भन्सार विभाग, काठमाडौँका तत्कालीन नायव सुव्वा (हाल अवकाश प्राप्त) रघुनाथ घिमिरेले एयरपोर्ट भन्सार, विभिन्न भन्सार कार्यालय र राजश्व अनुसन्धान विभागमा बसेर राजश्व हिनामिना गरी राजश्व छल्ने कार्य गरेको, गैरकानूनी काम गरी राजश्वका विभिन्न कार्यालयमा बसी करोडौं सम्पत्ति कमाएर श्रीमती लगायत परिवारका विभिन्न व्यक्तिहरुको नाममा लुकाएर राखेको, विभिन्न कम्पनीहरुमा लगानी, शेयर खरिद, जग्गा खरिद लगायतको कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा निज रघुनाथ घिमिरेले सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५२/०७/२८ देखि मिति २०७९/०९/१२ गतेसम्मको अनुसन्धान जाँच अवधिमा निजको वैधानिक आयमा निज रघुनाथ घिमिरेको पारिश्रमिक, निजको श्रीमती शारदा गौतमको पारिश्रमिक, निजको छोरीको पारिश्रमिक आय, कर्मचारी संचयकोष लगायत विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा, जग्गा बिक्री, घर बहाल (घर भाडा), कम्पनी लाभांश वापत प्राप्त वैधानिक आय, निजको श्रीमती शारदा गौतमले अभिकर्ता कमिसन वापत प्राप्त रकम, राजश्व अनुसन्धान विभागबाट प्राप्त गरेको पुरस्कार, शेयर बिक्री, नगद लाभांश आय (शेयर प्रतिफल) र अवकाश पश्चात प्राप्त आयसमेत गरी जम्मा रू. रु.५,२५,१६,३२७।४४ (पाँच करोड पच्चीस लाख सोह्र हजार तीन सय सत्ताईस रूपैया चवालीस पैसा) निजको वैधानिक आय स्रोत खुल्न आएको देखिन्छ भने सोही जाँच अवधिमा निजको सम्पूर्ण व्यय (खर्च तथा लगानी) मा जग्गा खरिद, घर निर्माण, रजिष्ट्रेशन दस्तुर र पुँजिगत लाभकरमा भएको खर्च, विभिन्न कम्पनीहरुको शेयर खरिदमा भएको खर्च, कर्जा/ऋणको साँवा व्याज तिरेको रकम, जीवन बीमा प्रिमियम तिरेको खर्च रकम, अध्ययन खर्च, कम्पनी लगानीमा भएको खर्च, विद्युतीय उपकरण खरिदमा भएको खर्च, बैंक मौज्दात रकम, विदेश भ्रमण खर्च, सुन तथा चाँदी खरिदमा भएको खर्चसमेत गरी जम्मा रु.७,३९,६२,९८४।६७ (सात करोड उनान्चालीस लाख बैसठ्ठी हजार नौ सय चौरासी रुपैया सडसठ्ठी पैसा) खर्च तथा लगानी गरेको देखिंदा निजको कुल वैधानिक आयलाई निजले गरेको कुल व्ययसँग तुलना गर्दा आयभन्दा रु.२,१४,४६,६५७।२४ (दुई करोड चौध लाख छयालीस हजार छ सय सन्ताउन्न रुपैयाँ चौबीस पैसा) को वैधानिक स्रोत पुष्टि हुन नसकेकोले प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको हुँदा निज रघुनाथ घिमिरेले सार्वजनिक पदको दुरुपयोग गरी रु.२,१४,४६,६५७।२४ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेकोले साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूरमा रु.२,१४,४६,६५७।२४ (दुई करोड चौध लाख छयालीस हजार छ सय सन्ताउन्न रुपैयाँ चौबीस पैसा) विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएवमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय हुन तथा निज रघुनाथ घिमिरेले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति रु.२,१४,४६,६५७।२४ निज तथा निजको श्रीमती शारदा गौतमको नाममा हाल कायम रहेको स्रोत नखुलेको, आंशिक स्रोत नखुलेको र अपुग विगोको हकमा स्रोत खुलेको सम्पत्तिबाट साविक भ्रष्टाचार निवारण ऐन¸ २०१७ को दफा ३, दफा १६ (ग), दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख. बमोजिम जफत/असुल उपर गरी पाउन मागदावी लिइएको छ ।
यसैगरी निज रघुनाथ घिमिरेले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति निजले श्रीमती शारदा गौतमको नाममा खरिद गरिएका जग्गा, घर निर्माण, कम्पनी लगानी, शेयर खरिद र बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्च वरावरको भागको स्रोत नखुलेको सम्पत्ति बिगो र त्यसबाट बढेबढाएको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ ग, दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम शारदा गौतमलाई प्रतिवादी कायम गरी स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई निजको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गरी पाउन मागदावी लिई बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।