मोरङमा महिलामाथि बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

-


     सुचनाको हक     
     पौष १० गते २०८१ मा प्रकाशित


मोरङको कटहरी गाउँपालिका-२ मा एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरेको छ ।

मंगलबार मोरङको जहदा गाउँपालिका-३ की २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका-२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् ।

अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बयानका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा कटहरी गाउँपालिका-२ का १९ वर्षीय मोहम्मद रमजान सोही स्थानका १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टा बस्ने १९ वर्षीय मो गुल्जार छन् ।

मंगलबार दिउँसो पराल लिन गएकी महिलाले हातखुट्टा बाँधेको अवस्थामा ती महिलालाई भेटेपछि प्रहरीलाई खबर पुगेको थियो । स्थानीयको सहयोगमा प्रहरीले महिलाको उद्धार गरी कोशी अस्पताल भर्ना गरेको थियो । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।

प्रहरीका अनुसार घरबाट शौच गर्न निस्किएकी महिलालाई तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी-२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । घटनाको विषयमा प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको छ ।