भ्रष्टाचाररहित समाजको परिकल्पना

-


     रामबहादुर तामाङ    
     श्रावण ४ गते २०७९ मा प्रकाशित


भ्रष्टाचार नैतिक, अनुशासित र सभ्य समाजका लागि कलङ्कको टीका हो । पूर्वीय दर्शनमा हामीले कल्पना गर्ने गरेको रामराज्यको दुश्मन हो । सार्वजनिक हित र भलाइका लागि लगानी गरिने सार्वजनिक स्रोतसाधन र सम्पत्तिमाथि गिद्धे नजर लगाउने, -याल काढ्ने र आँखा गाड्ने भ्रष्ट व्यक्ति र समूहको कालो मनबाट सिर्जित रातो अपराध हो– भ्रष्टाचार । 

भ्रष्टाचार नेपाली समाजमा यस्तो उद्योगका रूपमा मौलाउँदै गएको छ, जसमा न त लगानी जुटाउनुपर्छ न त प्रतिस्पर्धा नै गर्नुपर्छ । व्यावसायिक जोखिम मोल्नु नपर्ने, उद्यमशीलता नचाहिने, व्यावसायिक योजना बनाउनु नपर्ने, बिनाउत्पादन र मार्केटिङ भ्रष्टाचार मौलाउँदो उद्योग बनेको छ । भ्रष्टाचार पैसा कमाउने अचुक अस्त्र बनेको छ नेपालमा । बिनाकुनै उद्योग, बिनाकुनै गतिलो व्यापार व्यवसाय अनि बिनाकुनै अन्तर्राष्ट्रिय संस्थाको आकर्षक जागिर ती भाग्यमानी महाशयको दिन दुईगुणा रात चौगुणा यसरी आर्थिक अवस्थामा एकाएक भएको छलाङको कुरो के छ त ? कुरा स्पष्टै छ; भ्रष्टाचार, भ्रष्टाचार अनि फेरि पनि भ्रष्टाचार । 

अस्तव्यस्त सहरीकरणसँगै मानिसका आवश्यकतामा भएको बढोत्तरीका कारण वैधानिक आयले मानिसलाई सन्तुष्ट राख्न सकेन । इमानजमान र सामाजिक मानमर्यादा भुल्नेका लागि जसरी पनि पैसा कमाउने मिसन पूरा गरिदिएको छ– भ्रष्टाचाररूपी उद्योगले । कालो धन्दामा अभ्यस्त उद्योगी व्यापारी, सेटिङमा पोख्त राजनीतिकर्मी र कर्मचारीका लागि भ्रष्टाचार अकुत कमाउने माध्यम बनेको छ । 

यसको एउटै रिस्क फ्याक्टर भनेको इज्जतको मात्र डर हो । पैसाका लागि इमान बिक्री गर्नेलाई त्यो पनि ठूलो कुरा भएन । सेवाग्राहीलाई दुःख दिन नहिच्किचाउने, कालोबजारी गर्न नडराउने, सामाजिक उत्तरदायित्व बोध नगर्नेहरू काले काले मिलेपछि भाले खान केले छेक्ने केले रोक्ने? कथंकदाचित अदालतमा भ्रष्टाचारको मुद्दा लागे पनि बिगोको बढीमा चौथाइजति माहिरवाला वकिललाई चढाउन सके मुद्दा जितिन्छ भन्ने आँटले पनि भ्रष्टाचार गर्नबाट नडराउने, नधकाउनेहरू देखिन थालेका छन् ‍हाम्रो समाजमा । 

आज भ्रष्टाचारले नछोएको र नगाँजेको कुनै क्षेत्र छैन । नेपालको परिपे्रक्षमा हेर्दा अन्यत्रभन्दा केही लाजमर्दो क्षेत्रमा पनि भ्रष्टाचार घुसेको देखिन्छ । शैक्षिक योग्यता, उमेर र विवरण ढाँटेर सार्वजनिक ओहोदामा बहाल हुने, विश्वविद्यालयजस्तो पवित्र थलोमा पैसाको लेनदेन गरी मेरिटमा आउनेको प्राप्ताङ्‍क घटाउने र मेरिटमा ल्याउन प्राप्ताङ्‍क थपेर विश्वविद्यालयको सेवामा बहाली गराउने तथा नियमित एकेडेमिक परीक्षामा पैसा लिएर गोल्डमेडल दिनेजस्तो घृणित कार्य सायदै अन्यत्र राष्ट्रमा होला । 

आज संसारको सबैभन्दा वैभवशाली मुलुक अमेरिकाको हार्वर्ड विश्वविद्यालयले अमेरिकालाई त्यो वैभव प्रदान गर्न गरेको योगदानको सानोतिनो सिको मात्र गर्न खोजेको भए सायद हाम्रा विश्वविद्यालयमा यस्तो दुष्कर्म पक्कै हुने थिएन होला । सिक्ने–सिकाउने पवित्र सरस्वतीको मन्दिरमा यस्तो घिनलाग्दो खेल खेल्न कसरी सक्छ ‍? यसैगरी भ्रष्टाचारले आज हरेक क्षेत्रको अस्तित्वमाथि धावा बोलेको छ । अब पनि भ्रष्टाचारलाई माया गरिरहने, सुम्सुम्याइरहने हो भने यसले त्यो व्यक्ति र समूहलाई त सखाप पार्छ नै, सँगै निर्दोष भावी पुस्ताको भाग्य र भविष्यलाई पनि स्वाहा पार्छ । सबै क्षेत्रको माउ क्षेत्र राजनीतिले भ्रष्टाचार सबैको दुश्मन हो भन्ने कुरा बुझ्नु जरुरी छ ।

भ्रष्टाचारले राजनीतिक र नागरिक अधिकारलाई साँघुरो बनाउँदै प्रजातन्त्र र विधिको शासनमाथि प्रहार गर्छ । सङ्गठित अपराध र आतङ्कवादलाई प्रश्रय दिन्छ । निर्वाचन प्रणाली खर्चिलो र भड्किलो हुन्छ । सुधारका एजेन्डाहरू बरालिने सामाजिक, सांस्कृतिक, धार्मिक, वर्गीय, भौगोलिक, जातीय, भाषिकजस्ता अनेकन नाममा समाजमा तनाव सिर्जना हुन्छ ।

मत खरिद–बिक्री हुने मात्र हैन, कुनै महìवपूर्ण राष्ट्रिय निर्णय गर्नुपर्दा सांसद खरिद–बिक्रीका सम्भावना हुने, दलीय अनुशासन कायम नरहने स्वार्थ समूहको इशारामा निर्णय गर्नुपर्ने अवस्था आउन सक्छ । यसो हुने भएकाले भ्रष्टाचार राजनीतिको दुश्मन हो । जुन राष्ट्रको स्वाभिमान, सार्वभौमसत्ता र अखण्डतासँग प्रत्यक्ष जोडिन्छ । 

भ्रष्टाचारले सामाजिक अनुशासनको आधारभूमि कमजोर तुल्याउँछ भने व्यक्तिको नैतिक मूल्य र मान्यतामाथि निर्मम प्रहार गर्छ । समाजको गरिबीको रेखामुनि बाँच्न विवश वर्गलाई आघात पु¥याउँछ । यसले समाजमा असमानता र अन्यायको खाडल बढाउँछ । भ्रष्टाचार गर्नेको सामाजिक प्रतिष्ठा उँचो हुँदै जाने र भ्रष्टाचारप्रति सामाजिक सहिष्णुता बढाउने काम गर्छ । यसले धार्मिक, सांस्कृतिक एवं विविधताबीच सहिष्णुता कायम राख्नुको सट्टा बढावा गर्दै लैजान्छ । 

भ्रष्टाचारले अर्थतन्त्रको उद्यमशीलता मार्छ । बजारमा एकाधिकार, सिन्डिकेट, कार्टेलिङ, वस्तु सेवाको मूल्यमा अस्थिरता, कृत्रिम अभाव, कालोबजारी र मूल्यवृद्धिको मार आम उपभोक्ताको थाप्लोमाथि थोपर्छ । उद्योग व्यापारको लागत बढाउने हुँदा लगानीको वातावरण दूषित भई विदेशी तथा स्वदेशी लगानी निरुत्साहित गर्छ । व्यक्तिको क्रयशक्तिमा ह्रास आउने हुँदा गुणस्तरयुक्त जीविकोपार्जनमा कठिन हुन्छ ।

लगानीमा कमी भए स्वतः उत्पादनमा कमी हुन गई रोजगारीमा गिरावट आउँछ । रोजगारीको कमीले बचत घट्न गई लगानी हुन नसक्ने गरी दुष्चक्र चलिरहने अवस्था सिर्जना हुन जान्छ । यसकारण गरिबी निवारण र आर्थिक समृद्धिको बाधकका रूपमा भ्रष्टाचारलाई चित्रित गरिएको हो ।

भ्रष्टाचारले राज्यका निकायको प्रभावकारिता र कार्यक्षमता घटाउनुका साथै जनविश्वास गुमाउँछ । राज्यको नीति, कार्यक्रम र योजना कार्यक्रम कार्यान्वयन गर्न राज्यका मेसिनरी असफल हुन्छन् । जसका कारण समयमा पूर्वाधार निर्माणका कार्य सम्पन्न हुँदैनन् । पुँजीगत खर्च गर्न नसक्नुको हालको अवस्था यही हो । न्यायिक निकायले मुद्दाको निरुपण गर्न धेरै समय लाग्ने, महँगो हुने, न्याय अनुभूत हुन मुस्किल पर्ने हुन्छ ।

नाफा र सुदखोरका कारण जैविक र भौगोलिक स्रोतसाधनमाथि दबाब पर्नाले जैविक विविधतामा ह्रास आउँछ । जसको फलस्वरूप जल, जमिन, जङ्‍गल, जडीबुटीलगायतको प्राकृतिक स्रोतको दोहन हुन गई प्रदूषणको मात्रा बढ्ने हुन्छ । मानिसको खानपिनदेखि समग्र वातावरणमा असर पर्नाले विभिन्न रोगव्याधीले सताउने, सङ्क्रमण महामारी फैलिने, औषधि उपचारमा खर्च बढ्ने, शारीरिक तन्दुरुस्तीमा कमी आउनाले उत्पादनमूलक कार्यमा संलग्न हुन नसक्ने अवस्था सिर्जना हुन्छ ।

भ्रष्टाचारले मानिसको सिर्जनशीलता र उद्यमशीलतालाई मार्छ । ठगेर, ढाँटेर र झुक्याएर खाने बानी बस्दै जान्छ । इमानमा रतिभर विश्वास हुँदैन । नयाँनयाँ ज्ञान सीप आर्जन गर्ने, नयाँ कुरा आविष्कार गर्ने अध्ययन अनुसन्धानमा ध्यान जाँदैन । भ्रष्टाचारका कारण व्यक्तिमा उद्योग व्यापार सञ्चालन गर्ने, जोखिम मोल्ने सोच पलाउँदैन । भ्रष्टाचारका कारण व्यक्तिको मानव अधिकार सङ्कुचित बन्न पुग्छ । व्यक्तिको मौलिक अधिकार र स्वतन्त्रता उपभोग गर्नबाट वञ्चित हुन गई मानवतामाथि नै गम्भीर आघात पुग्न जान्छ ।

मानवीय मूल्य र स्वाभिमानमाथि धक्का पुग्न जाने हुँदा भ्रष्टाचारलाई मानवताविरुद्धको अपराध पनि भन्ने गरिन्छ । भ्रष्टाचारकै कारण पृथ्वीमा पशुभन्दा पनि तल्लो श्रेणीमा मानिसको स्थान खस्कन पुगेको छ । पशुले भ्रष्टाचार गर्दैन र आफू अघाएपछि भोलिलाई साँचेर राख्दैन तर हामी ?

हालै सम्पन्न स्थानीय तहको निर्वाचन समग्रमा शालीन तरिका नै सम्पन्न भयो । तथापि जय, पराजय, जित, हार स्वाभाविक प्रक्रिया हो । कुनै दलले कतै जिते कतै हारे । यही सेरोफेरोमा राजनीतिक चासो राख्नेहरूबीच फलाना दलले फलाना दलको पकड क्षेत्र क्लिन स्विप ग-यो । फलाना पार्टीले आफ्नो पकड क्षेत्र गुमायो । फलाना दलले शानदार आफ्नो वर्चस्व जमायो ।

फलानो क्षेत्रमा दलविहीन उम्मेदवारले नसोचेको बाजी मा-यो । यस्तै यस्तो चुनावी भाष्यहरू अझै केही दिनसम्म हामीले सुनिरहनु पर्नेछ तर सबैले बुझ्नुपर्ने कुरा के छ भने आउने दिनका चुनावमा एक्सन ओरिएन्टेड उम्मेदवार बनाउन दलहरू चुके भने आफैँ क्लिन स्विप हुनुपर्ने लक्षणहरू देखा परेको छ । यसर्थ दलहरूले भ्रष्टाचारलाई माया गरुञ्जेल मतदाताले तिनलाई माया गर्ने छैनन् । भ्रष्टाचारको क्लिन स्विपसहितको समृद्धिको स्पष्ट खाका दिन नसक्नेको राजनीतिक भविष्य सङ्कटमा पर्ने निश्चित छ । 

यसरी बहुरङ्‍गी भ्रष्टाचारको बहुआयामिक असर र प्रभावबाट मुक्त गर्न राजनीतिक नेतृत्व नै अघि सर्नुपर्छ । किनकि राजनीति सबैको मुहान हो । खोला सङ्‍लो हुन मुहानै सङ्‍लो हुनुपर्छ । सरकारमा बस्नेहरू राजनीतिकर्मी नै हुने भएकाले आफ्ना शासन प्रशासनका अवयवहरूलाई उचित परिचालिन गर्ने, नियन्त्रण गर्ने र निगरानी राख्ने कर्तव्य र दायित्व पनि राजनीतिज्ञकै हो ।