मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस/रिसवत बापत रु १,३५,०००।- माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा निज खरिदार लक्ष्मण बस्नेतलाई सेवाग्राहीबाट रु १,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।११।१२ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतले जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग रु.१,३५,०००।– घुस/रिसवत रकम माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्बक बार्गेनिङ गरी घुस/रिसवतवापतको रकम लिएको पुष्टि हुन आएको हुँदा निज लक्ष्मण बस्नेतले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) मा उल्लेख भए अनुसारको कसुर गरेकोले निजलाई बिगो रु.१,३५,०००।– (एक लाख पैंतीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) मा उल्लेख भएबमोजिमको अधिकतम सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर भएको छ ।