माघ ३ गते
जिल्ला सप्तरी, शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साहले निर्माण कार्यको भुक्तानी वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको, कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर रामचन्द्र साहलाई सेवाग्राहीबाट रु.१,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट मिति २०७९।१०।०३ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।
माघ ४ गते
जिल्ला नवलपरासी, (बर्दघाट-सुस्ता पश्चिम) सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प, सेमरीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानले महेशपुर सीमा नाकाबाट सामानहरु खरिद गरी ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई सेवाग्राहीबाट रु. ७,०००।– (सात हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७९।०८।०९ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल नेपाल, सुरक्षा वेश क्याम्प, सेमरी नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) मा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानले सिमा नाकाबाट ब्यापारिक प्रयोजनका लागि सामान ल्याउँदा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु.७,०००।-घुस/रिसवत माग गरी लिएको पुष्टी हुन आएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुर भएको हुँदा निज सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई उल्लेखित कसुरमा विगो रु.७,०००।- (सात हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जरिवाना एवं सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद सजाय हुन मागदावी लिई बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
माघ ५ गते
रुपन्देही जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३४८३ को ११ धुर क्षेत्रफल खरिद गरेकोमा जग्गाधनीको कुनै अनुमति र जानकारी बिना नापी कार्यालयका कर्मचारीहरुले पछाडिको मोहडा पट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय, रुपन्देहीका तत्कालीन नापी अधिकृत घनश्याम दुवे र सर्भेक्षक ठाकुर प्रसाद गुरौले रुपन्देही जिल्ला, साबिक सेमलार गा.वि.स. वडा नं. २(ग), कि.नं. ३५९४ कित्ताकाट गरी कि.नं. ४१९१ र ४१९२ कायम गर्दा कि.नं. ४१९१ लाई कि.नं. ३४३४ र कि.नं. ३५८८ को बीचमा घुसाई कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनाधिकार वा गैरकानूनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिवानाको मागदावी लिइएको छ ।
साथै, जिल्ला रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरुले फाइदा लिने उद्देश्यले कि.नं. ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको देखिंदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसूरको मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसूर गरेकोले निजहरु शक्ति प्रसाद सापकोटा र पुष्पा सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशमा उल्लेख भएबमोजिम मूख्य कसूरदारलाई हुने सजायसरह सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान ऐन, २०४८ को दफा १८ र दफा ३५ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।