प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले साविकको सेन्चुरी कमर्सियल बैंकका ११ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
कमसल धितोमा कर्जा प्रवाह गरेर नागरिकको रकम हिनामिना गरेको आरोपमा सीआईबीले मंगलबार हाल प्रभु बैंकका वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत (सेन्चुरी कमर्सियल बैंकका तत्कालीन कार्यकारी अधिकृत (सिइओ)) मनोज न्यौपानेसहित ११ जनालाई पक्राउ गरेको हो । बैंकको सिइओ हुँदा कर्जा प्रवाहमा अनियमितता गरेको आशंका गरिएका उनीसहित अन्यलाई अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा न्यौपानेसहित सेन्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी , दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमण श्रेष्ठ, दीपेश प्रधान र सुनिल बस्नेत छन् ।
त्यस्तै यो प्रकरणमा मुछिएकी कर्मचारी सन्ध्या श्रेष्ठलाई प्रहरीले निगरानीमा राखेको छ । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी लिए पनि उपचारका क्रममा रहेकाले पक्राउ नगरी निगरानीमा राखेको हो । तीमध्ये ४ जना बहालवाला र बाँकी ७ जना भर्खर अवकाशप्राप्त कर्मचारी हुन् ।
सीआईबीका प्रवक्ता एवं सूचना अधिकारी होविन्द्र बोगटीले धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गर्ने कार्यमा संलग्न ११ जनालाई थप अनुसन्धानका लागि पक्राउ गरिएको बताए ।
उनका अनुसार ललितपुर सातदोबाटोस्थित देउराली बहुउद्देश्यीय सहकारी संस्थासँग आबद्ध सञ्चालक समितिका पदाधिकारी तथा उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र ती कम्पनीलाई तत्कालीन सेञ्चुरी बैंकबाट प्रवाह गरेको ऋणको धितोका विषयमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त सहकारीका सञ्चालक रवीन्द्र चौलागाईंलाई प्रहरीले यसअघि नै पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेको छ । सहकारीमा सर्वसाधारणको ३ अर्ब रुपैयाँ बचत फिर्ता नगरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।
चौलागाईंसँग बयानका क्रममा तत्कालीन सेन्चुरी कमर्सियल बैंकबाट कर्जा लिने चौलागाईं र उनीसमेत आबद्ध कम्पनीहरू पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरीलाई समेत कर्जा प्रवाह गर्दा बैंकमा कर्जा सुरक्षणबापत राखिने धितोको मूल्यांकन एक अर्ब १४ करोड २३ लाख ८४ हजार २ सय ५८ रुपैयाँ रहेको र त्यसबापत दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७ सय ३१ रुपैयाँ कर्जा प्रवाह भएको छ ।
उनीहरुले कमिसन लिई देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई र उनका विभिन्न कम्पनीहरुलाई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई दुई अर्ब हानी नोक्सानी पुर्याएको आरोप छ ।
मनोज नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालका भान्जा हुन् । सेन्चुरी बैंक हाल प्रभु बैंकमा गाभिएको छ ।