेलाई महाशाखाले नियन्त्रणमा लिएको छ ।

विराटनगर उप–महानगरपालिका–४ घर भएकी न्यौपाने कोटेश्वरमा बस्छिन् । जब सेन्टरका सञ्चालकहरूले सामाजिक सञ्जाल र चोकमा पर्चा वितरण गरेर विज्ञापन गर्थे । जागिर पाउने आशामा ‘जागिर केन्द्र’मा पुग्नेहरूलाई उनीहरुले फारम शुल्क बापत ३ देखी ५ सय असुल्ने गरेका थिए । केहिदिन तालिम गराउने र त्यसपछि जागिर शुल्क भनेर ४ हजार देखि ५ हजारसम्म असुलेर हैरानी दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार उनीहरूले सामाजिक सञ्जाल, पत्रपत्रिका र पम्प्लेटमा ‘घरमै बसेर जागिर मिल्छ’ भनी प्रचारप्रसार गर्ने गर्थे। जागिरका लागि उनीहरूले फारम भर्ने बहानामा तीन सयदेखि पाँच सय रुपैयाँसम्म, कामको ग्यारेन्टी भन्दै एकदेखि ६ हजारसम्म रकम लिने गरेका थिए।

सर्वसाधारणबाट त्यसरी पैसा लिएपछि उनीहरू कोही भाग्ने, कसैलाई काममा लगाउने र लगाइहाले पनि तोकिएको तलब-सुविधा नदिई केही समयमै जागिर छोड्न बाध्य बनाउने गरेको पाइएको कुँवर बताउँछन्। ‘कुनै एक जब सेन्टरमा फारम भर्दा दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भइसकेको छ भनी एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको पाइएको छ,’ कुँवर भन्छन्। पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ।