`सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपप्रमुख मीराकुमारी यादव पक्राउ परेकी छन् । उनीमाथि फर्जी कागजातको आधारमा नेपाली नागरिकता बनाएको आरोप लागेको छ ।
उनी र उनका श्रीमानविरुद्ध किर्ते कागजातको आधारमा नेपाली नागरिकता लिएको उजुरी परेपछि पक्राउ परेकी हुन् । प्रहरी र जिल्ला प्रशासनले उनीविरुद्धको उजुरी नलिएपछि अभियन्ताले उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गरेका थिए । जेठ ५ गते जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयको नाममा परमादेशपछि उनी अप्ठेरोमा परेकी थिइन् ।
उच्च अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । त्यसपछि प्रहरी कार्यालय पुगेकी उपमेयरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । श्रीमान महेन्द्र भने फरार छन् ।
यादव दम्पती भारतीय राज्य बिहार,सुपौल जिल्लाको नागरिक भएको उजुरीमा उल्लेख छ । उनीहरुले तत्कालीन औरही गाउँ विकास समिति ३ बाट फर्जी कागजातका आधारमा नागरिकता लिएको आरोप लगाइएको छ ।
उपमेयर पक्राउ परेपछि स्थानीय नेता तथा कार्यकर्ता प्रहरी कार्यालय पुगेका थिए ।