चामलकै लागि भएपनि धान कुटिनुपर्छ
बोटकै लागि भएपनी बिउ फुटिनुपर्छ
म खुशी हुन तिमी संगै हुनुपर्छ नभन्नुस् न
मुस्कुराउन पनि त दुई ओठ छुटिनुपर्छ ।
आफ्नो मान्छेले त झन् सताउँदा मज्जा लाग्ने
मुटु नै चिरे पनी यादहरू आउँदा मज्जा लाग्ने
माया हो कि पागलपन हो सीमा नै नाघ्यो अब
उसले दिएको घाउ छ कोट्याउँदा मज्जा लाग्ने ।
सोझो मनलाई बाठो झुट काफि हुन सक्छ
अन्धो प्रेममा धेरै गल्ती माफी हुन सक्छ
धेरै सोच बिचार गर्नुस् कसैलाई मन दिनु अधि
अनजानमै कसैको स्वार्थ हाबी हुन सक्छ ।
उसलाई मात्र चुन्थेँ म कुरै बुझेन
धेरै खुसीमा रुन्थेँ म कुरै बुझेन
खुसी किन्ने लायक हुन्छु पर्खन भन्छ
साथमै खुशी हुन्थेँ म कुरै बुझेन ।