महानगरका वडा अध्यक्ष, सदस्य र सचिब सहित ६ जनालाई प्रमाण सहित भ्रस्टाचार मुद्दा

-


     सुचनाको हक     
     चैत्र २ गते २०७८ मा प्रकाशित


पोखरा महानगर पालिकाका अधिकांस वडामा अनियमितता छ , कुनै वर्ष १३ करोड त कुनै बर्ष ६ करोड उठेको राजस्व रकम नै महानगर बाट गाएब भएको अबस्था छ l अधिकांस अभियन्ता हरुले र बिभिन्न संचार माध्यमले यो कुरा उठाउदा समेत हाल सम्म कुनै कारबाही हुन् सकेको छैन

तर जिल्ला पर्सा, वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी र सोही वडाका कार्यालय सहयोगी जितेन्द्र प्रसाद कुर्मी समेतको मिलेमतोमा वडा कार्यालयबाट प्रदान गरिने घरबाटो सिफारिस, चौहद्दी सिफारिस लगायतका अन्य सिफारिस वापतको राजस्व रकमको रसिद नकाटी, जथाभावी दर्ता चलानी राखी चलानी किताबमा कुनै पनि राजस्व रकम चलानी नराखी राजश्व रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अख्तियार द्वारा अनुसन्धान हुँदा वीरगञ्ज महानगरपालिका वडा नं. १४ का वडाध्यक्ष भरत प्रसाद कुर्मी, वडा सचिव राज कुमार सिंह, तत्कालीन वडा सचिव अनामिका रौनियार, वडा सदस्यद्वय रफिक अंसारी, संजय कुमार पटेल र कार्यालय सहयोगी जितेन्द्र कुमार कुर्मीले चौहद्दी प्रमाणित, घरबाटो सिफारिस, विवाह दर्ता, मृत्यू दर्ता लगायतका सिफारिसमा एकभन्दा बढी चलानी गरी, चलानी नगरी, लिनुपर्ने राजस्व रकम नलिई, लिनुपर्ने भन्दा घटी/बढी राजस्व रकम लिई तथा आम्दानी रसिद नकाटी आर्थिक अनियमितता गरी दाखिला गर्नुपर्ने राजस्व रकमसमेत दाखिला नगरेको पाइएको हुँदा निजहरु भरत प्रसाद कुर्मी, रफिक अंसारी, संजय कुमार पटेल र जितेन्द्र कुमार कुर्मीको हकमा कार्यरत रहेको अवधिमा रु.१,०२,५८५।–हिनामिना गरी राजस्व चुहावट गरेकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐ.ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो रु.१,०२,५८५।–(एक लाख दुई हजार पाँच सय पचासी रुपैयाँ) कायम गरी ऐ.ऐ. दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदाबी अख्तियारले लिएको छ । 

साथै प्रतिवादी वडा सचिव अनामिका रौनियारको हकमा निज मिति २०७६।०८।१९ गतेदेखि मिति २०७८।०३।३१ गतेसम्म कार्यरत रहेको अवधिमा रु.१,३१,०९०।- हिनामिना गरी राजस्व चुहावट गरेको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो रु.१,३१,०९०।- (एक लाख एकतीस हजार नव्वे रुपैयाँ) कायम गरी ऐ.ऐ. दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (घ) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुन एवं प्रतिवादी वडा सचिव राज कुमार सिंहको हकमा निज मिति २०७७।१२।०५ गतेदेखि हालसम्म कार्यरत रहेको अवधिमा रु. ३२,२३५।- हिनामिना गरी राजस्व चुहावट गरेको पुष्टि भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ७ को खण्ड (क),(ख) र (ग) तथा सोही दफाले निर्देश गरेबमोजिम ऐ. ऐनको दफा ३ बमोजिमको कसुरमा बिगो रु.३२,२३५।- (बत्तीस हजार दुई सय पैतीस रुपैयाँ) कायम गरी ऐ.ऐ. दफा ७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ख) अनुसार कैद सजाय गरी सोही ऐनको दफा ७ बमोजिम बिगो रकमको दोब्बर जरिवाना हुनसमेत मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ।