गुप्त खबर र सूचना संकलन गर्ने राष्ट्रिय अनुसन्धान विभाग आफैँ थला परेको छ । सबै कर्मचारी बढुवाको दौडमा लागेपछि कार्य वातावरण लथालिङ्ग भएको हो । दुई महिनादेखि एउटा एआइजी पद खालि भएकाले विभागका ठूलाबडा सबै गच्छेअनुसारको भेटघाटमा हिँडेका हुन् ।
गत बैशाख १२ गतेदेखि विभागको एआइजी पद खाली छ । अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यादव रेग्मीले अवकाश पाएपछि रिक्त भएको उक्त पदमा कसैलाई पनि सिफारिस गरिएको छैन । जबकि विभाग प्रमुख यदुलाल खरेल आफैँ भदौ २८ गते अवकाश हुने लाइनमा छन् ।
त्यसअघि भदौ १२ मा रोल्पाली डिआइजी हुतराज थापाको टोली घर जाने रोडम्यापमा छ । हुतराज अघि कीर्तिपुरका कुलदेव थापा साउन ४ गते घर जाँदैछन् । उनलाई अवकाशको निम्ति एक महिनाअघिको पत्र दिइसकिएको छ । उनी पनि केही हुन्छ कि भनेर पोखराबाटै निकै कुदेका थिए । तर मुश्किलले २० दिन कार्यकाल बाँकी रहेका उनी असईबाट जागिरमा छिरेर डिआइजीसम्म बन्न सफल थोरै अफिसर मध्येमा पर्दछन् ।
भदौ १२ गते अवकास हुनेहरुलाई साउन १२ गते पत्र बुझाउन अहिलेदेखि नै पत्रको तयारी थालिएको स्रोतको दाबी छ । त्यो बेलामा हुतराजसँगै ओम जोशी, हरिहर पौडेल, सुनिल ढकाल घर जानेछन् । त्यसपछि टेकेन्द्र कार्की, सुमन वैद्य र प्रकाश पाण्डे बाँकी रहन्छन् । पाण्डे पनि मंसिरमा अवकास हुन्छन् ।
यसबीचमा एआइजी बनाउने प्रस्ताव क्याबिनेटमा लगिएको प्रचार सत्य नभएको गृह मन्त्रालय स्रोतले बताएको छ । छिटै एआइजी बन्न खोज्नेहरुले मनगढन्ते समाचार र हल्ला चलाएको गृह मन्त्रालय श्रोतको दाबी छ । हिजो गुप्तचर प्रमुखले बालुवाटार गएर प्रधानमन्त्रीलाई भेटेका थिए ।