नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै दाहालले मुलुकको निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन गरेर जानुपर्ने बताउनुभएको हो ।
निर्वाचन प्रणाली र शासन प्रणालीमा सुधार गरेर अहिले व्याप्त विसंगति, विकृति, कुशासन र भ्रष्टाचार नियन्त्रण गरी देशलाई एकताबद्ध गरेर समृद्धिमा जान सकिने आफूलाई विश्वास रहेको जिकिर गर्दै दाहालले भन्नुभयो– ‘संरचनागत सुधार गरेर आर्थिक सुधारमा जानुपर्छ अनि मात्रै भ्रष्टाचार अन्त्य हुन्छ । ‘भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही नगर्ने व्यक्तिहरूसमेत मुलुक सञ्चालनमा रहेका छन् ।
उहाँले भन्नुभयो– ‘कैयौं प्रधानमन्त्रीले भन्ने गरेको तपाईं हामीले सुनेकै छौं ‘म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न’ भन्ने साइनबोर्ड टाँग्ने, त्यो साइनबोर्डभित्र भ्रष्टाचारबाहेक गर्दै नगर्ने, के कारणले यो भइराखेको छ ? यो व्यक्तिको मात्रै दोष हो कि, यो प्रणालीमा कहीं खोट छ ? आज हामी सबैले विचार गर्नुपर्ने विषय हो ।’
फरक प्रसंगमा दाहालले माओवादीले लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्था ल्याएकाले त्यसको जस आफूले पाउनुपर्ने दाबी गर्नुभयो । गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्थाको अधिकार सबैले पाउनुप¥यो भन्दा मन नपराउने मान्छे रहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो– ‘राजनीतिक अस्थिरताको जड नै प्रचण्ड हो भने जस्तो गरी बजार हल्ला गरिएको छ । प्रचण्ड भनेपछि सबै अस्थिरताको कारक यही हो, यो रहँदासम्म देशले सुख पाउँदैन भन्ने मान्छे पनि छन् । तर माओवादी र माओवादी नेतृत्व रहँदासम्म बुर्जुवा, दलाल र भ्रष्टहरूलाई चैनमा बस्न दिइने छैन ।’कार्यक्रममा प्रचण्डले आगामी निर्वाचनमा जनताले सत्ताको चाबी माओवादीलाई दिने ठोकुवा पनि गर्नुभयो ।